Loving nepal news

Tuesday, January 11, 2011

न्यायको खोजी गर्दागर्दै परिवारै अलपत्र


जितेन्द्र साह

काठमाडौ, पुस २८ - तीन वर्षअघि कान्छो छोराको हत्यामा संलग्नलाई कारबाही गराउन सपरिवार राजधानी आएकी ५० वर्षीया गंगामाया अधिकारी अलपत्र परेकी छन् । सहाराविहीन गंगामायालाई तीन महिनाअघि प्रहरीले राजधानीको सोल्टीमोडस्थित एक घरमा राखिदिएको छ । उनका पति र जेठो छोराको ठेगान छैन ।

पति र छोराको वास्तविक स्थिति थाहा नहुँदा उनी डरले सार्वजनिक स्थलमा हिँडडुल समेत गर्दिनन् । गोरखा फुजेल-७, चमतीकी अधिकारीका कान्छा छोरा कृष्णप्रसादलाई ६ वर्षअघि माओवादीले हत्या गरेको थियो । चितवनको जयमंगलामा आफन्तलाई भेट्न जाँदा टाँडीको बकुल्ला नहरमा माओवादीले छोराको हत्या गरेको उनले बताइन् ।

'एसएलसीको परिणाम आउनु ६ दिनअगावै उसको हत्या भयो,' उनले भनिन्, 'ऊ प्रथम श्रेणीमा उत्तीर्ण भएको थियो ।' छोरालाई मार्ने योजनामा संलग्न भएको अभियोगमा ११ जनाविरुद्ध गोरखा प्रहरी कार्यालयमा किटानी जाहेरी दिँदासमेत सुनुवाइ नभएपछि न्यायको खोजी गर्न तीन वर्षअघि ५५ वर्षीय पति नन्दप्रसाद र जेठा छोरा नुरप्रसादसँग काठमाडौं आएकी हुन् । स्नातक उत्तीर्ण नुरप्रसाद पोखराको हिमचुली एफएममा कार्यरत थिए ।

दोषीलाई कारबाही गराउन गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र सबै प्रमुख दलका नेतृत्वकोमा धाउँदाधाउँदै खर्च सकिएर अधिकारी परिवार सडकमा आइपुग्यो । सुरुमा बालाजुमा डेरा लिएर बसेको अधिकारी परिवारले ९ लाख रुपैयाँ ऋण तिर्न सकेन । 'रकम तिर्न नसकेर डेराबाट निकालिएपछि कलंकीको एक गेस्ट हाउसमा हामीले केही दिन शरण लियौं,' उनले भनिन्, 'सहयोगीले दिएको करिब ६ हजार रुपैयाँ सकियो, त्यहाँ पनि २० हजार रुपैयाँ जति ऋण भएपछि रकम खोज्न हिँडेका श्रीमान् र छोरासमेत फर्केनन् ।' गेस्ट हाउस मालिकले गंगामायालाई प्रहरीमा बुुझाएका हुन् ।

उता गोरखामा जमिन बाँझै रहेको उनले बताइन् । घरखेतीको हेरचाहका लागि पठाएका भाइलाई समेत माओवादीले ज्यान मार्ने धम्की दिँदै लखेटेकाले आफ्नो परिवार गाउँ र्फकन नसकेको उनले सुनाइन् । 'हेरचाह अभावमा मरेका घरका १२ पशुलाई पुर्ने कामसमेत प्रहरीले गर्‍यो,' उनले भनिन् । गंगामायाकी बुहारी र नाति गोरखा पन्दुङमा माइतीको शरणमा छन् । हत्यामा संलग्नविरुद्ध किटानी जाहेरी दिएको ६ वर्ष बितिसक्दा पनि कोही पक्राउ नपर्दा गंगामाया दुःखी छिन् । 'सरकारले आफैं अपराधी खोज्नुपर्ने हो, तर तोकेर नाम दिँदासमेत कारबाही भएन,' उनले दुखेसो पोखिन् । छोराको हत्या गर्नेहरू अझै गाउँमै घुमिरहेको उनले बताइन् ।

'गृह मन्त्रालयमा हाम्रो मुद्दाको फाइल छ, गृहमन्त्रीलाई भेट्न खोज्दा बाहिरबाटै धपाउँछन्,' उनले भनिन्, 'सहयोगको त के आस गर्नु ?' गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले सशस्त्र द्वन्द्वमा भएका थुप्रै गम्भीर घटनाको टुंगो शान्ति आयोग गठनपछि मात्र लाग्ने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks