
गंगा बीसी
काठमाडौ, पुस २८ - माओवादीले आफ्नो नेतृत्वको सरकारको अडान नछाड्ने र त्यो हुन नसके अरू दलको नेतृत्वमा आफ्नो अनुकूल सरकार बनाउने रणनीति बनाएको छ । माओवादीले यी दुई विकल्प अघि सारी एमाले र कांग्रेससँग छलफल चलाएको छ ।
माओवादी केन्द्रीय पदाधिकारीको मंगलबार सिंहदबारमा बसेको बैठकले पहिलो काम प्रधानमन्त्री प्रक्रिया अन्त्य गर्न थप पहल गर्ने र आफ्नो अनुकूल सरकार बनाउने गृहकार्य गर्ने निष्कर्ष निकाल्यो । प्रधानमन्त्री निर्वाचन प्रक्रिया अन्त्य हुनेबित्तिकै यो रणनीतिमा ऊ अघि बढ्नेछ ।
'हाम्रो नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने कुरा छाडेका छैनौं,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'अन्य विकल्प त हामीले खुला गरेकै छौं । तत्काल हेर्दा माओवादीको नेतृत्वमा सरकार बन्ने अवस्था कम भएको उल्लेख गर्दै श्रेष्ठले भने, 'तै पनि अहिलेको प्रधानमन्त्री निर्वाचन प्रक्रिया सकिएपछि हामी कांग्रेस-एमालेसँग हाम्रो नेतृत्वमा सरकार बनाउन छलफल गर्छौं ।'
अर्का उपाध्यक्ष मोहन वैद्यको भनाइ पनि उस्तै थियो । 'पहिले प्रधानमन्त्री प्रक्रिया अन्त्य होस्,' उनले कान्तिपुरसँग भने, 'कोसित कस्तो सहमति हुन सक्छ भन्ने कुरा त्यसपछि आउँछ ।'
माओवादीले पहिलो विकल्पमा सफल नभए एमाले अध्यक्ष झलनाथ खनाललाई अघि सार्ने भएको छ । तर पार्टीबाट प्रधानमन्त्री उम्मेदवार निर्णय गराउन सक्नेमा अझै शंका छ । 'पहिलो कुरा झलनाथजीले आफ्नो पक्षमा उम्मेदवारीबारे निर्णय गर्नेबारे शंका छ,' माओवादीका एक वरिष्ठ नेताले भने, 'एमालेले झलनाथजीको निर्णय गराएको अवस्थामा हामीले सोच्ने कुरा हो ।'
एमालेले पौडेलले प्रधानमन्त्री उम्मेदवारी फिर्ता नलिए विपक्षमा मतदान गर्ने निर्णय गरेदेखि नै दाहाल र खनालबीच धेरै चरणमा कुराकानी भएको स्रोतले जनाएको छ । पुरानो प्रक्रिया अन्त्य हुनेबित्तिकै उम्मेदवारी दिने/नदिने विषयमा पनि माओवादी स्पष्ट छैन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks