
विमल खतिवडा
चित्रे (पर्वत), माघ १९ - द्वन्द्वका बेला विस्थापित भएका गाउँ नर्फकँदा पूरै गाउँ सुनसान बनेको छ । माओवादी डरत्रासले गाउँ छाडी गएकाहरू वर्षौं बित्दा पनि अझै फर्किएका छैनन् ।
०५८ सालमा गाउँमा माओवादीले क्षमताभन्दा बढी माग गरेको चन्दा दिन नसक्दा अधिकांश विस्थापित हुन बाध्य भएका थिए । उक्त गाविसको १ देखि ९ वडाका झन्डै १ सय ५० परिवार अन्तै सरेका छन् । जसमध्ये ३ वडाका सबैभन्दा बढी २० घर खाली छ । उक्त वडाका ३२ घरमध्ये १२ मा मात्र बसोबास गर्छन् । यसरी विस्थापित हुनेमा अधिकांश गुरुङ समुदाय छन् ।
'हुने खानेलाई देख्नै हुँदैन थियो, चन्दा मागेर हैरान पार्थे,' स्थानीय इमानसिंह गुरुङले भने, 'त्यही भएर माओवादीले भनेजति चन्दा दिन नसक्दा गाउँनै छाड्नुपरेको हो ।' केही भने गाउँमा उच्च शिक्षाका लागि क्याम्पस, विद्यालय नखुल्दा छोराछोरी पढाउनकै लागि अन्यत्र गएको उनले बताए ।
गाउँ छाडेर गएकाहरू सदरमुकाम कुश्मा, डिमुवा, पोखरा र काठमाडौंमा बसोबास गर्दै आएका छन् । विस्थापित हुनेहरू भने पोखरा, काठमाडौंमा घर बनाएर बसेका छन् । केही भने अझै पनि आफन्तकोमा बस्छन् । ०५८ मा स्थानीय बासिन्दा धनबहादुर गुरुङको माओवादीले घरजग्गा कब्जामा लिएपछि विस्थापित उनी अहिलेसम्म गाउँ फर्किएका छैनन् । तीन वर्षअघि माओवादीले घरजग्गा फिर्ता गरे पनि उनी नआएको गाउँलेको बताए ।
उनको घर माओवादीले कब्जामा लिएपछि अरू पनि त्रासले गाउँ छोड्न बाध्य भएका हुन् । विस्थापितका घर भत्किन थालेका छन् भने केही घरमा दलित समुदायका सर्वसाधारण बस्दै आएका छन् । उनीहरूले घरजग्गा भने बिक्री गरेका छैनन् । अधिकांशका खेतबारी बाँझै छ । 'पहिला त छोराछोरीलाई माओवादीले लान्छन् भन्दै डरले छोराछोरी च्यापेर गाउँ छाडी जानेको लर्कै लागेको थियो,' मेखबहादुर गुरुङले भने, 'त्यसरी गाउँ छाडेर गएकाहरू अझै फर्किएनन् ।' उतै घर बनाएर बसेको उनले बताए । ५ सय १५ घरमध्ये गाउँ छाडेर जाने १ सय ३० गुरुङमात्र छन् ।
'द्वन्द्वका बेला कोही पारिवारिक कारणले र कोही माओवादीको कारणले गाउँ छाडेर अन्यत्र गएका हुन्,' गाविस सचिव भूमिराज शर्माले भने, 'छाडेर गएको वर्षौं विते पनि अहिलेसम्म कोही बसाइँ सराइको कागज बनाउन आएका छैनन् ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks