Loving nepal news

Tuesday, January 18, 2011

सुपरहिरो फिल्म खेल्दिनँ


कान्तिपुर संवाददाता

लस एन्जल्स (एजेन्सी), माघ ४ - ब्याट्म्यान, स्पाइडरम्यान, सुपरम्यान, आइरनम्यान जस्ता सुपरहिरोको भूमिका गर्न अभिनेताहरू तँछाडमछाड गर्नु नौलो होइन । उनीहरूझै यस्ता फिल्ममा सुपरहिरोसँग अनस्क्रिन रोमान्स गर्न नायिकाहरूको लाइन नै लाग्छ । तर, 'लिगल्ली ब्लोन्ड' नायिका रिज विदरस्पुनलाई भने कुनै सुपरहिरो फिल्ममा देखा पर्न मन छैन ।

दुई दशक लामो फिल्म करिअरमा कुनै पनि सुपरहिरो फिल्ममा अभिनय नगरेकी रिजले यस्ता फिल्ममा उनको उमेरकालाई सुहाउने रोल नभएको बताइन् । 'अहिले बनाइएका यो विधाका फिल्मले धेरै फरक अनुभव दिन्छन् । रोबोट र भविष्यमा आधारित महाप्रलयात्मक विषयमा हुन्छन्,' ३४ वर्षीया नायिकाले भनिन्, 'फेरि यी फिल्ममा मेरो उमेरकाले ठाउँ पनि पाउँदैनन् ।' अवसर आइहाले पनि यस्ता फिल्म खेल्ने चासो नभएको नायिकाले थपिन् ।

नायक रायन फिलिपसँगको पूर्वविवाहबाट जन्मेका दुई सन्तानले फिल्ममा काम नगरेको समय व्यस्त राख्ने गरेको रिजले बताइन् । 'उनीहरू धेरै छिटो हुर्किराखेका छन् । धेरैजसो समय उनीहरूलाई सम्हाल्न प्रयास गर्दै मेरा छुट्टीका दिन बित्छन्,' अमेरिकी नायिकाले भनिन् ।

हलिउड पावर-कपल ब्राड पिट र एन्जेलिना जोलीले एक्सनपूर्ण सुपरहिरो किसिमका फिल्म खेल्नुमा उनीहरूको ६ सन्तानको कारण बताउँछन् । त्यसको ठीक उल्टो, रिजले भने यस्ता सुपरहिरो फिल्ममा खेल्न नचाहनुको पछि सन्तानकै रोजाइ नभएको बताइन् । उनको रोजाइ र कामबाट सन्तानहरू प्रभावित नभएको र नहुने उनले थपिन् । अझ, उनले एक अन्तर्वार्तामा ११ वर्षीया छोरी आभा उनको धेरैजसो काम मन नपराउने बताएकी छन् । 'मैले गर्ने धेरैजसो काम आभालाई मन पर्दैन,' भनिन्, 'मेरो कामदेखि अप्रभावित उसले बेलाबेलामा असजिलोसमेत अनुभव गर्छे ।'

ओस्कार अवार्ड विजयी नायिका रिजले हलिउड एजेन्ट जिम रोथसँग इङ्गेजमेन्ट गरेको महिना दिन बितेको छैन । इङ्गेजमेन्टको खुसीयाली अझै मनाइरहेकी उनको पछिल्लो रोमान्टिक कमेडी फिल्म 'हाउ डु यु नो' जनवरीको अन्तिम साता बेलायतमा रिलिज हुँदै छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks