
काठमाडौं, माघ ११ - तपाईंलाई डाइभर्सिटी भिसा (डिभी) वा ग्रीनकार्ड पाएको इमेल आएको छ ? छ भने फुरुङ्ग नपर्नुहोला । त्यो गलत हो ।
अमेरिकी दूतावासले मंगलबार विज्ञप्ती जारी गर्दै अमेरिकी विदेश मन्त्रालय अथवा कन्सुलर अफेयर्स ब्यूरोका तर्फबाट नेपाली नागरिकलाई पठाइएको भनिएका इमेलहरु गलत भएको स्पष्ट पारेको छ ।
'डाइभर्सिटी भिसा (डिभी) उल्लेख भएका वा ग्रीनकार्ड दिने भनिएका कुनै पनि इमेल तपाईंले प्राप्त गर्नुभयो भने ती इमेलमा भएका विवरण सबै अवैध र जालसाजीपूर्ण भनेर बुझ्नुपर्नेछ,' दूतावासले भनेको छ, 'यस्ता इमेल प्राप्त गर्ने नेपाली नागरिकलाई उक्त इमेल कन्सुलर शाखाको जालसाजी प्रतिरोध युनिटको ठेगाना FraudKTM@state.gov मा फरवार्ड गर्नुहुन अनुरोध छ ।'
दूताबासको विज्ञप्ति
अमेरिकी विदेश मन्त्रालय अथवा कन्सुलर अफेयर्स ब्युरोका तर्फबाट केही नेपाली नागरिकलाई पठाइएको भनिएका इमेलहरुको सम्बन्धमा काठमाडौंस्थित अमेरिकी दूतावासको कन्सुलर शाखा स्पष्ट पार्न चाहन्छ। डाइभर्सिटी भिसा (डिभी) उल्लेख भएका वा ग्रीनकार्ड दिने भनिएका कुनै पनि इमेल तपाईंले प्राप्त गर्नुभयो भने ती इमेलमा भएका विवरण सबै अवैध र जालसाजीपूर्ण भनेर बुझ्नुपर्नेछ। यस्ता इमेल प्राप्त गर्ने नेपाली नागरिकलाई उक्त इमेल कन्सुलर शाखाको जालसाजी प्रतिरोध युनिटको ठेगाना FraudKTM@state.gov मा फरवार्ड गर्नुहुन अनुरोध छ।
कन्सुलर शाखा यस सम्बन्धमा दुईवटा तथ्य स्पष्ट पार्न चाहन्छ :
१. डिभीसम्बन्धी सूचना इमेलबाट पठाइँदैन। तपाईंले डिभी चिठ्ठा वा ग्रीनकार्ड जित्नुभयो भनेर पठाइएका सबै इमेल झूटा हुन्। सन् २०१२ को डिभीका लागि आवेदन दिएकाहरुले आफ्नो आवेदनको अवस्थाको जानकारी www.dvlottery.state.gov सन् २०११ मे १ (तदनुसार २०६८ वैशाख १८) पछि पाउन सक्नुहुनेछ। अरु कुनै पनि संस्था वा व्यक्तिलाई डिभी आवेदकहरुलाई चिठ्ठा परेको वा परिसकेपछि चाल्नुपर्ने कदमबारे जानकारी दिने अख्तियार छैन।
२. पछाडि .gov भएका इन्टरनेट साइटहरु मात्र अमेरिकी सरकारका आधिकारिक साइट हुन्। तपाईंले ".com", ".net", ".org" मा टुङ्गिने वा ".gov" बाहेक अरु जेसुकैमा टुङ्गिने ठेगानाबाट इमेल प्राप्त गर्नुभएको छ भने त्यो अमेरिकी दूतावास वा विदेश मन्त्रालयको आधिकारिक इमेल हुन सक्दैन।
केही वेबसाइटले अमेरिकी झण्डा वा अमेरिकी सरकारी भवनहरु देखाएर अमेरिकी सरकारबाट आधिकारिक जिम्मेवारी पाएको भान पार्न खोज्छन्। तिनीहरु अमेरिकी सरकारका आधिकारिक वेबसाइट होइनन्। अमेरिकी सरकारका आधिकारिक वेबसाइटहरु www.state.gov , travel.state.gov मा निःशुल्क पाइने जानकारीका लागि पनि यी जालसाजीपूर्ण वेबसाइटहरुले तपाईंबाट पैसा असुल्न सक्छन्।
इन्टरनेट ठगीको बारेमा तपाईं उजुरी गर्न चाहनुहुन्छ भने अमेरिकी संघीय व्यापार कमिसनको वेबसाइट www.econsumer.gov/english/ वा संघीय अनुसन्धान ब्युरोको इन्टरनेट अपराध उजुरी केन्द्र www.ic3.gov मा जान सक्नुहुनेछ। अवाञ्छित इमेलको बारेमा उजुरी दिन अमेरिकी न्याय मन्त्रालयको वेबसाइट www.usdoj.gov/spam.htm मा जान सक्नुहुनेछ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks