Loving nepal news

Thursday, February 3, 2011

कांग्रेस प्रतिपक्षमा बस्ने


कुलचन्द्र न्यौपाने

काठमाडौ, माघ २१ - कांग्रेस झलनाथ खनाल नेतृत्वको सरकारमा नगई प्रतिपक्षमा बस्ने भएको छ । त्यसबारे निर्णय गर्न उसले केन्द्रीय समितिको तत्कालै बैठक डाक्ने भएको छ ।

प्रधानमन्त्रीमा पराजित भएपछि नेता रामचन्द्र पौडेलले शान्ति र संविधान निर्माणका लागि सहमतिसाथ अघि बढ्ने प्रतिक्रिया दिए । केन्द्रीय सदस्य विमलेन्द्र निधिले सरकारलाई उसको गुण र दोषका आधारमा समर्थन वा विरोधको नीति लिने बताए । 'शान्ति प्रक्रिया र नयाँ लोकतान्त्रिक संविधान निर्माणमा रचनात्मक भूमिकामा रहनेछौं,' निधिले भने ।

केन्द्रीय सदस्य रामशरण महत र कृष्णप्रसाद सिटौलाले पार्टीले पछि औपचारिक निर्णय गर्ने भए पनि कांग्रेस प्रतिपक्षमा बस्न उपयुक्त हुने धारणा राखे । 'राजनीतिक स्थायित्व कांग्रेसको लक्ष्य हो, शान्ति प्रक्रिया र नयाँ लोकतान्त्रिक संविधान निर्माणका लागि कांग्रेस सकारात्मक रूपमा अघि बढ्छ,' सिटौलाले भने, 'यतिखेर कांग्रेस प्रतिपक्ष्ामा बस्नु उपयुक्त हुनेछ ।'

माओवादीको समर्थनमा खनाल प्रधानमन्त्रीमा नियुक्त भएपछि वाम/लोकतान्त्रिक गठबन्धन समेत टुटेको निष्कर्ष कांग्रेसको छ । गठबन्धन टुटेर वाम र लोकतान्त्रिक शक्तिबीच ध्रुवीकरण बढेको मूल्यांकन गर्दै उसले यसबाट लोकतन्त्रमाथि चुनौती खडा हुने तर्क अघि सारेको छ । संसद्मा बोल्दै पौडेलले स्वच्छ प्रतिस्पर्धामा 'धूलोमैलो मिसिएको' बताए । 'नयाँ गठबन्धनले निकास दिनेभन्दा परिस्थितिलाई जटिल बनाइएको छ,' उनले भने, 'यसबाट लोकतन्त्रमाथि कालो बादल मडारिएको छ ।'

प्रधानमन्त्रीबाट नेपालले राजीनामा दिएपछि शान्ति र संविधान निर्माण टुंगोमा पुर्‍याउने भन्दै कांग्रेसले नेतृत्वको दाबा गर्दै आएको थियो । माओवादी र एमालेले सरकारको नेतृत्व गरिसकेको अवस्थामा स्वाभाविक रूपमा कांग्रेसले नेतृत्व पाउनुपर्ने अडान राख्दै पहिलो चरणमा १६ औं पटकसम्मको निर्वाचन प्रक्रियामा भाग लिएको थियो । एमालेको सहयोग पाउने आशामा कांग्रेस नेता पौडेललाई दोस्रो प्रक्रियामा पनि पार्टीको बहुमतबाट उम्मेदवार बनाइएको थियो ।

राष्ट्रिय सहमतिको सरकारको अडानमा ६ महिनादेखि तटस्थ रहँदै आएको एमाले अन्ततः बहुमतीय प्रक्रियाबाटै प्रधानमन्त्री बन्न सफल भएपछि त्यसलाई कांग्रेसले 'धोका'को संज्ञा दिएको छ । प्रधानमन्त्रीमा पराजित पौडेलले संसद्मा बोल्दा अधिकांश समय खनालविरुद्ध खर्चे । उनले नयाँ गठबन्धनसमेत षड्यन्त्रमूलक ढंगबाट आएको आरोप लगाए । 'सहमतिको सबैभन्दा ठूलो बेइज्जती आज भएको छ,' खनालप्रति कटाक्ष गर्दै पौडेलले भने, 'शान्ति र संविधान निर्माणका लागि सहमति नभई हुनै सक्दैन । सहमतिको प्रधानमन्त्री नभई अघि बढ्नै सकिँदैन भन्नेबाट ठूलो धोका भएको छ ।'

उनले सहमतिका नाममा हलोमा चलो राखेर थलो पार्ने काम भएको बताए । 'नाटकीय रूपमा बनेको गठबन्धनले सहमतिको भावनाको प्रतिनिधित्व गर्न सक्दैन,' पौडेलले भने, 'यो षड्यन्त्र जनतालाई-कुइरोको काग बनाउने हिपोक्रेसी हो । यसबाट मुक्त नभई मुलुक अघि बढ्न सक्दैन ।'

उनले खनालले आफू प्रधानमन्त्री हुन मात्रै सहमति खोजेको आरोप लगाए । 'उहाँको सहमति मेरालागि सहयोग गरिदिनुहोस् भन्ने रहेछ भन्ने कुरा आज प्रस्ट भयो,' उनले भने, 'काग काग नै हुन्छ, कोइली कोइली नै हुन्छ भन्ने प्रस्ट भयो ।'

'शान्ति प्रक्रिया र नयाँ संविधानमा कांग्रेसका कारण कुनै अड्चन नआएको बताउँदै पौडेलले एकमुष्ट ६ सय १ सभासदलाई दोष दिन नहुने बताए । 'के कारणले शान्ति र

संविधान अघि नबढेको हो ? कहाँबाट यसको षड्यन्त्र भएको छ ? कहाँबाट घाउ लागेको हो त्यसको पत्ता

जनताले लगाउनुपर्छ,' माओवादीप्रति आक्रोशित हुँदै पौडेलले भने, 'एकमुष्ट आरोप लगाउने अभिशप्त अवस्थाबाट मुक्त हुनुपर्छ । षड्यन्त्र अन्त्य हुनुपर्छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks