Loving nepal news

Sunday, January 30, 2011

संवैधानिक समिति बैठक आज


कान्तिपुर संवाददाता

काठमाडौ, माघ १७ - संवैधानिक समितिले दलहरूबीच सहमति भएका विषयबाट नयाँ संविधानको पहिलो मस्यौदाको खाका तयार गर्ने भएको छ । संविधानसभाबाट ८३ वटा विवादित विषयसहित विषयगत समितिका प्रतिवेदन प्राप्त गरेपछि समितिले आफ्नो काम सुरु गर्ने गृहकार्य गरेको हो । समितिको बैठक सोमबार बिहान बस्दैछ ।

समितिका सभापति नीलाम्बर आचार्यले बैठक सञ्चालन र विषय प्रवेशबारे आइतबार संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरू र शनिबार संविधानबेत्ताहरूसँग परामर्श गरेका हुन् । 'दलहरूबीच सहमति भएका विषयहरूलाई लिएर एकीकृत मस्यौदा तयारी गर्दै जाने सल्लाह भएको छ,' छलफलपछि माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले भने, 'विवादित विषयमा सहमति जुटाउन छलफल पनि गर्दै जाने गरी काम सुरु गर्नेबारे कुराकानी भएको हो ।' विवादित प्रश्नहरूलाई टुंगोमा पुर्‍याउन आवश्यकताअनुसार उपसमितिहरू बनाउन सकिने उनले बताए ।

दलहरूबीच संविधानसभाका विषयगत समितिका प्रतिवेदनमा शासकीय स्वरूप, निर्वाचन प्रणाली, राज्यको पुनर्संरचनालगायत ८३ मुद्दामा सहमति हुन बाँकी छ । ती प्रतिवेदनमा रहेका २ सय १० विवादमध्ये अन्य विवाद २७ दलको संयन्त्रले यसअघि नै टुंगो लगाएको छ । संयन्त्रले टुंगो लगाएका विषयमा समेत केही साना दलहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

संविधानसभाको कार्यतालिका अनुसार समितिले कात्तिक मसान्तमै नयाँ संविधानको पहिलो मस्यौदा तयार पारिसक्नुपर्ने थियो । तर दलहरूबीच सहमति नहुँदा संविधानसभाले ती प्रतिवेदनलाई सुझाव र निर्देशनसहित संवैधानिक समितिमा पठाउन गरेको ढिलाइका कारण मस्यौदा तयारीको काम ढिला सुरु भएको हो । पछिल्लो पटक संविधानसभाले आफ्नो नियमावली संशोधन गरी संवैधानिक समितिलाई विषयगत समितिका प्रतिवेदनमा रहेका विवाद समाधान गर्ने अधिकार दिएको छ । संवैधानिक समितिमा पनि ती विवाद समाधान गर्न नसकेमा संविधानसभाको मतदानबाट टुंग्याउने व्यवस्था छ । संवैधानिक समितिमा सबैजसो दलका प्रमुख नेताहरू सदस्य छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks