
काठमाडौं, माघ ३ - कांग्रेसभित्र प्रधानमन्त्रीको उम्मेदवारमा शेरवहादुर देउवा कि रामचन्द्र पौडेल भन्ने विवाद शुरु भएको छ । दुवै नेताहरु आ-आफ्नो पक्षमा 'लबिङ' थालेपछि विवाद सुरु हुन थालेको हो । १६ औं पटकसम्मको निर्वाचनमा पनि सफल हुन नसकेपछि पौडेलको विकल्पमा आफू हुन पाउनुपर्ने दावी देउवाले गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको भेलामा देउवाले शुक्रबार पार्टीले अघि सारेको राष्ट्रिय सहमतीको सरकार बन्ने दावी समेत लिएका थिए । आफ्नो उम्मेदवारीमा माओवादी र एमाले समेत सकारात्मक रहने बताएका थिए ।
यता पौडेलले पनि केन्द्रीय सदस्य र सभासदहरुसंगको भेटघाट बढाएका छन् । उनले आफूलाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत् निर्णय परिवर्तन नभएको बताउदै आईतबार संसदीय दलमा आफू निकट सदस्यहरुसंग आफ्नो उम्मेदवार कायम रहने तर्क अघि सारेका थिए ।
छुट्टाछुट्टै भेलाबारे जिज्ञासा राख्दा पौडेलले आफ्नो उम्मेदवारी कायम राख्न दलमा कुनै किसिमको भेटघाट र भेला आफू नगरेको प्रतिक्रिया दिए । 'पार्टीको सर्वसम्मत निर्णय कायमै छ । मलाई कुनै भेला र भेटघाट गरेर पार्टीभित्र गुटबन्दी गर्नु परेको छैन, त्यस्तो सोचेको पनि छैन' उनले भने- 'पौडेलले भेला गर्यो भनेर जसरी प्रचारबाजी गरिएको छ । यो वहियात हो । यस्तो भ्रामत्मक समाचारबाट मलाई दुःखी बनाएको छ ।'
देउवाको भेलालाई 'प्रधानमन्त्रीका लागि गुटबन्दी गरेको' आरोप संस्थापन पक्षले गरेको छ । दिनहूँजसो कोइराला निवासमा हुने भेटघाटमा कोइरालाले आफू निकट सदस्यहरुसंग संसदीय दलको नेताको हैशियतले पौडेलले उम्मेदवार हुने संकेत गरीसकेका छन ।
संस्थापन पक्षीय एक नेताका अनुसार, पौडेलको नेतृत्वमा सरकार बन्न नसक्ने अवस्था भएमा पार्टीले प्रतिपक्षमा बस्ने निर्णय लिने संभावना छ । त्यस्तो स्थिती निर्माण भएमा देउवा पक्षले आपत्ति जनाउने बताइसकेको छ । 'पार्टीले नेतृत्व लिने अवस्था आएमा पौडेलको विकल्पमा पनि पार्टी खुला हुनुपर्छ' देउवा पक्षीय एक नेताले कान्तिपुरसंग भने- 'त्यसमा पार्टीभित्र विवाद गर्नुभन्दा सभापति कोइराला र पौडेलसंग छलफल गरी सहमती खोज्न देउवालाई हामीले सुझाव दिएका छौ ।'
यसअघि पनि उम्मेदवार दिनेक्रममा पार्टीभित्र विवाद भएको थियो । पार्टी केन्द्रीय समितिमा लामो छलफलपछि देउवा प्रस्तावक बसेर पौडेललाई अघि सार्ने निर्णय लिएको थियो । 'म पार्टीको सर्वसम्मत निर्णयबाट प्रधानमन्त्रीको उम्मेदवार भएको हूँ । पार्टीकै निर्णयबाट उम्मेदवारी झिकेको हूँ' आफू निकट सदस्यहरुसंग व्यक्त पौडेलको भनाई उत्धृत गर्दै एक केन्द्रीय सदस्यले भने- '१६ औंपटक पराजित भएर सफल हुन नसकेपछि नैतिक रुपमा पनि उठ्न हुदैन भनेर जसरी गुटबन्दी गरिएको छ । यसले पार्टीको भविष्य धरापमा पार्छ ।'
दुई नेताबीच नेतृत्व लिने होडबाजी चलीरहेकै बेला पार्टीको एउटा खेमा भने शान्तिप्रकृयालाई टुंगाउने सर्तमा माओवादीलाई भावी सरकारको नेतृत्व दिनुपर्ने आवाज उठेको छ । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, युवा नेता गगन थापालगायतका नेताहरुले यस्तो धारणा अघि बढाएका छन । कोइरालाले शान्तिप्रकृयालाई अघि बढाउने जिम्मेबारी कांग्रेसले लिई सरकारको नेतृत्व माओवादीलाई दिनुपर्ने धारणा राख्दै आएका छन् ।
'शान्ति प्रकृयालाई टुंगोमा पुर्याउने सर्तमा माओवादीलाई सरकारको नेतृत्व दिनुपर्छ' थापाले भने 'कांग्रेस र माओवादी एमालेको घोडा चढेर स्वार्थ पूरा गर्न खोज्दैछन् । यो प्रवृत्तिले कहि पुगिदैन । अव माओवादी र कांग्रेसबीच सहमती हुनुपर्छ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks