
शाहीमान राई
भोजपुर, माघ २२ - जिल्लामै पहिलो पटक यहाँ एक जना महिलाले तिम्ल्याहा बच्चा जन्माएकी छन् । शुक्रबार राति भोजपुर जिल्ला अस्पतालमा तिम्ल्याहा बच्चा जन्मिएका हुन् ।
टक्सार गाविस–९ कि २० वर्षिया सृजना तामाङले एकैपटक तीन जना बच्चा जन्माएकी हुन् । तीन छोरालाई जन्म दिएकी सृजनाको स्वास्थ्य स्थिति सामान्य रहेको जिल्ला अस्पतालकी अनमी रेनु राईले बताइन् । तर, बच्चाहरुको तौल सामान्य भन्दा कम छ । सृजना र गोविन्द तामाङ दम्पतीको पहिलो सन्तानको रुपमा जन्मिएका जेठोको तौल १ किलो ६ सय ग्राम, माइलाको १ किलो ३ सय ग्राम र कान्छो बच्चाको तौल १ किलो २ सय ग्राम मात्र छ । गर्भाधारण गरेको सात महिनामै जन्मिएका तिम्ल्याहालाई जिल्ला अस्पतालमा अक्सिजन दिएर राखिएको छ ।
तिम्ल्याहालाई बढि स्यहार र हेरचाह गर्नुपर्ने भएकोले सुविधायुक्त अस्पतालमा लैजान चिकित्सकहरुले उनीहरुलाई सुझाव दिएका छन् । तर, आर्थिक अवस्था नाजुक भएकोले तत्कालै अन्यत्र लैजान कठिन रहेको तामाङ दम्पतीले बताए । सामान्य बच्चाको तौल २ केजी ५ सय ग्राम हुनुपर्नेमा उनीहरुको तौल सामान्यभन्दा ५० प्रतिशत कम रहेकोले अन्यत्र लैजान सिफारिस गरेको अस्पतालले जनाएको छ ।
तिम्ल्याहालाई जन्मिएको २० घण्टा हुन लाग्दा पनि आमाको दुध खुवाइएको छैन । तिम्ल्याहा सन्तान जन्मिएको घटना यो पहिलो भएको जिल्ला अस्पतालका डा. नरेन्द्र झाले बताए । बिहे गरेको तीन बर्षपछि तिम्ल्याहा सन्तान जन्मिएकोमा गोविन्द तामाङले आश्चर्य प्रकट गरेका छन् । सात महिनाको तिम्ल्याहाले आँखा खोलेका छैनन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks