Loving nepal news

Wednesday, January 5, 2011

काभ्रेका व्यवसायीको सिन्डिकेटले ५ जिल्ला प्रभावित


योगेश खतिवडा/मनोज बस्नेत

काठमाडौ, पुस २२ - काभ्रे जिल्लाका यातायात व्यवसायी समितिहरूको सिन्डिकेटका कारण सिन्धुली, ओखलढुंगा, उदयपुर, भोजपुर र सोलुखुम्बुबाट आउने यात्रु मारमा परेका छन् । सिन्धुलीका बस व्यवसायीले बिपी राजमार्गबाट काठमाडौं-सिन्धुली गाडी चलाउन थालेपछि काभ्रेका व्यवसायीले लगातर बनेपामा यात्रु झारी गाडी नियन्त्रणमा लिने गरेका छन् ।

सरकारले बजार एकाधिकार गर्ने संस्था खारेज हुने व्यवस्था गरे पनि बेवास्ता गर्दै काभ्रेका बस व्यवसायीहरूले शनिबारदेखि बिपी राजमार्गअन्तर्गत काठमाडौंबाट सिन्धुलीका लागि छुटेको गाडीका यात्री बनेपामा ओराली गाडी नियन्त्रणमा लिएका छन् । बिपी राजमार्गबाट काठमाडौं आउने जाने सवारीसाधन चल्न नदिँदा यात्रुले बढी खर्चनुपर्ने र यात्रा अवधि पनि लामो हुन्छ । काभ्रेका व्यवसायीले सरकारी नियमबमोजिम सिन्डिकेट गर्ने उद्देश्यले अरू गाडी रोकेपछि सिन्धुलीबाट काठमाडौं आउने यात्रुले झन्डै दोब्बर समय यात्रा गर्नुपर्ने र झन्डै ४० प्रतिशत बढी भाडा तिर्नु परिरहेको छ ।

'सिन्धुलीबाट नारायणगढ हुँदै घुमेर आउँदा काठमाडौं आउन ५ सय रुपैयाँ भाडा र १० घन्टा समय लाग्छ,' सिन्धुली यातायात व्यवसायी सेवा समितिका अध्यक्ष दिनेश बस्नेतले भने, 'तर बिपी राजमार्ग हुँदै काठमाडौं-सिन्धुलीको यात्रा गर्न जम्मा ५ घन्टा समय र ३ सय रुपैयाँ भाडा लाग्छ ।'

यस्तै मध्य पहाडी राजमार्गमार्फत भोजपुर, ओखलढुंगा, उदयपुर र सोलुखुम्बुबाट आउने यात्रुलाई पनि राजधानी आउन बिपी राजमार्ग सीधा पर्छ । ती जिल्लाबाट आउने यात्रु कोसी नदी डुंगाबाट तरेर घुर्मीबाट बिपी राजमार्ग हुँदै काठमाडौं आउँछन् । 'तर बिपी राजमार्ग हुँदै सिन्धुली-काठमाडौं सेवा सञ्चालन नहुँदा ती जिल्लाबाट आउने पनि सिन्धुली हुँदै नारायणघाटको बाटो घुमेर आउनुपर्छ,' बस व्यवसायी मुरारी भण्डारीले भने, 'भोजपुर, ओखलढुंगा, उदयपुर, सोलुखुम्बुका यात्रु घुर्मीसम्म आएपछि सवारी साधन सोझै काठमाडौंका लागि नचल्ने भएकाले उनीहरू फेरि सिन्धुली हुँदै घुम्नुपरेको छ ।'

उनका अनुसार बिपी राजमार्गबाट त्यस क्षेत्रका मानिस आउँदा ७ सय रुपैयाँको हाराहारीमा काठमाडौं आइपुग्छन् । तर घुमेर आउँदा भाडा १ हजार रुपैयाँभन्दा बढी र दुई दिन समय लाग्ने गरेको उनले बताए । अध्यक्ष भण्डारीका अनुसार यात्रुहरूलाई सस्तो पर्ने र धेरैले छोटो यात्रा गर्न चाहने भएकाले आफूहरूले दुई वर्षअघि ट्रयाक खुल्दादेखि नै यस रुटमा गाडी चलाउन खोजेको बताए । काभ्रेका व्यवसायीले त्यस बेला पनि चल्न दिएका थिएनन् ।

'चार महिनाअघिबाट फेरि चलाउन प्रयास गर्‍यौं,' उनले भने, 'त्यस बेला पनि नियन्त्रणलमा लिइयो । त्यसपछि पटकपटक वार्तामा बस्यौं तर जे गरे पनि चलाउन दिने भएनन् ।' लामो छलफलपछि पनि उनीहरूले चलाउने दिने कुनै संकेत नगरेपछि १७ गतेदेखि सिन्धुलीबाट चलाउन थालेको बसलाई काभ्रेका व्यवसायीले दुई दिनसम्म अवरोध गरेका थिएनन् । 'सोमबार र मंगलबार चार वटा गाडी बनेपामा नियन्त्रणमा लिए,' उनले भने, 'गाडीको सिसा फुटाउने र ड्राइभर कुट्ने काम भयो ।' मंगलबार काभ्रेका व्यवसायीले दुई वटा गाडीको स्टेयरिङमा साङ्लाले बाँधेर राखेका थिए । बुधबार सिन्धुलीबाट आएको एउटा गाडी नियन्त्रणमा लिई यात्रु झारेर फर्काइएको उनले बताए ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सुधीरकुमार शाहले कुनै पनि रुटमा सवारी आवतजावतमा नियन्त्रण गरी सिन्डिकेट गर्न खोज्नु कानुनविपरीत भएको बताए । 'काभ्रेमा यस्तो गरिएको जानकारी आए त्यस्ता व्यवसायी तथा व्यवसायी समितिलाई कारबाही गरिन्छ,' उनले भने । चालू आवको बजेटमा कुनै पनि प्रकारको सिन्डिकेट गर्ने संस्था खारेज गरिने उल्लेख छ ।

काभ्रे मिनिवस सेवा समितिका अध्यक्ष सुरकृष्ण बैधले सिन्धुली र काभ्रेका व्यवसायीबीच छलफल भइरहेको बताए । 'दुवै पक्षबीच छलफल पूरा नभएसम्म कसैले पनि यो रुटमा सवारी नचलाउने सहमति भएको छ,' उनले भने, 'छलफल भइरहेकाले हामीले रोकेका हौं ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks