काठमाडौ, पुस २२ - राष्ट्रसंघीय शान्ति मिसन अनमिनको कार्यकाल सकिनै लाग्दा सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र (पी-फाइभ) का काठमाडौंस्थित राजदूतहरू सक्रियतापूर्वक भेटघाट र परामर्शमा जुटेका छन् ।
सदस्य राष्ट्र चीन, फ्रान्स, रुस, बेलायत र अमेरिकाका काठमाडौंस्थित राजदूतहरू बुधबार अपराह्न बेलायती दूतावासमा भेला भएर अनमिनको बहिर्गमनपछि शान्ति प्रक्रियाको स्थिति र अन्तर्राष्ट्रिय समुदायको दृष्टिकोणबारे छलफल गरे ।
'हामी छलफलमा थियौं तर कुनै घोषणा भने भएको छैन,' फ्रान्सेली राजदूत जा चाल्र्स देमारिकसले कान्तिपुरसँग फोनमा भने । बैठकमा अमेरिकी राजदूत स्कट एच. डेलिसी, रुसका आन्द्रे एल ट्रोफिमोभ, चिनियाँ क्यु गुवोहङ, बेलायती जोन टक्कनसहितका राजदूतहरूले झन्डै एक घन्टा छलफल गरेका थिए । 'अनमिन गएपछि सुरक्षा परिषद् सदस्य राष्ट्रसहितको अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियालाई गम्भीरतापूर्वक हेर्नेछ भन्ने निचोडमा कुराकानी भयो,' अमेरिकी दूतावासका प्रेस मामला हेर्ने हिदर स्टाइलले भनिन्, 'यो बेला सरोकारवाला सबै पक्षले शान्ति सम्झौताका आधार र अडानमा प्रतिबद्ध रहनुपर्छ भन्दै यस्तो छलफल र परामर्शलाई निरन्तरता दिइने भएको छ ।' अमेरिकी राजदूत डेलिसीले अहिलेको परिस्थितिमा विभिन्न राजनीतिक नेता एवं सरोकारवाला पक्षसँगको भेटघाटलाई तीव्रता दिएको उनले जनाइन् । राजदूत डेलिसीले मंगलबार एमाले अध्यक्ष झलनाथ खनालसँग भेटवार्ता गरेका थिए । उनले बिहीबार बिहान कांग्रेस नेता रामचन्द्र पौडेललाई भेट्दै छन् ।
न्युयोर्कस्थित राष्ट्रसंघीय सुरक्षा परिषद्मा बिहीबार अनमिन प्रतिवेदन प्रस्तुत हुँदैछ । परिषद् बैठकमा यही पुस ३० मा टुंगिने अनमिनको समयावधि र अबको सम्भावित स्थितिबारे छलफल हुने न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले कान्तिपुरलाई बताए । आचार्यले माओवादीले अनमिनको म्याद थप्न पठाएको पत्रबारे न्युयोर्कमा कुनै 'प्रगति नभएको' पनि जनाए ।
यसैबीच कांग्रेस सभापति सुशील कोइराला र बेलायती राजदूत जोन टक्कनबीच बुधबार भेटवार्ता भयो । 'अनमिनको बहिर्गमनपछि शान्ति प्रक्रियाको स्थिति र अन्तर्राष्ट्रिय निकायको धारणाबारे कुराकानी भयो,' कोइरालाका निजी सहायक लक्ष्मण ढकालले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks