Loving nepal news

Thursday, January 13, 2011

'प्रहरी कार्यालय व्यवस्थापन कमजोर'


प्रतिमा बाँस्कोटा


काठमाडौ, पुस ३० - महानगरीय प्रहरी आयुक्तको कार्यालयको अनुगमनले उपत्यकाका तीनै जिल्लाका प्रहरी कार्यालयको आन्तरिक व्यवस्थापन कमजोर देखाएको छ । कार्यालयले गठन गरेको 'मार्सल टोली' को अनुगमनले यस्तो देखाएको हो ।

टोलीले कार्यालय प्रमुखको कक्ष, थुनुवा कक्षको व्यवस्थापन र हाजिर कपी, अन्य रेकर्ड रजिस्टर, पोसाक व्यवस्थापनमा लापरबाही देखिएको आयुक्त कार्यालयमा गरेको रिपोर्टिङमा उल्लेख छ ।

केही प्रहरी कार्यालयका इन्चार्जको व्यवहार रूखो पाइएको, ड्युटी छाडेर अन्यत्र गएको, थुनुवाको उपचारमा ध्यान नदिएको, सेन्ट्री हतियार छाडेर पत्रिका पढ्ने गरेको तथा रोलकल नलिने गरेको देखिएको पनि रिपोर्टिङमा उल्लेख छ ।

आयुक्तको कार्यालयले मातहतका प्रहरीको आचरणमा सुधार ल्याउन टोली गठन गरेको हो । प्रहरी नायब उपरीक्षक भीम ढकालको संयोजनमा रहेको मार्सल टोलीले दुई परिसरसहित १४

प्रहरी कार्यालयको निरीक्षण गरिसकेको छ । अनुगमनमा कोटेश्वर प्रभाग र भक्तपुरको महानगरीय प्रहरी वृत्त ठिमीलाई सन्तोषजनक भनिएको छ ।

आयुक्त कार्यालय मातहतमा तीनवटा परिसर, ७ वटा वृत्त र ४४ वटा प्रभाग छन् । मार्सल टोलीले निरीक्षण गरेको धेरै परिसर, वृत्त र प्रभागमा थुनुवा कक्षमा लापरबाही भएको देखिएको एक अधिकृतले बताए ।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा हिरासत व्यवस्थापन रजिस्टर नभरेको, सरसफाइ नगरिएको भेटिएको छ । क्रिमिनल रेकर्ड बुकमा अपराधीको फोटो नटाँसिएको मार्सल टोलीले देखाएको छ ।

झन्डै एक वर्षअघि कालिमाटी हिरासतमा रहेका एक थुनुवा प्रहरीको पिटाइबाट मारिएका थिए । प्रहरी प्रधान कार्यालयले त्यस घटनामा वृत्त प्रमुखको चरम लापरबाही देखिएको प्रतिवेदन दिए पनि वृत्त प्रमुख डीएसपी भोला रावलमाथि कुनै कारबाही हुन सकेको थिएन ।

वृत्त प्रमुखले घटनामा फरार रहेका अपराधीको खोजी गर्न मातहत र प्रहरी कर्मचारीलाई जानकारी नगराइएको टोलीले जनाएको छ ।

कालिमाटी क्षेत्रमा भएका घटनाबारे जानकारी नगराएको अभियोगमा केही समयअघि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सोधपुछ गरेको थियो ।

प्रहरीका परिसर, वृत्त र प्रभागमा भएका राम्रा र नराम्रा दुवै घटनाको नैतिक जिम्मेवारी कार्यालय प्रमुखले लिनुपर्छ ।

महानगरीय प्रहरी वृत्त बौद्धमा समेत यस्ता कमजोरी रहेको औंल्याइएको छ । पक्राउ गरेर ल्याइएका थुनुवाको विवरण नभरिएको र जिम्मेवार अधिकृतले बेवास्ता गरेको जनाएको छ । वृत्त प्रमुख डीएसपी गोविन्दराम परियारलाई २१ दिनभित्र सुधार गर्न निर्देशन दिएको छ ।

थुनुवा कोठामा क्षमताभन्दा बढी थुनुवा राखेको छ । यस्तै थुनुवाले प्रयोग गर्दै आएको ट्वाइलेटको ढोका भत्किएर असुरक्षा बढेको जनाएको छ । थुनुवाको उपचार र खानपिनमा बेवास्ता भएको गुनासो आएको मार्सल टोलीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा ड्युटी अधिकृत कक्षमा राखिएको रजिस्टर अद्यावधिक नरहेको जनाएको छ ।

साँघुरो ठाउँका कारण थुनवा कक्षमा भीड बढी देखिएको जनाएको छ । गार्ड कमान्डर समयमा उपलब्ध नहुने गरेको जनाएको छ ।

कमलपोखरी प्रभागमा ड्युटी अधिकृतले दुरुस्त पोसाक नलगाएको जनाएको छ । 'पोसाक त लगाएका छैनन् नै ड्युटी अधिकृतलाई आफ्नो जिम्मेवारीसमेत बोध छैन,' आयुक्तको कार्यालयका एक अधिकृतले भने, 'राजधानीकै प्रहरी कार्यालय र कर्मचारी यस्ता भएपछि बाहिरबाट के अपेक्षा गर्ने ?' कमलपोखरीमा हिरासत व्यवस्थापन रजिस्टर राम्ररी नभरिएको तथा जिम्मेवार प्रहरी अधिकृतको हस्ताक्षरसमेत नभएको उल्लेख छ ।

प्रभाग प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतलाई सख्त चेतावनी दिंदै २ दिनभित्र सुधार गर्न निर्देशन दिएको छ । सिंहदरबार प्रभागमा पनि हिरासत कक्षमै लापरबाही भएको देखिएको छ ।

प्रभाग प्रमुख प्रहरी निरीक्षक वीरबहादुर बुढालाई चेतावनी दिंदै २ दिनभित्र सुधार गर्न निर्देशन दिइएको छ । सिंहदरबारले सुधार गरेर मंगलबार मात्रै आयुक्तको कार्यालयमा जानकारी

गराएको छ ।

ललितपुरका दुई प्रहरी प्रभाग सानेपा र पुल्चोकमा पनि यस्तै कमजोरी आंैल्याएको छ । प्रहरी प्रभाग बल्खुको गेटमा सेन्ट्री बस्ने प्रहरी कर्मचारी ब्यारेकमा बसेर मोबाइलमा कुरा गरिरहेको अवस्थामा मार्सल टोलीले फेला पारेको थियो ।

'गेटमा बसेर ड्युटी गर्नुपनेर् व्यक्ति ब्यारेकको ओछ्यानमा पल्टिएर मोबाइलमा कुरा गरिरहेका थिए,' ती अधिकृतले भने ।

प्रहरीको आचरणका बारेमा महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालले गल्ती देखिएका प्रहरी कार्यालयका प्रमुखलाई सुधार गर्न चेतावनी दिइएको बताए ।

'गल्ती देखिएका प्रहरी कार्यालयमा सुधार गर्न लिखित चेतावनी दिएका छांै,' उनले भने, 'सात दिनभित्र सुधार नगरेमा रेकर्डमा जनिने गरी कारबाही गर्छौं ।'

बाँकी रहेका परिसर, वृत्त र प्रभागमा निरीक्षण गरिंदै लैजाने एसएसपी नेपालले बताए । 'निरीक्षण गरिने कार्यालयका कर्मचारीले थाहा नपाउने गरी निरीक्षण हुन्छ,' उनले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks