काठमाडौ, माघ १३ - राष्ट्रपति डा रामवरण यादव भारतको १० दिने औपचारिक भ्रमणका क्रममा आज अपराह्न भारतको कोलकाता प्रस्थान गरेका छन् । राष्ट्रपति डा. यादव एन्डियन एयरलायन्सको आइसी ७४८ नम्बरको बिमानबाट अपराह्न ४:०५ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नयाँदिल्लीमा रहँदा राष्ट्रपति डा यादवसँग भारतीय उपराष्ट्रपति मोहमद हमिद अन्सारी, भारतीय प्रधानमन्त्री डा मनमोहन सिंह, काँग्रेस अध्यक्ष एवम् संयुक्त प्रगतिशील गठबन्धनका अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री एसएम कृष्णा, वित्तमन्त्री प्रणव मुखर्जी, रक्षामन्त्री एके एन्थोनी, गृहमन्त्री पी चिदम्बरम्, विपक्षी दलकी नेत्री सुषमा स्वराजले शिष्टाचार भेट गर्नेछन् ।
त्यसपछि राष्ट्रपति डा यादव आफूले सन् १९८४/८५ मा स्नातकोत्तर गरेका चण्डिगढस्थित पोस्टग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एन्ड रिसर्चमा भ्रमण गरी त्यहाँ हुने दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा सरिक हुनेछन् । राष्ट्रपति डा यादव यही माघ २२ गते अपराह्न स्वदेश फर्कनेछन् ।
भ्रमणदलमा राष्ट्रपति डा यादवकी सुपुत्री अनिता यादव, सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा मीनेन्द्र रिजाल, राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, परराष्ट्रमन्त्रालयका सचिव डा मदनकुमार भट्टराई, शिष्टाचार महापाल मुक्तिनाथ भट्ट, राष्ट्रपतिका राजनीतिक सल्लाहकार हरि शर्मा र अन्य वरिष्ठ अधिकारी सहभागी छन् ।
राष्ट्रपति डा यादवलाई उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री माधवकुमार नेपालले अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । उनको बिदाइका लागि मन्त्रिगण, सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा प्रमुखलगायत बिमानस्थलमा पुगेका थिए ।
राष्ट्रपति डा यादवले माघ १५ गते कोलकातास्थित शान्ति निकेतन र माघ १६ गते दक्षिण भारतको तिरूपतिको भ्रमण गर्नुहुनेछ । तिरुपतिको भ्रमणपछि माघ १७ गते सोमबार राष्ट्रपति डा यादव नयाँदिल्ली प्रस्थान गर्नेछन् ।
राष्ट्रपति डा यादवको स्वागत एवम् सम्मानमा उहाँका समकक्षी भारतीय राष्ट्रपति प्रतिभादेवीसिंह पाटिलले आयोजना गर्ने रात्रिभोजमा उन सरिक हुने कार्यक्रम छ ।
रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks