
कान्तिपुर संवाददाता
काठमाडौ, पुस २६ - मुलुकको तराई क्षेत्रमा करिव एक सातादेखि चिसो ह्वात्तै बढेको छ । चिसोले गर्दा जनजीवन प्रभावित बनेको छ । चिसोमा आवश्यक न्यानोको अभावमा हालसम्म दुई दर्जनले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा दुधेबालकसिहत बालबच्चा र बृद्धबृद्धाको संख्या अत्याधिक रहेको छ । स्कुलहरु बन्द भएको छ । हुस्सु लागेका कारण यातायातका साधनहरु दिउँसै बत्तिबाल्न बाध्य छन् ।
सर्लाहीस्थित संवाददाता अमन कोइरालाका अनुसार शितलहरका कारण बढेको अत्यधिक चिसोले सोमबार थप एक बालिका सहित तीनजनाको मृत्यु भएको छ । चारदिन यता चिसोका कारण आठ जनाको मृत्यु भइसकेको छ ।
प्रहरीका अनुसार हरिपुर गाबिस-४ की फुलकुमारीदेवी, नेत्रगंज गाबिस-५ का अमरबहादुर सार्की र पर्सा गाविस-६ की ४ बर्षीया बालिका गिताकुमारी साहको जाडोका कारण मृत्यु भएको हो । यसअघि चिसोकै कारण ५ जनाको मृत्यु भइसकेको छ ।
अघिल्लो दिनसम्म सद्दे अबस्थामा रहेका फुलकुमारी र अमरबहादुरको चिसोका कारण घरमै मृत्यु भएको थियो । बालिका गितालाई भने चिसोका कारण निमोनिया भएको र सोही ब्यथाले मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य दिन भन्दा सोमबार जाडो बढेको छ । बिहानैदेखि हुस्सु लाग्नुका साथै पानी परेजस्तै लगातार शित खसेको छ । मध्यान्हपछि चिसो स्याँठ समेत चलेपछि जाडोले जनजीवन नराम्रोसंग प्रभाबित भएको थियो ।
चिसोका कारण राजमार्गमा सार्वजनिक र निजी सवारी समेत कम गुडेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जाडो बढेपछि जिल्ला प्रहरी कार्यालयले सदरमुकाम मलंगवामा १२ ठाउँमा आगो बालेर ताप्ने ब्यबस्था मिलाएको छ ।
प्रहरी उपरीक्षक पूर्ण चन्द्र जोशीले मातहत सम्पूर्ण इकाईले आफ्नो क्षेत्रमा आगो ताप्ने ब्यबस्था मिलाएको बताए । 'जिल्ला वन कार्यालयले आगो ताप्न दाउराको ब्यबस्था गरेको छ,' जोशीले भने, 'हामीले जिल्लाका सबैजसो गाउँका सार्वजनिक स्थानमा काठ बितरण गरेर आगो ताप्ने ब्यबस्था गरेका छौं ।'
अत्यधिक चिसोले मर्नेको संख्या बढेपछि सार्वजनिक स्थानमा आगो बालेर ताप्ने ब्यबस्था मिलाइएको हो ।
इनरुवास्थित संवाददाता अबधेशकुमार झाका अनुसार चिसो अत्यधिक बढदै जाँदा सुनसरी जिल्लाका सबै शिक्षण संस्थाहरु सोमबारदेखि बन्द गरिएको छ । सोमबार भएको जिल्ला शिक्षा समितिको बैठकले शिक्षण सस्थाहरु आगामी शुक्रवार सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
समितिका अध्यक्ष स्थानीय बिकास अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । शिक्षा समितिको उक्त निर्णयबाट जिल्लामा रहेका तीनसय ९६ सामुदायिक बिधालय, दुईसय ४२ निजी बिद्यालय, छ सय ४८ वाल बिकास केन्द्र, ८३ मदरसा, ६ गुरुकुल चार गुम्बा १ खुल्ला बिद्यालय, सामयिक स्रोत केन्द्र एक र सामुदायिक अध्यन केन्द्र एक गरि कुल एक हजार तीनसय ९५ शिक्षण सस्था बन्द भएका छन् ।
यसैबीच अत्यधिक चिसो बढेपछि जिल्ला बिकास समिति सुनसरीले माईकिग गरि तातो भएर बस्न र तातो पानी मात्र खान जिल्लावासीहरुमा अनुरोध गरेको छ । सदरमुकाम इनरुवामा भने नगरपालिका कार्यालयले बिभिन्न ६ ठाउँमा आगो ताप्ने ब्यबस्था मिलाएको नगरपालिकाका इन्जिनियर इन्द्रानन्द साहले जानकारी दिए । अत्यधिक जाडो बढदै गएपछि वजारमा मानिसहरुको चहल पहल कम भएको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिती न्युन देखिएको छ । दैनिक मजदुरी गरेर जिबिकोपार्जन गर्नेहरुलाइ चिसोले निकै सताएको छ ।
बारास्थित संवाददाता पवन यादवले पनि जाडो र बाक्लो कुहिरोको कारण विगत एक सता देखि जिल्लाको जनजिवन निरन्तर प्रभावित हुँदै आएको उल्लेख गरेका छन् ।
सरकारी तथा निजी विद्यालयहरुमा जाडो विदा दिईएको छ । जाडोको कारण सर्वसाधारण घरबाट बाहिर निस्कन सक्ने अवस्थामा रहेको छैन ।
कलैयाको कपडा पसलमा कपडाको विक्री बढेको छ । यसैगरी अझै १० दिन यसरी शितलहर जारी रहे तरकारी खेती प्रभावित हुने जिल्ला कृषि विकास कार्यालय बाराले जनाएको छ ।
बर्दियाबाट संवाददाता कमल पन्थीले जनाए अनुसार दुई साता यता अत्याधिक चिसो र शितलहरका कारण बर्दियाको जनजिवन झन कष्टकर बन्दै गएको छ । शितलहर र चिसोलाई मध्यनजर राख्दै नगरपालिकालाई चोक चोकमा आगो बाल्न दाउरा वितरण गरेको छ ।
नगरपालिकाका अधिकृत मुकुन्द रिजालका अनुसार १६ क्विण्टल दाउरा सोमवार वितरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले कारागारमा रहेका बन्दीलाई चिसोबाट बच्न दाउरा वितरण गरिएको बताए ।
चिसो हावासंगै शितलहर चलेकोले भुमीहिन तथा मुक्तकमैया बस्ती अत्याधिक प्रभावित भएका छन् । मुक्तकमैया बस्तीमा वालवालिका र बृद्ध सबै भन्दा बढी प्रभावित बन्दै गएको मुक्तकमैया समाजले जनाएको छ । चिसोका कारण हाल सम्म दुई जनाको मृत्यु भईसकेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks