Loving nepal news

Tuesday, January 11, 2011

हिरो-हिरोइन हेर्न ठेलमठेल


शिव शर्मा

कास्की, पुस २८ - पोखरा चिप्लेढुंगास्थित गोसेली डिर्पाटमेन्टल स्टोरबाहिर मंगलबार सर्वसाधारणको अलि बढी नै घुइँचो थियो । आधा सडक ढाकिने गरी ।

रातो कुर्ता सुरुवालमा सजिएर स्कुटी हुइँकाउँदै आएकी नायिका झरना थापालाई देखेपछि भीडमा ठेलमठेल पनि देखिन थाल्यो । करिब आधा घन्टासम्म सडक जाम भयो ।

झरना स्कुटरमै केही बेर अडिएपछि डिपार्टमेन्टल स्टोरभित्र प्रवेश गरिन् । उनलाई देखेर त्यहाँका कर्मचारीहरू केही क्षण अकमक्क परे । एक/दुईजनाले 'तपाईंलाई के चाहियो ?' भनी सोध्नसमेत भ्याए । स्टोरभित्र यताउता नियालेपछि झरनाका आँखा प्लास्टिकका बुकेमा अडिन्छन् । तत्काल उनीसामु अग्लो कदका नायक सुरज आरडी झुल्किन्छन् । झरनाले एउटा बुके उनलाई उपहार दिन्छिन् । झरना स्टोरकी स्टाफ बनेकी हुन्छिन् ।

उक्त स्टोरमा जीवन रसाइली निर्देशित 'माई लाइफ' को छायांकन भइरहेको थियो । रमाइलीका अनुसार यो फिल्ममा झरना आत्मनिर्भर हुन चाहने युवतीको भूमिकामा छन् । 'म यो फिल्ममा जागिर खाँदै पढ्ने युवतीको भूमिकामा प्रस्तुत भएकी छु,' सुटिङको हतारमा रहेकी नायिकाले भनिन्, 'यो भूमिकालाई मैले चुनौतीका रूपमा लिएकी छु ।'

विश्वास घलेको लगानी रहेको 'माई लाइफ' मा कसैको सहारा खोसिएपछि जीवनमा आइपर्ने चुनौतीपूर्ण प्रसंग देखाउन खोजिएको निर्देशक रसाइलीले जानकारी दिए । थुप्रै म्युजिक भिडियो र भिडियो सिनेमापछि उनी पहिलोपटक सेल्युलाइड सिनेमाको निर्देशनमा जुटेका हुन् । स्नेहा शर्मा, कमल कृष्ण, दीपक क्षेत्रीसहितले यसमा खेलेका छन् । दिनेश सुनारको कथा पटकथा र संवाद रहेको यो फिल्ममा रमण गायकको संगीत, शंकर महर्जनको द्वन्द्व छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks