काठमाडौ, पुस २८ - माओवादी र कांग्रेसबीच चक्रिय प्रणाली अनुसार सरकार चलाउने विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन । बुधबार माओवादी संसदीय दलको कार्यालयमा सरकार निर्माणका विषयमा दुई दलबीच भएको छलफल कुनै ठोस सहमति नगरी टुङ्गियो । दुवै दल आ-आफ्नो पुरानै अडानमा यथावत रहे ।
कांग्रेस नेताहरुले संविधानसभाको निर्वाचनपछि माओवादी र एमालेले सरकार चलाइसकेकाले आफूहरुलाई सहयोग गर्न गरेको आग्रह अस्विकार गर्दै माओवादीले उम्मेदवारी फिर्ता लिएर नयाँ प्रक्रियामा जान पूर्व अडान राखेको थियो । स्रोतका अनुसार चक्रिय प्रणालीमा गएर पनि सरकार निर्माण गर्न सकिने कांग्रेसले राखेको प्रस्ताव उपर दुई दलबीच सामान्य छलफल भएको थियो । चक्रिय प्रणालीमा आफूलाई पहिलो नेतृत्व दिनुपर्ने कांग्रेसको अडान रहेको थियो । 'चक्रिय प्रणालीका विषयमा छलफल भएको हो,'कांग्रेस नेता रामचन्द्र पौडेलले संवाददाताहरुसंग भने-'प्रधानमन्त्रीको आज हुने निर्वाचन टुङ्गयाएपछि त्यस विषयमा छलफल गरौं भन्ने माओवादीको प्रस्ताव रह्यो ।'
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुले नयाँ प्रक्रियामा जाउँ भनेर कांग्रेस समक्ष प्रस्ताव गरेको बताए । 'नयाँ प्रक्रियामा जाँदा पनि ठूलो दलको हैसियतमा हाम्रो आफ्नै नेतृत्वको दावी रहन्छ,'उनले भने-'तर,कांग्रेस वा अन्य दललाई निषेध गरेर अगाडि बढ्ने नीति हुँदैन ।'
दुई दलबीचको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल,उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा कांग्रेस सभापति सुशिल कोइराला,नेताहरु पौडेल,विमलेन्द्र निधी र कृष्ण सिटौलाको उपस्थिति रहेको थियो ।
यसैबीच माओवादी समेत सात साना दलको बैठकले प्रधानमन्त्रीका एक्ला उम्मेदवार कांग्रेस नेता पौडेललाई उम्मेदवारी फिर्ता लिएर नयाँ प्रक्रियाको सुरुवात गर्न आग्रह गरेको छ ।
व्यवस्थापिका संसदमा बुधबार प्रधानमन्त्रीका लागि १७ औं चरणको निर्वाचन हुँदैछ । माओवादी र एमाले पौडेलको विपक्षमा मतदान गर्ने जनाएको छ । पौडेलको विपक्षमा बहुमत पुगे जारी प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अन्त्य हुनेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks