
गोकर्ण अवस्थी
काठमाडौ, पुस २१ - सेयरमा लगानी गर्ने सहरिया मात्रै हुन सक्छन् वा गाउँमा पनि यसप्रति लगाव हुन सक्छ ? एउटा २० मेगावाट क्षमताको जलविद्युत्ले जम्मा १० प्रतिशत मात्रै सेयर बेच्दा जिल्लामा कति उत्साह आउन सक्छ ? सेयरमा लगानीले के आर्थिक प्रतिफल मात्रै पाइन्छ ? यी पहिले नसोचिएका प्रश्नको शालीन उत्तर रसुवा जिल्लावासीले दिएका छन् ।
यहाँका बासिन्दाले चिलिमे जलविद्युत् आयोजनाको सेयर किन्न करिब २५ करोड रुपैयाँ आफ्नै खल्तीबाट निकाले । हुन त सेयरप्रति सर्वसाधारणको मोह देखेर बैंकहरूले ऋण दिन नखोजेका पनि होइनन् । तर सोचेजति ऋणको उपयोग भएन ।
९ लाख ६० हजार कित्ता सेयर किन्न करिब ४३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । त्यसमध्ये २५ करोड रुपैयाँ जिल्लावासीले बैंकको ऋण नलिई बुझाए ।
'२५ करोड रुपैयाँ सर्वसाधारणबाट उत्साहजनक रूपमा उठ्नुले जलविद्युत्मा लगानी गर्ने चाहना देखिन्छ,' आयोजनाका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने ।
आयोजनाले ९ लाख ६० हजार कित्ता सेयर रसुवावासीका लागि छुट्टयाएको थियो । यो सेयर किन्न जनता र मेघा बैंकले ऋण सुविधा उपलब्ध गराएका थिए । करिब २७ करोडका लागि आह्वान भएको सेयरमा ४३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।
आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दाका लागि कम्पनीले १ लाख ८० हजार कित्ता प्रतिसेयर १०० रुपैयाँमै दिइएको थियो । बाँकी सेयर प्रतिसेयर ३ सय २३ रुपैयाँ ७० पैसामा बिक्री गरिएको थियो । यसअघि जारी भएको कम्पनीको सेयर दोस्रो बजारमा प्रतिसेयर ९ सय २२ रुपैयाँमा कारोबार भइरहेको छ ।
दुर्गम जिल्लामा... 'करिब ७ वर्षको जिल्लावासीको आन्दोलनपछि सर्वसाधारणलाई पनि सेयर जारी गर्नुपर्छ भन्ने अवधारणा हामीबाटै सुरु भएको हो,' घिसिङले भने, 'अहिले हामी आगामी आयोजनामा पनि सर्वसाधारणको सहभागिता बढाइरहेका छौं ।' चिलिमेले २ सय ५७ मेगावाट क्षमताका चार नयाँ आयोजना बनाइरहेको छ । यसमध्ये स्यान्जेन आयोजनाको काम सुरु भइसकेको घिसिङले बताए ।
विकट हिमाली जिल्ला रसुवामा सेयर किन्नकै लागि सर्वसाधारणले नागरिकता लिए । 'हाम्रै सेयर किन्न भनेर झन्डै ५ हजार जिल्लावासीले नागरिकता लिए,' घिसिङ भन्छन् । उमेर पुगेका व्यक्तिका लागि सेयर किन्न नागरिकता अनिवार्य चाहिन्छ ।'
यससँगै नाबालिकहरूको यसै क्रममा व्यापक जन्मदर्ता भएको घिसिङले बताए । 'सेयर भर्ने म्यादको अन्तिम दिन जन्मेको बच्चाको पनि जन्मदर्ता भएर सेयरमा लगानी गरिएको छ,' उनले भने । नाबालिकको हकमा भने जन्मदर्ताको प्रमाणपत्र चाहिन्छ । जिल्लाको तीन ठाउँमा सेयर भर्न ठाउँ तोकिएको थियो । जहाँ गाउँ विकास समितिका सचिवलाई समेत बस्ने व्यवस्था गरिएको घिसिङले बताए । सरकारले जन्म र विवाह दर्ताको अनुरोध गर्दै ठूलो धनराशि प्रचारप्रसारमा खर्च गरिरहेको छ । 'सेयर भर्ने क्रममा झन्डै १० हजारजतिको विवाह र जन्मदर्ता भएको हुनुपर्छ,' घिसिङले भने । चिलिमेले दुई महिनाअघि जिल्लावासीका लागि सेयर आह्वान गरेको थियो । जिल्लाका सबै १८ गाविसका जनताले चिलिमेको सेयर किनेका छन् । यस कम्पनीको सेयर किन्न विदेशमा रहेका जिल्लावासी पनि यहाँ आएका थिए ।
२० मेघावाट क्षमताको यो जलविद्युत् आयोजनाले २०६० साल भदौ ८ बाट व्यावसायिक उत्पादन थालेको हो । चिलिमे गाविसमा बाँध बनाई ३ किमि सुरुङबाट स्याप|mु-९ मा भूमिगत विद्युत्गृह निर्माण गरेको हो । कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई उत्पादित बिजुली बिक्री गर्दै आएको छ । चिलिमे आयोजनाबाट कम्पनीले वाषिर्क ७५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरिरहेको घिसिङले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks