Loving nepal news

Thursday, January 20, 2011

माओवादी बैठकमा चर्काचर्की


गंगा बीसी

काठमाडौ, माघ ७ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टर्राई पक्षबीच प्रशिक्षण बहिष्कारको विषयलाई लिएर बिहीबार केन्द्रीय समिति बैठकमा चर्काचर्की भएको छ ।

बैठकको सुरुमै अध्यक्ष दाहालले प्रशिक्षण बहिष्कार गरेर भट्टर्राईले गम्भीर कमजोरी गरेको उल्लेख गर्दै उक्त घटना 'नियोजित भएको' आशंकासमेत गरे । 'प्रशिक्षणको मुखमै बाबुरामजीले जे गर्नुभयो, त्यो गम्भीर विषय छ,' दाहालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'उहाँले त्यसलाई महसुस गरी आत्मालोचना गर्नुपर्छ ।'

दाहालले पोलिटब्युरो सदस्य हिसिला यमीलगायत अन्य भट्टर्राई र्समर्थकले प्रशिक्षण बहिष्कार गर्नु सामान्य नभएको भन्दै आपत्ति जनाएका थिए । उनले प्रशिक्षण बहिष्कार गर्दैमा कारबाही गरिहाल्नुपर्ने नभए पनि त्यसलाई सच्याउन भट्टर्राईले आत्मालोचना गर्नुपर्ने र पार्टी कामकारबाहीमा एकरूपता कायम गर्नुपर्ने बताए ।

दाहालले भट्टर्राई प्रधानमन्त्री बन्ने आकांक्षा राखी पार्टी नीतिविरुद्ध गएको आशंकासमेत गरे । 'बाबुरामजी जस्तो विद्वान् नेताले नजानेर यस्तो गरेकोजस्तो लाग्दैन,' उनले व्यंग्य गर्दै भने, 'कतै सरकारको नेतृत्व गर्ने वार्गेनिङ हिसाबले आएको त होइन - यो सुनियोजित त होइन -'बैठकमा भट्टर्राईले आफूमाथिको आरोपको बचाउ गर्दै पार्टीविधान र केन्द्रीय समितिको निर्णयलाई लागू गर्ने सर्न्दर्भमा आफूले प्रशिक्षण बहिष्कार गरेको र त्यो सुनियोजित नभएको प्रष्टीकरण दिएका थिए ।

संस्थापन पक्षले विधान तोडमरोड गरेको आरोप लगाउँदै उनले आफूले आन्तरिक जनवादको विषय उठाउनु अनुचित नभएको उल्लेख गरे । 'पार्टीविधानतोडमरोड हुन सक्दैन,

विधानले व्यवस्था गरेको कुरा तल्ला समितिसम्म कार्यान्वयन गरेर लैजानुपर्छ,' भट्टर्राईलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'मैले पार्टीपद्धति नमानेको कुरै होइन, विधान र पद्धति तपाईंले तोड्नुभयो, मैले विधानको बचाउ गरेको हुँ ।'

भट्टर्राईले सोमबार आफ्नो फरक मत राख्न नपाएको भन्दै भृकुटीमण्डपमा भएको प्रशिक्षण बहिष्कार गरेका थिए । त्यसपछि उत्पन्न विवादबारे छलफल गर्न बिहीबार केन्द्रीय समिति बैठक बसेको हो ।

बैठकमा अर्का उपाध्यक्ष मोहन वैद्यले पनि अध्यक्ष दाहालले झैं भट्टर्राईको आलोचना गरेका थिए । भट्टर्राईले पार्टीविधि, पद्धति मिचेको आरोप लगाउ“दै उनले प्रशिक्षण फरक मत राख्ने ठाउ“ नभएको भन्दै आपत्ति जनाए । वैद्यले भट्टर्राईको बाटो संशोधनवादी भएको आरोप लगाएका थिए । 'बाबुरामजीले लिएको बाटो नववाम सुधारवादी बाटो हो,' उनको भनाइ थियो ।

अध्यक्ष दाहालले आन्तरिक जनवादको कुरा गर्ने भट्टर्राईले मुखपत्र जनादेश साप्ताहिकका सम्पादक कोमल बराललाई हटाएर गम्भीर गल्ती गरेको समेत उल्लेख गरे । 'जनादेशबाट जसरी सम्पादकलाई हटाउनुभयो,' उनको भनाइ थियो, 'यो जनवादको अभ्यास होइन, गम्भीर कमजोरी हो ।' भट्टर्राईले भने बरालको इच्छाअनुसार सम्पादकबाट हटाइएको जनाए ।

दाहालपक्षीय पोलिटब्युरो सदस्य अग्नि सापकोटाले भारततर्फसंकेत गर्दै उसकै प्रभावमा भट्टर्राईले प्रशिक्षण बहिस्कार गरेको आरोप लगाए । 'बाह्य शक्तिको प्रभावमा बाबुरामजीले यस्तो (बहिस्कार) गर्नुभएको हो,' उनको भनाइ थियो ।

बैठकमा स्थायी समिति सदस्य देव गुरुङ, टोपबहादुर रायमाझी, वर्षान पुन, पोलिटब्युरो सदस्यहरू हरिबोल गजुरेल र राम कार्की निकै आक्रामक रूपमा प्रस्तुत भएको एक सहभागीले बताए । स्थायी समिति सदस्यहरू अमिक शेरचन, लीलामणि पोख्रेलले कसैको पक्ष नलिई समस्या समाधान गर्नुपर्ने बताएका थिए ।

भट्टर्राईपक्षीय स्थायी समिति सदस्य रायमाझीले 'संस्थापन पक्षले पेल्दै गए जे पनि हुनसक्ने' चेतावनी दिए । 'सधंै पेल्ने, जिम्मेवारी पनि नदिने, फरक विचार पनि राख्न नदिने काम भइरहेको छ,' उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'यस्तै भए अरू जे पनि हुन सक्छ ।'

वैद्यपक्षीय स्थायी समिति सदस्य गुरुङले जनव्रि्रोहको कार्यदिशा असफल बनाउन भट्टर्राई सुनियोजित ढंगले लागेको आरोप लगाए । 'पार्टीपद्धति, विधि मिचिएको छ,' उनको भनाइ थियो, 'यसले जनव्रि्रोहको योजना विफल बनाउने काम गर्दैछ, त्यसैले गम्भीर रूपमा लिनुपर्छ ।'

दाहालपक्षीय स्थायी समिति सदस्य वर्षान पुनले संस्थापन र भट्टर्राई पक्षबीच बुझाइमा अन्तर परेकाले विवाद भएको बताएका थिए । 'राजनीतिक रूपमा बुझाइमा फरक परेको हुनाले प्रशिक्षण बहिस्कार भएको हो,' उनको भनाइ थियो ।

दाहाल पक्षका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले आफ्नो कार्ययोजना पारित गर्न असफल भएपछि भट्टर्राई पक्ष विरोधमा उत्रिएको धारणा राखे । भट्टर्राई पक्षका पोलिटब्युरो सदस्य राम कार्कीले फरक विचार रोक्ने प्रयास भएकाले त्यसविरुद्ध स्वाभाविक प्रतिक्रिया आएको बताए ।

अब के हुन्छ -

माओवादीमा दुइ पक्ष नै आक्रामक रूपमा प्रस्तुत भएकाले समाधान निकाल्न कठिन देखिएको छ । दुवै पक्षले आफ्नो कमजोरी महसुस नगरेपछि केन्द्रीय समिति बैठकले सम्भवतः बहुमतले विवाद समाधान गर्ने सम्भावना छ ।

'सजिलै विवाद मिल्ने सम्भावना देखिँदैन,' एक वरिष्ठ नेताले कान्तिपुरसँग भने, 'दुवै पक्षले गल्ती स्वीकार नगरेपछि बहुमतका आधारमा सुल्झाउनुपर्ने हुन्छ ।' दाहाल र वैद्य पक्षको बहुमत भएकाले भट्टर्राईको फरक मत अल्पमतमा पर्ने निश्चितप्रायः छ । बैठकमा मध्यमार्गी देखिएका स्थायी समिति सदस्य अमिक शेरचनले सबैले गल्ती स्वीकार गरी समाधान निकाल्नुपर्ने बताए । 'काम गर्दा कमी-कमजोरी हुन्छन्,' उनले कान्तिपुरस“ग भने, 'कमी-कमजोरी सच्याएर समाधान निकाल्नुपर्छ ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks