
मनोज बस्नेत
काभ्रे, पुस २३ - सरकारले बनाइदिएको सडक आफ्नो कब्जामा राखेर मनोमानी तथा उपभोक्तालाई सास्ती दिँदै आएका काभ्रेका बस व्यवसायीले सिन्डिकेटको विरोध गर्ने दुई बस बिहीबार तोडफोड गरेका छन् ।
अघोषित रूपमा लागू गरेको सिन्डिकेट उल्लंघन गरेको भन्दै उदयपुरको कटारी-घुर्मीबाट काठमाडौं गइरहेका दुई यात्रुबस तोडफोड गरेका हुन् । काभ्रे व्यवासयी सम्बद्ध व्यक्तिले बा२ख ५७८५ नम्बरको कुसुम यातायात र ना४ख ३४५७ नम्बरको सुनकोसी एक्सप्रेसका बस धुलिखेलको बसपार्कमा नियन्त्रण लिई तोडफोड गरेका हुन् । तोडफोडबाट कुसुम बसको अगाडिको सिसा पूर्ण रूपमा क्षतिग्रत भएको छ । तोडफोड गरिएको बस जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
सिन्धुलीलगायत विभिन्न पाँच जिल्लाबाट काठमाडौं आउन/जान बिपी राजमार्ग सोझो र भाडा सस्तो पर्ने भएपछि व्यवसायीले सिन्धुलीबाट गाडी चलाउन थालेका हुन् । चार महिनादेखि बिपी राजमार्गमा बस सञ्चालन गर्ने विषयलाई लिएर काभ्रे र सिन्धुलीका बस व्यवसायीबीच छलफल भएको थियो । छलफल टुंगोमा नपुगेपछि सिन्धुलीका व्यवसायीले बस चलाउन थालेका थिए ।
विवाद र झडपले यात्रु आतंकित बनेका छन् । 'विवादले गर्दा कहाँ पुगेपछि आक्रमण हुने हो भन्ने मनमा डर लागिरहेको थियो,' सिन्धुलीबाट आएकी बबिता कार्कीले गुनासो गरिन्, 'धुलिखेलमा एकाएक व्यवसायीको आक्रमणमा पर्नुपर्यो ।' बिपी राजमार्गको रुट छिटो पर्ने भएकाले आएको उनले बताइन् । उदयपुरको कटारीबाट काठमाडौं आउन अर्को मार्ग प्रयोग गर्दा ३ सय ८७ किलोमिटर छ । बिपी राजमार्गबाट १ सय २५ किलोमिटर पर्छ ।
काभ्रेका व्यवसायीले भने वार्ताका बहानामा गाडी चलाउन पाउने अधिकार रोक्न खोजेका छन् । 'काभ्रेका व्यवसायी र सिन्धुलीको घुर्मीका मध्यपहाडी यातायात सेवा समितिबीच वार्ता चल्दै छ,' काभ्रे मिनी बस सेवा समितिका अध्यक्ष सुरकृष्ण बैधले कान्तिपुरसँग भने, 'वार्ता सम्पन्न नभएसम्म दुवैतर्फबाट सञ्चालन नगर्ने सहमति भएको थियो । सहमतिविपरीत गाडी सञ्चालन गरेपछि चेतावनी दिँदा नछोडेपछि बस तोडफोड भएको हो ।'
राजमार्गमा कुनै संस्थाको अनुमति लिएर गाडी सञ्चालन गर्नुपर्ने प्रावधान नभएको व्यवस्थामा लगातार बस सञ्चालनमा अवरोध र तोडफोड गरिँदा आफ्नो अधिकार हनन भएको सिन्धुलीका व्यवसायीहरूले बताएका छन् । 'बिपी राजमार्ग कुनै संस्था वा व्यक्तिले बनाएको होइन, त्यसैले त्यसको प्रयोग गर्न पाउनु सबै व्यवसायीको अधिकार हो,' सिन्धुली यातायात व्यवसायी सेवा समितिका अध्यक्ष दिनेश बस्नेतले भने, 'सरकारलाई दातृ संस्थाले राजमार्ग हस्तान्तरण नगरेकाले कसैलाई सवारी इजाजत पत्र दिएको छैन । यस्तो अवस्थामा अरूले चलाउन पाउने, हामीले किन नपाउने ?'
यातायात व्यवसायी महासंघका अध्यक्ष दिनेश भण्डारीले आफूअन्तर्गतको समितिबीचको विवाद समाधानका लागि छलफल गर्ने बताए । राजमार्गमा कुनै अवरोधबिना गाडी चलाउन पाउने व्यवस्था रहेको भन्दै उनले त्यसका लागि महासंघले पहल गर्ने बताए ।
सरकारले सिन्डिकेट प्रथा अन्त्य गरिसकेको अवस्थामा बस तोडफोड गरिनु कानुन विपरीत भएको हुँदा तोडफोड गर्नेलाई कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी सुधीरकुमार शाहले बताए । 'बस तोडफोड गर्नेलाई कारबाही गर्छु,' उनले भने 'व्यवसायीले आवश्यक सुरक्षा मागे प्रशासनले सुरक्षा दिन्छ ।'
समितिका अध्यक्ष बस्नेतका अनुसार काभ्रेका व्यवसायीले बनेपालाई केन्द्रविन्दु बनाएर मात्र बस सञ्चालन गर्न पाउने बताएका छन् । 'हामी काठमाडौंलाई केन्द्रविन्दु बनाउनुपर्ने पक्षमा छौं,' उनले भने, 'काभ्रेका व्यवसायीको ज्यादती बढ्यो । हाम्रो बस तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै स्थानीय प्रशासनमा सुरक्षा माग्छौं । जस्तोसुकै अवस्था आए पनि हामी बस चलाउन छोड्दैनौं ।'
वार्ता सफल नभएपछि सिन्धुलीका व्यवसायीले शनिबारदेखि काठमाडौंका लागि गाडी चलाउन सुरु गरेका थिए । शनिबार र आइतबार कुनै अवरोधबिना गाडी सञ्चालन भए । सोमबारदेखि बनेपा कट्न नदिने भन्दै त्यहाँका व्यवसायीले लगातार अवरोध पुर्याइरहेका छन् । सिन्धुलीबाट आएका ना२ख ३९९६, ना४ख ३४५७, बा२ख ७९५३, ७२५७ र बा२ख ५७८५ नम्बरका बस काभ्रेका व्यवसायीले नियन्त्रणमा लिइसकेका छन् ।
काभ्रेका व्यवसायीले सिन्धुलीका व्यवसायीबाट पनि त्यस्तै भएको आरोप लगाएका छन् । हिमाल तराई यातायात सेवा समितिका कोषाध्यक्ष कृष्णचन्द्र पलाञ्चोकेका अनुसार डेढ महिनाअघि काभ्रेको बस घुर्मी जाँदा त्यहाँका व्यवसायीले नियन्त्रणमा लिएका थिए ।
उद्योग व्यापारको चाबी बुझाएर धर्नामा
कान्तिपुर संवाददाता
धनगढी- ट्रक व्यवसायीको सिन्डिकेट खारेजीको माग राख्दै जिल्लाका उद्योगी व्यापारी अनिश्चितकालीन धर्नामा बसेका छन् ।
कैलाली उद्योग वाणिज्य संघको आह्वानमा व्यवसायी आआफ्ना उद्योग/व्यापार बन्द गरेर आन्दोलनसहित प्रशासनअघिल्तिर अनिश्चितकालीन धर्नामा उत्रेका हुन् । ट्रकको सिन्डिकेटले प्रत्यक्ष रूपमा उद्योगी व्यवसायी र अप्रत्यक्ष रूपमा उपभोक्ता मारमा परेको भन्दै संघले आन्दोलन घोषणा गरेको हो ।
पुस १६ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएर आन्दोलन सुरु गरेका थिए । पुस १८ गते जिल्लाका उद्योगी व्यवसायीले आआफ्ना उद्योग/व्यापारको चाबी प्रजिअ नारायणप्रसाद बिडारीलाई बुझाएका छन् । सिन्डिकेट खारेज नभएसम्म चाबी नलिने र उद्योग सञ्चालन गर्न नसकिने बताउँछन् । संघका अध्यक्ष दिनेश भण्डारीका अनुसार १ सय ५० उद्योगका चाबी प्रजिअलाई बुझाइएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks