
कान्तिपुर संवाददाता
काठमाडौ, माघ ५ - कांग्रेस सभापति सुशील कोइरालाले माओवादीको लिखित समर्थन ल्याएमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने वचन शेरबहादुर देउवालाई दिएका छन् । उनले माओवादीलाई मौखिक आश्वासनमा मात्रै विश्वास नगर्न देउवालाई सचेत पनि गराए ।
देउवाले सभापति कोइरालासँगको भेटमा आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादी र एमाले सकारात्मक रहेको भन्दै पार्टीले आफूलाई उम्मेदवार घोषित गर्न आग्रह गरेपछि कोइरालाले लिखित समर्थन ल्याउन भनेका हुन् ।
'त्यसो भए माओवादीको लिखित पत्र ल्याउनोस्,' कोइरालाको भनाइ उद्धृत गर्दै एक कांग्रेस नेताले भने, 'रामचन्द्रजीसँग पनि कुरा गर्नुहोस्, तपाईं प्रधानमन्त्री बन्दा मलाई के आपत्ति भयो र ? मेरो कुनै रिजर्भेसन छैन ।'
कोइरालाको भेटपछि उत्साही भएका देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालसँग भेट्न खोजेको स्रोतले बतायो ।
देउवाले पार्टीलाई भावनात्मक रूपमा एकताबद्ध बनाउन पनि आफूलाई सहयोग गर्न कोइरालासँग आग्रह गरेका थिए । आफूले सहयोग पाएमा पदाधिकारी विवादसमेत सहजै समाधान हुने आश्वासन उनले कोइरालालाई दिएका छन् । कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्ने प्रस्ताव देउवा पक्षीय सदस्यहरूको विरोधका कारण अनुमोदन हुन सकेको छैन ।
पदाधिकारी मनोनयन विवादमा सहयोग नगरेका कारण चिढिएका कोइराला पछिल्लोपटक देउवाप्रति लचिलो देखिएका हुन् । उनले यसअघि नयाँ प्रक्रियामा पनि पौडेल उम्मेदवार बन्ने र माओवादी या एमालेको सहयोग नभएमा पार्टी प्रतिपक्षमा बस्नुपर्ने धारणा राख्दै आएका थिए ।
देउवाले पौडेलसँग पनि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले १६ औं पटकसम्म अवसर दिएको बताउँदै अब आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
आफ्नो पक्षमा सहयोग खोज्न बूढानीलकण्ठ, देउवा निवास पुगेका पौडेललाई उल्टै देउवाले सहयोग मागेका थिए ।
कोइराला पक्षीयले भने संसदीय दलको नेताको हैसियतले पौडेल उम्मेदवार हुनुपर्ने बताएका छन् । देउवा पक्षीयले भने अन्य दलको समर्थनमा सरकारको नेतृत्व गर्दा संसदीय दलको नेता हुनु आवश्यक नरहेको तर्क अघि सारेका छन् । माधवकुमार नेपाल बहुमत सदस्यहरूबाट प्रधानमन्त्री बनेको, पौडेललाई यसअघि पार्टी केन्द्रीय कार्यसमितिले उम्मेदवार बनाएको र फिर्ता गर्ने निर्णयसमेत पार्टीले गरेको जस्ता तर्क अघि सार्दै पार्टीको निर्णयबाट देउवा उम्मेदवार बन्न सक्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीले नेतृत्व लिने सम्भावना रहँदासम्म प्रतिपक्षमा बस्ने निर्णय गर्न नहुने बताए । 'पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था सिर्जना भएमा हरेक विकल्पमा छलफल हुनुपर्छ,' उनले भने । कांग्रेस केन्द्रीय सदस्य एवं ऊर्जामन्त्री प्रकाशशरण महतले पनि देउवाको नेतृत्व मान्न माओवादी र एमाले तयार देखिएको दाबी गरे । पार्टीभित्र संसदीय दलका नेता रामचन्द्र पौडेल कि शेरबहादुर देउवा भन्ने विवाद भइरहेका बेला महतले माओवादी र एमालेबाट देउवा नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारका लागि 'हरियो संकेत' आएको दाबी गरे ।
कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था सिर्जना भएकाले पौडेलको विकल्पमा देउवालाई अघि बढाउन गृहकार्य सुरु भइसकेको महतले बताए । 'माओवादी र एमालेले समर्थन गर्ने संकेत दिइसकेकाले देउवाको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र छलफल चलिरहेको छ,' मंगलबार एक कार्यक्रममा महतले भने, 'माओवादी र एमालेसमेत देउवा नेतृत्वमा सरकार बनाउन तयार छन् ।'
उनले अन्य दलको सहयोगमा प्रधानमन्त्री बन्न संसदीय दलकै नेता आवश्यक नहुने बताए । 'हिजो पौडेललाई पनि पार्टीको निर्णयले उम्मेदवार बनाएको हो,' उनले भने, 'देउवालाई बनाउँदा पनि पार्टीले बनाउने हो ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks