
सुजित महत
काठमाडौ, पुस २४ - पर्यटन वर्षमा लक्षित १० लाख पर्यटक भित्र्याउन के गर्नुपर्ला ? विदेशमा प्रचारात्मक कार्यक्रम गर्नुपर्छ भन्ने जवाफ धेरैको होला । तर भ्रमण वर्ष सफल बनाउने जिम्मेवारी पाएको पर्यटन मन्त्रालयको रुचिचाहिँ मुलुकभित्रै तामझाम, गोष्ठी, सेमिनार गरेर भ्रमण वर्षको लक्ष्य पूरा गर्नेछ ।
पर्यटन वर्ष सफल बनाउन विनियोजित २३ करोडमा ११ करोड रुपैयाँ मुलुकभित्रै उद्घाटन गोष्ठी, अन्तरिक्रया, तालिम, महोत्सवमा खर्च गरिँदै छ । पर्यटक भित्र्याउन कुनै योगदान नहुने भए पनि विनियोजितको ५० प्रतिशतभन्दा बढी रकम अनियमितता हुने खालका शीर्षकमा छुट्याइएको योजना आयोगसम्बद्ध अधिकारी बताउँछन् ।
विदेशमा प्रवर्द्धन कार्यक्रमभन्दा पनि मुलुकभित्रका तामझाम र मन्त्रीको जिल्लाका मठमन्दिरमा बजेट विनियोजनमा मन्त्रालयको रुचि देखिएको छ । 'पर्यटक भित्र्याउने होइन कार्यक्रमका नाममा भ्रष्टाचार गर्न सकिने शीर्षकमा बढी कार्यक्रम बनाएका छन्,' राष्ट्रिय योजना आयोगसम्बद्ध स्रोतले भन्यो ।
पर्यटनले भ्रमण वर्षका लागि भन्दै मुलुकभित्र महोत्सव, गोष्ठी, अन्तरक्रियाका गर्ने कार्यक्रम राखेर २३ करोड रुपैयाँ माग गरेको थियो । तर अर्थले पर्यटनले प्रस्ताव गर्ने कार्यक्रमबाट विदेशी पर्यटक भित्र्याउनका साथै आन्तरिक पर्यटन प्रवर्द्धन कार्यक्रममा कुनै योगदान नगर्ने भन्दै ६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको थियो ।
पर्यटनले अर्थकै कारण भ्रमण वर्ष सफल नहुने भयो भनेर चर्को दबाब दिएपछि विदेशीलाई नेपाल भ्रमण गर्न आकषिर्त गर्ने खालका प्रचार अभियानमा खर्च गर्ने सर्तमा मागबमोजिमको रकम दिन अर्थ तयार भएको थियो ।
उसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विज्ञापनलगायत प्रचारात्मक अभियानमा खर्च गर्नुपर्ने सर्त राखेको थियो । तर पर्यटनले १२ करोड रुपैयाँ मात्र यस्तो कार्यक्रममा विनियोजन गरी बाँकी रकम पर्यटन प्रवर्द्धनमा उपलब्धि नहुने शीर्षकमा लगेको छ । 'विदेशका सञ्चारमाध्यम अन्तर्राष्ट्रिय विमानस्थल, सहरमा विज्ञापन गर्दा खर्च हुने रकममा भ्रष्टाचार गर्न गाह्रो पर्ने भएकाले मुलुकभित्रै कार्यक्रममा जोड दिइएको छ,' योजना आयोगसम्बद्ध स्रोतले भन्यो ।
पर्यटनले भ्रमण वर्षको उद्घाटन कार्यक्रममै ३ करोड रुपैयाँ खर्च गँर्दैछ । टुँडिखेलमा हुने कार्यक्रममा मात्र १ करोड रुपैयाँ खर्च गरिने उल्लेख छ । कार्यक्रममा उपस्थित दक्षिण एसियाली मुलुकका मन्त्रीहरूको अतिथि सत्कारका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ ।
भ्रमण वर्षमा जिल्लाजिल्लामा अन्तरक्रिया/गोष्ठी कार्यक्रम गर्ने भनेर १ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । होमस्टे तालिम शीर्षकमा १ करोड २५ लाख छुट्याइएको छ । स्थानीयस्तरमा प्रचारप्रसार शीर्षकमा ५० लाख रुपैयाँ छ । भ्रमण वर्षको लोगो अंकित कोट र टाइपिन बनाउन १ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाटा) का पूर्वअध्यक्ष रामकाजी कोनेका अनुसार विदेशी पर्यटक भित्र्याउन बढी पर्यटक भित्रिने देशका सञ्चारमाध्यममा प्रचार
गर्नुपर्छ । त्यहाँका ट्राभल एजेन्टहरूलाई भेला गराई आफ्ना प्याकेजको प्रचार गर्नु अर्को प्रभावकारी उपाय हो । 'विदेशमा भ्रमण वर्षबारे प्रदर्शनी पनि गर्नुपर्छ,' उनले भने ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले नयाँ गन्तव्यको विकास र प्रचारमा जोड दिनुपर्ने उनले बताए । महोत्सव आयोजना भए पनि यसमा पर्यटक आकषिर्त गर्ने खालका कार्यक्रम नभएको उनले बताए । 'ट्राभल एजेन्ट्सलाई सहभागी गराई महोत्वसका क्रममा आकर्षक प्याकेज बनाउन सकियो भने आन्तरिक पर्यटन प्रवर्द्धन हुन्छ,' उनले थपे ।
पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत तराई पर्यटन विकासको बजेट त झनै ठोस कार्यक्रमबिनाका छन् । यो कार्यक्रममा मन्त्रीले आफ्नो जिल्ला र गाउँगाउँमा पर्यटन पूर्वाधार विकास भन्दै बजेट लगेका छन् । कार्यक्रम अन्तर्गत महोत्तरीमा २८ वटा कार्यक्रम राखिएका छन् । पर्यटकीय पूर्वाधार विकास भन्दै गाउँका मठ, मन्दिर, मदरसा, कब्रस्तानमा पर्यटकीय पूर्वाधार विकास भनेर बजेट छुट्याइएको छ ।
चौबीस वटा मन्दिरमा पर्यटकीय पूर्वाधार निर्माणका लागि बजेट छुट्याइएको छ । मन्त्रीले राखेको पर्यटकीय पूर्वाधार विकासको सूचीमा ७ वटा मदरसा/मस्जिद र कब्रस्तान परेका छन् । दुई वटा गुम्बामा पनि पर्यटकीय पूर्वाधार निर्माण गर्ने भनेर ८ लाखा रुपैयाँ छुट्याएको छ । मन्त्रीले आफैंले गाउँ औरहीमा हनुमान मन्दिर, रामजानकी कुटी र इदगाहमा पर्यटन पूर्वाधार विकास गर्ने भनेर २० लाख रुपैयाँ विनियोजन गराएका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks