Loving nepal news

Tuesday, January 4, 2011

वीर अस्पतालको व्यथा/सिफारिस विज्ञकोमा, उपचार विद्यार्थीद्वारै


अतुल मिश्र

काठमाडौ, पुस २१ - जिल्लाका विशेषज्ञ चिकित्सकबाट उपचार हुन नसकेर वीर अस्पताल सिफारिस गरिएका अधिकांश बिरामी विद्यार्थी चिकित्सकमै भर पर्न बाध्य छन् । अझ विज्ञ चिकित्सकबाट उपचार गराउन सिफारिस भएका उनीहरू स्नातकोत्तर विद्यार्थी चिकित्सकबाट पो सेवा लिइरहेका छन् ।

वीरगन्जबाट हाड जोर्नी समस्या भएका श्याम नारायणका आफन्तले यस्तै समस्या झेले । उनका आफन्तलाई जिल्लाको विशेषज्ञ चिकित्सकले वीरमा सिफारिस गरे । तर वीरमा भने उपत्यका बाहिरका हाडजोर्नी विशेषज्ञले सिफारिस गरेका 'केस' स्नातकोत्तर प्रथम वर्षका चिकित्सकले हेर्ने गरेका कारण श्याम नारायणले ऋण लिएरै आफन्तलाई निजी क्षेत्रमा उपचार गराई घर फर्किए । 'यसमा पनि एक सातासम्म अस्पताल धाउनु पर्‍यो,' उनले भने, 'वाक्क भएर भनसुन गराई चिनेका चिकित्सकको माध्यमले उपचार गराएँ ।'

'एमडी गरेर १०/१५ वर्ष काम गरेकालाई देखाएर वीर रेफर गरिएकाहरू यहाँ एमडीका विद्यार्थीहरूसँगै देखाउन बाध्य हुन्छन्,' अस्पतालका फिजिसियन डा. भूपेन्द्र बस्नेतले भने, 'रेफर गरेका विशेषज्ञभन्दा विरष्ठले यहाँ हेर्नुपर्ने हो । तर वर्षौ पुरानो अस्पतालले अझै त्यो सुविधा दिन सकेको छैन ।'

वीरले उच्च विशेषज्ञ देवा दिनुपर्नेमा 'सुपर स्पेसियालिटी' मा एक, दुई जनाभन्दा बढी जनशक्ति नरहेको उल्लेख गर्दै डा. बस्नेतले भने, 'यस्तो परिस्थितिमा जति सोचे पनि गुणस्तरीय सेवा दिन सकिन्न ।'

अस्पतालको बहिरंग विभाग र इमर्जेन्सीमा गरी दैनिक हजारभन्दा बढी बिरामी आउने गरेका छन् । सोमबार मात्रै इमर्जेन्सीमा ८७ पुरुष र ४४ महिला गरी एक सय ३१ जना सेवा लिएका थिए भने बहिरंगमा एक हजार ७७ जना उपचारका लागि पुगे । अस्पतालको मेडिकल र हाडजोर्नी विभागमा सबैभन्दा बढी बिरामी पुग्ने गरेका छन् ।

'विशेषज्ञ सेवा दिने (टर्सरी) स्तरको अस्पताल चलाउन उपयुक्त जनशक्ति धेरै कमी छ,' उनले भने ।

अस्पतालका निर्देशक डा. बुलन्द थापाले बाहिरबाट विशेषज्ञको सल्लाहमा उपचार गराउन रेफर गरिएका 'केस' हरू एमडीका विद्यार्थीले हेर्ने गरेको स्वीकार गरे । 'अन्यत्रबाट रेफर गरिए पनि विशेषज्ञ पाउन गाह्रो छ, अहिले स्पष्ट त्रुटि भइरहेको छ,' डा. थापाले भने, 'रेफर गरिएकालाई मेडिकल अफिसरले हेर्ने होइन कम्तीमा कन्सल्टेन्टले हेर्नुपर्ने हो ।' यस विषयमा विभागीय प्रमुखहरूलाई समेत लिखित जानकारी दिएको उनले बताए ।

पाँच सय चार शय्याको वीरमा सरकार र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का तर्फबाट छुट्टाछुट्टै चिकित्सकहरू छन् । सरकारको तर्फका १ सय २० चिकित्सक र १ सय ६१ नर्समध्ये ९८ चिकित्सक र १ सय १६ नर्समात्र छन् । नाम्सअन्तर्गत ५० चिकित्सक र १ सय २४ नर्स हुनुपर्नेमा ४२ चिकित्सक र १ सय १ नर्स कार्यरत छन् ।

अस्पतालले वर्तमान दरबन्दी मुलुकको जनसंख्यालाई लक्षित गरी कायम नगरिएको जनाएको छ । 'अधिकांश दरबन्दी एक करोडलाई लक्षित पारी तयार गरिएको हो, हाल करिब तीन करोड जनसंख्या छ,' डा. थापाले भने, 'जनसंख्याअनुसार वैज्ञानिक दरबन्दी व्यवस्था गरिए मुलुक अर्कै हुने थियो । चिकित्सक, नर्स, क्लिनर, हेल्परलगायतका जनशक्तिको कहिले पदपूर्ति हँुदैन म कसरी अस्पताल चलाउने । यसो हुनमा मन्त्रालय र नाम्स पनि जिम्मेवार छन् ।'

जनशक्तिको कमीभन्दा पनि विशेषज्ञहरू अस्पताल पुग्नै नचाहने प्रवृत्तिले पनि उपचार सेवा प्रभावित भएको स्रोतले बतायो । 'बिहान ९ बजे आएर काम गर्नुपर्नेमा धेरै जसोमा इमान्दारीको अभाव देखिएको छ । निर्धारित समयमा चिकित्सक आउँदैनन् । भद्रगोलको स्थिति छ, राजनीतिक हस्तक्षेप चरम छ,' स्रोतले भन्यो । 'यो जस्तो केन्द्र हो त्यसअनुरूपको सोच हुन सकेको छैन । स्रोतको कमी छ,' अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. ध्रुव सिंहले भने, 'नाम्सले अझैसम्म आफ्नो आकार लिन सकेको छैन ।'

बिनाकुनै गृहकार्य हतारमा नाम्स खोलिएकाले यस्तो स्थिति सिर्जना भएको कतिपय चिकित्सकको भनाइ छ ।

बर्सेनि अढाई करोडको निःशुल्क उपचार गत वर्ष अढाई करोड रुपैयाँको निःशुल्क उपचार गरेको अस्पतालले जनायो । वीरले महिनामा २२ लाख निःशुल्क उपचारमा खर्च गर्छ । अस्पतालमा १५ वर्षमुनि ७५ वर्ष माथिका, जनआन्दोलन घाइते, जनमुक्ति सेनाले निःशुल्क उपचार पाउँछन् । उपत्यकाका बेबारिसलाई पनि प्रहरीले वीर नै पुर्‍याउने गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks