
अब्दुल्लाह मियाँ
काठमाडौ, माघ १६ - संवैधानिक समितिले नयाँ संविधानको मस्यौदा लेखनअघि बढाउन विशेषज्ञहरूसँग शनिबार परामर्श थालेको छ । समितिका सभापति निलाम्बर आचार्यले शनिबार संवैधानिक कानुनका ज्ञाताहरूसँग परामर्श गरेका हुन् ।
नयाँ संविधानमा रहने विषयबारे दलहरूबीच सहमति भएका र हुन बाँकी विषयगत समितिका सात प्रतिवेदन संविधानसभाले संवैधानिक समितिमा पठाएको तेस्रो दिन समितिले परामर्श थालेको छ ।
संविधानसभाको बुधबारको बैठकले सहमति हुन बाँकी विषयमा विवाद मिलाउन र सहमति भएकामा संविधानको प्रारम्भिक मस्यौदा लेखन अघि बढाउन संवैधानिक समितिलाई जिम्मेवारी दिएको थियो । संविधानसभाले दिएको जिम्मेवारीअनुसार सहमति भइसकेका विषयलाई अघि बढाउन परामर्श थालेको सभापति आचार्यले बताए । 'चार महिनामात्रै समय बाँकी भएकाले कसरी अघि बढ्ने भनेर विशेषज्ञहरूसँग परामर्श गरेको हुँ,' आचार्यले कान्तिपुरसित भने, 'अब संविधान लेखनबारे छलफललाई तीव्र पारिनेछ ।'
असहमतिका विषयबारे पनि दलहरूसँग छलफल थालिसकेको आचार्यले जनाए । 'मिलेका विषयमा मस्यौदा लेख्ने र नमिलेका विषयमा सहमति खोज्ने काम सँगसँगै अघि बढ्छ,' उनले भने ।
उनले शुक्रबार कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलसहित प्रमुख सचेतक लक्ष्मण घिमिरे र एमालेका प्रमुख सचेतक भीम आचार्यलगायतसँग छलफल गरेका थिए । समितिले आइतबार बिहान माओवादीसँग छलफल गर्दैछ ।
शनिबार सिंहदरबारस्थित समिति कार्यालयमा भएको छलफलमा संवैधानिक कानुनका विशेषज्ञहरू टीकाराम भट्टराई, भिमार्जुन आचार्य, सूर्यनाथ उपाध्याय, काशीराज दाहाल, सूर्य ढुंगेल, बद्रीबहादुर कार्कीलगायत थिए । चन्द्रकान्त ज्ञवाली, कुमार रेग्मी, पूर्णमान शाक्य, सिन्धुनाथ प्याकुरेललगायतलाई बोलाए पनि उनीहरू उपस्थित थिएनन् । सभापति आचार्यले संविधान लेखनबारे परामर्श लिने सूचीमा राखिएका ११ जनाको नाम पढेर सुनाएका थिए ।
ज्ञाताहरूले सहमति भएका विषयमा तत्काल मस्यौदा लेखन अघि बढाउन समितिलाई सुझाव दिएका छन् । 'सहमति भएका विषयमा मस्यौदा लेखन सुरु गरिहाल्न सुझाव दियौं,' संवैधानिक कानुनका ज्ञाता भट्टर्राईले भने ।
दलहरूबीच सहमति भएका विषय पनि कुन-कुन भाग कुन धारा र उपधारामा रहने र भाषागत हिसाबले कसरी प्रस्तुत गर्नेबारे टुंगोमा पुग्न सुझाव दिएको भट्टर्राईले बताए ।
अहिलेसम्म संविधानको मस्यौदा लेखनका लागि औपचारिक रूपमा विशेषज्ञहरूको चयन भएको छैन । संविधानसभा नियमावलीको दफा ६५ (८) मा मस्यौदा लेखनका लागि विशेषज्ञ चयन गर्न सकिने व्यवस्था छ । औपचारिक रूपमा विशेषज्ञहरू चयन नभए पनि समितिले शनिबारदेखि नै सम्बद्ध विशेषज्ञहरूबाट मस्यौदा लेखनको छलफल गरेको हो । दलहरूस“ग छलफल गरेपछि फेरि विशेषज्ञहरूस“ग परामर्श गर्ने आचार्यले बताएका छन् ।
यो साता दलहरू र समितिमा छलफल गरेपछि समितिले मस्यौदा लेखन थाल्नेछ । 'अर्को सातादेखि मस्यौदा लेखन अघि बढाउने मनसाय बुझियो,' संवैधानिक कानुनका अर्का ज्ञाता आचार्यले भने, 'हामीले पनि सहयोग गर्न तयार रहेको बतायौं ।'
बुधबार संविधानसभाले राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँडसम्बन्धी प्रतिवेदनबाहेक सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त, व्यवस्थापकीय अंगको स्वरूप निर्धारण, राज्यको शासकीय स्वरूप निर्धारण, न्यायप्रणाली सम्बन्धी, राष्ट्रिय हितको संरक्षण र संवैधानिक समितिका प्रतिवेदन संवैधानिक समितिमा पठाएको हो ।
समितिमा पठाइएका सातवटै प्रतिवेदनमा दलहरूबीच कुनै न कुनै विषयमा असहमति छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks