
हेटौँडा, पुस २५ - कांग्रेसका सभापति सुशील कोइरालाले नेपालस्थित राष्ट्र सङ्घीय कार्यालय (अनमिन) प्रमुख करेन ल्यान्डग्रेनले हालै सुरक्षा परिषदमा प्रस्तुत गरेको प्रतिवेदन आधारहीन भन्दै त्यसको निन्दा गरेका छन् ।
नेपाल प्रेस युनियनले आइतबार बिहान यहाँ आयोजना गरेको एक कार्यक्रममा उनले राष्ट्रसङ्घका महासचिव बान की मुनका प्रतिनिधिले दिएको त्यस्तो अभिव्यक्ति पदीय मर्यादाविपरीत भएको उल्लेख गरे । कोइरालाले भने(‘करेन ल्यान्डग्रेनजस्तो जिम्मेवार व्यक्तिबाट त्यस्तो अभिव्यक्ति आउनु लाजमर्दो कुरा हो ।’
एकीकृत नेकपा (माओवादी) को जनविद्रोहको विषयबाट नेपाली जनता डराउनु पर्दैन भन्दै उनले प्रजातन्त्रमा विश्वास गर्ने पार्टीलाई जनविद्रोह नसुहाउने बताए । माओवादीले आफ्नो सुरक्षाका निम्ति लडाकू आफ्नै मातहतमा राख्न चाहेको विचार व्यक्त गर्दै नेपाली काँग्रेसले उक्त दलका सबै नेतालाई सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रजातन्त्रका विकल्प प्रजातन्त्र नै भएकाले त्यसप्रतिको माओवादी बुझाइ कमजोर रहेको सभापति कोइरालाको भनाइ थियो । आजदेखि सुरु हुने संसद् अधिवेशनबाट प्रधानमन्त्री चयन हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले नेकपा (एमाले), माओवादी र अन्य साना दललाई आफ्नो दलका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरे ।
नेपाली काँग्रेस विधिको शासन मान्ने पार्टी भएको हो बताउँदै उहाँले संसदीय दलका नेतामात्र प्रधानमन्त्रीको उम्मेदवार हुन्छ भने । पार्टी केन्द्रीय सदस्य रामशरण महतले माओवादीका लडाकू सेना समायोजन विशेष समितिको मातहतमा आउन जरुरी भएको उल्लेख गरे ।
एक प्रश्नको जवाफमा केन्द्रीय सदस्य महतले नेपाली सेना र शिविरमा रहेका माओवादीका लडाकाको समान हैसियत नहुने बताए । रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks