
गंगा बीसी
काठमाडौ, पुस २९ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराई पक्षले अन्य दल नेतृत्वको बहुमतीय सरकारमा पार्टी जान नहुने धारणा अघि सारेको छ । भट्टराई पक्षले सहमतीय सरकारका लागि भने जसको पनि नेतृत्व स्वीकार गर्न सकिने जनाएको छ ।
भट्टराईले त्यसबारे आफूनिकट नेताहरूसँग छलफल गरेको र अन्य नेताको पनि त्यस्तै धारणा रहेको स्रोतले जनायो । भट्टराईले माओवादीले नेतृत्व पाएको खण्डमा भने बहुमतीय सरकार बनाउन कुनै समस्या नहुने धारणा राखेका थिए ।
भट्टराईनिकट पोलिटब्युरो सदस्य राम कार्कीले अरूको नेतृत्वको बहुमतीय सरकारमा नजाने पार्टीको नीति रहेको बताए । 'बहुमतको सरकार हाम्रो पार्टीको नेतृत्वमा हुनुपर्छ,' उनले कान्तिपुरसँग भने, 'त्यसो भएन भने प्रतिपक्षमा बस्नुपर्छ ।' उनले राष्ट्रिय सहमतिको सरकार बने अरूको नेतृत्व पनि स्वीकार्न सकिने बताए । 'सहमतिको सरकार बने अरूको नेतृत्व पनि मान्न सकिन्छ,' उनले भने, 'किनभने सहमतिको सरकार भए शान्ति र संविधान निष्कर्षमा पुग्छ ।' अरूको नेतृत्वमा बहुमतको सरकारमा जाँदा शान्ति र संविधान नबन्ने उल्लेख गर्दै कार्कीले त्यसबेला प्रतिपक्षमा बस्नु उपयुक्त हुने बताए ।
अर्का नेताले अध्यक्ष दाहाल एमाले अध्यक्ष खनालको नेतृत्वमा भए पनि सरकार बनाउने पक्षमा रहेको उल्लेख गर्दै भट्टराई त्यसको विरोधमा रहेको बताए । 'अरूको नेतृत्वको बहुमतीय सरकार पक्षमा बाबुरामजी हुनुहुन्न,' उनले भने, 'बहुमतीय सरकार माओवादीकै नेतृत्वमा हुनुपर्छ भन्ने उहाँको धारणा छ ।'
दाहाल पक्ष कांग्रेस वा एमालेको नेतृत्वमा सरकार बन्ने अवस्था भए प्रतिपक्षमा बस्ने तर 'आफ्नो अनुकूल' एमाले (खनाल) वा कांग्रेस -देउवा) को नेतृत्वमा सरकार बन्ने अवस्था आए सकारात्मक विचार गर्ने पक्षमा छ । अध्यक्ष दाहालले खनाललाई समर्थन गर्ने संकेत विभिन्न भेटमा दिइसकेको दाबी स्रोतको छ । खनालले प्रधानमन्त्री उम्मेदवारका लागि पार्टीमा निर्णय गराउन सक्नेमा भने दाहाललाई शंका छ । दाहाल भारतले कम रुचाएको व्यक्ति प्रधानमन्त्री बनाउने पक्षमा छन् । त्यस्तो व्यक्ति पहिलो खनाल र दोस्रो देउवा हुन् । देउवालाई पार्टीमा निर्णय गराउन एकदम कम सम्भावना भएको हुनाले खनाल पहिलो प्राथमिकतामा छन् ।
अर्का उपाध्यक्ष मोहन वैद्य पक्ष पनि बहुमतीय सरकार पार्टीकै नेतृत्वमा हुनुपर्ने धारणामा छ । वैद्य पक्षीय पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा बहुमतीय सरकार पार्टीकै नेतृत्वमा हुनुपर्ने बताउँछन् । 'ठूलो पार्टी भएको हुनाले बहुमतको सरकार पनि हाम्रै नेतृत्वमा हुनुपर्छ,' उनले कान्तिपुरसँग भने, 'त्यसो हुन सकेन भने प्रतिपक्षमा बस्ने विकल्प छ ।' उनले नयाँ प्रधानमन्त्री प्रक्रिया सुरु भएको हुनाले विकसित घटनाक्रमपछि मात्र पार्टीले निर्णय गर्ने बताए । भट्टराईले आगामी स्थायी समिति बैठकमा औपचारिक रूपमा अरूको नेतृत्वमा बहुमतीय सरकारमा जान नहुने धारणा राख्ने तयारी गरेको स्रोतको भनाइ छ । बैठक माघ पहिलो साता बस्नेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks