कान्तिपुर संवाददाता
काठमाडौं, माघ १४ - सहमतीय सम्भावना टरेकाले बहुमतीय सरकारका निम्ति माघ २० मा नयाँ चरणको पहिलो निर्वाचन हुने भएको छ ।
कार्यव्यवस्था परामर्श समिति बैठकले पहिलो निर्वाचनबाट परिणाम नआएमा माघ २२ मा दोस्रो र २३ मा तेस्रो निर्वाचन गर्ने सहमति निर्णय गरेको छ । दोस्रो र तेस्रो चुनाव तय गर्न अब कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुपर्ने छैन ।
राष्ट्रपति रामवरण यादवको भारत भ्रमण र सहमतीय सरकारका लागि थप प्रयास गर्ने प्रमुख दलहरूको भनाइका कारण निर्वाचन कार्यक्रम एक साता पछिका लागि तोकिएको हो । संसद् सचिवालय अनुसार प्रधानमन्त्री निर्वाचनका निम्ति १९ गते बुधबार ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्ताको समय तोकिएको छ भने साढे ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दिएको समय सीमामा सरकार निर्माण हुन नसकेपछि बहुमतीय प्रणालीअनुसार प्रधानमन्त्री चयनका लागि संसद्मा चुनाव हुन लागेको हो । सहमतीय सरकारका लागि राष्ट्रपतिले पहिलो पटक एक साता र पछि ५ दिनको म्याद दिएका थिए । दुवैपटक दिइएको समयमा दलहरूले सहमतीय सरकार बनाउन नसकेपछि राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ (२) अनुसार बहुमतीय आधारमा सरकार निर्माण गर्न संसद् सचिवालयलाई बिहीबारै पत्र पठाएका थिए । सभामुख नेम्वाङले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचनपछि मतदानको तिथि घोषणा गरेका थिए ।
संसद्को अघिल्लो अधिवेशनमा १६ पटक सम्मको चुनाव व्यर्थ भएपछि दलहरूले नयाँ प्रक्रिया अनुसार अघि बढ्ने सहमति गरेका थिए । सहमति अनुसार पुस २८ मा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले सातौं निर्वाचनबाट मैदान छोडेका थिए । एमाले अध्यक्ष झलनाथ खनालको उम्मेदवारी भने पहिलो मतदानअघि नै फिर्ता भएको थियो । एकातर्फ पछिल्लो पटक दलहरू बीच बन्दै गरेको सहमति र अर्कोतर्फ तटस्थ बस्न नपाउने तथा अनिवार्य उपस्थित हुनुपर्ने नियमावली भएकाले यस पटकको चुनावबाट प्रधानमन्त्री निर्वाचित हुने सम्भावना छ ।
संशोधित नियमावली अनुसार प्रधानमन्त्री पदका लागि सदनमा बढीमा तीन पटकसम्म मात्रै चुनाव हुन्छ । दुई पटक हुने मतदानमा कसैले पनि आवश्यक बहुमत प्राप्त गर्न नसकेको अवस्थामा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मात्र निर्णायक प्रतिस्पर्धा हुनेछ । दुईमध्ये कसैले पनि आवश्यक बहुमत प्राप्त गर्न नसके सभामुखले निर्वाचन प्रक्रिया अन्त्य भएको घोषणा गर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।
त्यसपछि पुनः राष्ट्रपतिले सहमतीय सरकारका लागि आह्वान गर्नेछन् । सहमतीय आधारमा सरकार नबने फेरि संशोधित नियमावली अनुसार चुनाव प्रक्रिया अघि बढ्नेछ ।
२३ गतेसम्म नयाँ सरकारः सभामुख
सभामुख सुवास नेम्वाङले माघ २३ गतेसम्म नयाँ सरकार गठन हुने बताएका छन् । '२३ गते सम्ममा मुलुकले नयाँ प्रधानमन्त्री पाउनेमा विश्वस्त छु,' सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले भने, 'पहिलो र दोस्रोबाट नभए पनि तेस्रो चरणको चुनावबाट प्रधानमन्त्रीको टुंगो लाग्छ ।' विगतको तीतो अनुभवबाट पाठ सिकेर नियमावली संशोधन गरिएकाले यस प्रक्रियाबाट अघि बढ्दा नयाँ सरकार बन्ने उनले जनाए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks