
गंगा बीसी
काठमाडौ, माघ १२ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको नेतृत्वमा मात्र सहमतिको सरकार सम्भव भएको बताएका छन् । त्यसो नभए राष्ट्रिय स्वाधीनता पक्षधर नेता वा स्वतन्त्र व्यक्तित्वको नेतृत्वमा सरकार गठन गर्नु उपयुक्त हुने प्रस्ताव उनले राखेका छन् ।
'माओवादीको नेतृत्वमा मात्र सहमतिको सरकार बन्न सक्छ,' उनले मंगलबार नयाँबजार निवासमा संवाददाताहरूसँग भने, 'संविधान सभाको ठूलो पार्टी, शान्ति प्रक्रियाको अर्को पाटो र संविधानसभालगायत एजेन्डा बोकेको हुनाले माओवादीको नेतृत्वमा मात्र सहमतिको सरकार सम्भव छ ।'
उनले संसारकै लोकतन्त्रको मूल्यमान्यता भनेको ठूलो पार्टीको नेतृत्वमा मात्र सहमतिको सरकार बन्ने भएकाले त्यो सम्भव भएको उल्लेख गरे । 'माओवादीलाई बाइपास गरेर सहमतिको सरकार हुन सक्दैन,' उनको भनाइ थियो ।
दाहालले सहमतिको सरकार बने आफ्नै नेतृत्वमा हुने पनि जनाए । 'पार्टीमा सरकारको नेतृत्वबारे विवाद हुँदैन,' उनले भने, 'स्वतः संसदीय दलको नेताको नेतृत्वमा बन्छ ।'
उनले सरकार र शान्ति निर्माणबारे महत्त्वपूर्ण निर्णय लिन खोजिरहेको पनि खुलासा गरे । 'सरकार र शान्ति प्रक्रियाबारे मैले बोल्ड डिसिजन -ठूलो निर्णय) गर्ने सोचिरहेको छु,' उनले भने, 'ठूलो निर्णय हुने सम्भावना छ, पार्टीमा पनि छलफल भइरहेको छ ।'
सहमतीय सरकारबारे दलहरूसित गम्भीर छलफल भइरहेको जानकारी दिँदै उनले कांग्रेसले शान्ति र संविधान निर्माण प्रक्रियाबारे ठोस प्रस्ताव ल्याए माओवादीको नेतृत्वबारे सोच्न सकिने बताएको जानकारी दिए । 'हामीसँग कुरा हुँदा कांग्रेस नेताहरूले ठोस एजेन्डा भए सोच्न सकिन्छ भन्नुभएको छ । सकिँदैन भन्नुभयो भने सहमतिको सरकार बन्दैन', उनले भने ।
दाहालले बहुमतीय सरकारबारे निर्णय भइनसकेको उल्लेख गर्दै अन्य दलको नेतृत्वमा पनि माओवादी सरकारमा जान सक्ने बताए । 'अरू कसैको नेतृत्वको सरकारमा जान पनि सकिन्छ,' उनले भने, 'दुई विकल्पबारे पार्टीमा छलफल चलेको छ । एउटा हाम्रो अनुकूल- राष्ट्रिय स्वाधीनता, परिवर्तनको एजेन्डा नजिक भएकाको नेतृत्व । दोस्रो- कोही स्वतन्त्र नागरिकको नेतृत्वको सरकारमा सबै पार्टी जाने । तर सहमतिको सरकार बनाउनमै जोड दिनुपर्छ ।'
कांग्रेस र एमाले माओवादीलाई नेतृत्व दिन लचक भएकाले सहमतीय सरकार बनाउन पाँच दिन थपिएको उनले उल्लेख गरे । 'तीन पार्टीमध्ये कसैको नेतृत्वमा सरकार गठन गर्न तयार छौं भनेर सहमति गरौं भन्यौं,' दाहालले भने, 'माओवादीलाई नेतृत्व नदिने भए सहमति हुन सक्दैन, समय बर्बाद नगरौं, बहुमतीय जाऔं भनेका थियौं । त्यसपछि कांग्रेस, एमालेको छुट्टाछुट्टै बैठक बसेर उनीहरूले माओवादीको नेतृत्वमा सरकार मान्न सक्छौं भनेपछि पाँच दिन थपिएको हो ।'
अन्य दलको बहुमतीय सरकारको नेतृत्वमा पार्टी नजाने उपाध्यक्ष बाबुराम भट्टराईको भनाइ केन्द्रीय समिति बैठकले सच्याएको पनि उनले जानकारी दिए । एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने सम्बन्धमा सोधिएको प्रश्नमा उनले अघिल्लो निर्वाचनमा दिएको समर्थन त्यतिबेलै सकिएको स्पष्ट गरे ।
'दुई तिहाई जुटाउन समर्थन दिएका थियौं,' उनले भने, 'त्यो त्यतिबेलाका लागि थियो । हामीले ब्ल्यांक चेक -खाली चेक) सही गरेको होइन ।' उनले आफू र खनालबीच धेरै चरणमा कुरा भएको खुलासा गर्दै समर्थन गर्नु परे सत्ता साझेदारी, शान्ति, संविधानलगायत विषयमा ससर्त हुने बताए ।
'झलनाथजीसँग अलि बढी कुराकानी भएको छ,' उनले भने, 'त्यो एउटा विकल्प हुन सक्छ तर त्यस्तो समर्थन सत्ता साझेदारी, शान्ति, संविधानजस्ता विषयमा ससर्त हुन्छ ।' उनले आफू र खनालले भारतले नरुचाएको सरकार बनाउन लागेको भन्ने आरोप सत्य नभएको उल्लेख गरे ।
'सामान्यतया एजेन्डाअनुसार कोसँग मिल्दा बढी हित हुन्छ, परिवर्तनलाई संस्थागत गर्न सकिन्छ भन्ने तर्क चल्छ,' उनले भने, 'झलनाथजीसँग मात्र होइन, कांग्रेसका साथीहरूसँग पनि तर्क चल्छ ।'
उनले लडाकु विशेष समिति मातहत ल्याएको घोषणा गरे पनि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारकै बेला त्यो आइसकेको तर्क गरे । उनले लडाकु र नेपाली सेनाको समायोजन नभएसम्म लडाकु कमान्डरको कमान्डमा हुने बताए । 'हामी शान्ति प्रक्रियामा जनमुक्ति सेना माओवादीसँगै राख्न भनेर आएको होइन,' उनले भने, 'जनमुक्ति सेनासहित नयाँ राष्ट्रिय शक्ति बनाउन भनेर आएको हो ।'
उनले माओवादीविरुद्ध 'षड्यन्त्र' भइरहेको बताए । 'माआवादीविरुद्ध ठूलो अभियान धेरै माथिबाट चलेको छ,' उनको भनाइ थियो, 'माओवादी कमजोर हुनु भनेको शान्ति र संविधान कमजोर हुनु हो ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks