
कान्तिपुर संवाददाता
काठमाडौ, माघ ५ - चौधरी समूहअन्तर्गत सिंगापुरस्थित इन्भेस्टमेन्ट कम्पनी सिनोभेसन्सले थाइल्यान्डको इन भिजन हस्पिटालिटीसँग मिलेर एसियामा होटल उद्योग विस्तार गर्ने घोषणा गरेको छ ।
इन भिजन र सिनोभेसनले संयुक्त रूपमा थाइल्यान्डमा जिंक इन भिजन हस्पिटालिटी नामक कम्पनी स्थापना गरेर सन् २०१३ सम्म एसियामा ३० होटल स्थापना गर्न लागेको हो । यी कम्पनीहरूको एक अर्ब अमेरिकी डलर (७३ अर्ब रुपैयाँ) भन्दा बढी लगानी रहेको छ ।
सिजी कर्पोरेट संरचनाअन्तर्गत जिंक इनभिजन ३५ जनाविज्ञ कर्मचारीले सञ्चालन गर्नेछन् । इनभिजनद्वारा बैंककबाट जारी विज्ञप्तिअनुसार लक्षित उद्देश्य हासिल गर्न थप दक्ष कर्मचारी नियुक्तिसमेत गरिनेछ ।
नयाँ कम्पनी घोषणा गर्दै जिंक इनभिजनका प्रमुख कार्यकारी अधिकृत केभिन विउभाइसले भने, 'नयाँ कम्पनीका कारण होटल व्यवस्थापन र ताजा ब्रान्डबाट एसियामा होटल तथा आतिथ्य सत्कार सेवा उपलब्ध हुनेछ र आउँदा केही वर्ष उच्च वृद्धि हासिल हुनेछ ।'
यही कम्पनी स्थापनाको घोषणा गर्न एसियाका पाँच सहर हुँदै सिनोभेसन/सिजीका अध्यक्ष विनोद चौधरीले आइपुगेका हुन् । 'जिंक भिजनमार्फत विश्व बजारका लागि एउटा सिर्जनशील होटल ब्रान्ड सिर्जना गर्न पाउँदा अत्यन्त उत्साही र उत्तिकै विश्वस्त पनि छु,' चौधरीले भने, 'सामाजिक शैली र होटलका ग्राहकको बढ्दो माग आत्मसात गरी राम्रा होटल र प्रशिक्षित कर्मचारीमार्फत त्यसलाई पूरा गर्ने लक्ष्य लिएका छौं ।'
जिंक भिजनले अहिले नै जिंक सिटी, ग्लो स्टुडियो, जिंक एज, जिंक लिभिङ, जिंक जर्नी, सोमा र टच बाई जिंकजस्ता आतिथ्यका ब्रान्ड ल्याइसकेको छ । विशिष्ट बजार, लक्जरी रेजोर्ट, मूल्य संवेदनशील सहरी यात्रुलगायतलाई सेवा प्रदान गरिरहेको पनि कम्पनीले जनाएको छ ।
मूल्य संवेदनशील सहरी यात्रीहरूका लागि २०१२ मा नयाँदिल्ली नजिक ग्रेटर नोयडामा जिंक सिटी होटल खोल्ने योजना रहेको छ । यसैगरी २०१३ मा कोचिन र सुरतमा पनि थप जिंक सिटी होटल खोलिने पनि विज्ञप्तिमा उल्लेख छ । पहिलो ग्लो स्टुडियो बैंककमा खुलिसकेको छ भने २०१३ मा थाइल्यान्ड, कम्बोडिया, भारत र नेपालमा खोल्ने योजना रहेको छ भने दुबई र थाइल्यान्डका पतायामा २०१३ मा जिंक एज डिलक्स होटल खोल्ने घोषणा पनि कार्यक्रममा गरियो । पहिलो सोमा रिसोर्ट २०१२ मा मलेसियामा खोल्ने योजना छ । पर्यटन वर्षका रूपमा घोषणा भएको २०११ भित्र भने नेपालमा जिंक स्पा एन्ड वेलनेस रिटि्रट खोल्ने तयारी भइरहेको छ ।
उपभोग्य वस्तु, वित्त, बैंक, इलेक्ट्रोनिक्स, शिक्षा, पूर्वाधार, रियल स्टेटलगायत विविध क्षेत्रमा लगानी गरेको सिनोभेसन/सिजीले ४५ वटा कम्पनीमार्फत ३० देशमा व्यवसाय सञ्चालन गरिरहेको छ । यसमा ६ हजार कर्मचारी छन् ।
इनभिजन हस्पिटालिटी व्यवस्थापन, परामर्श र सल्लाहकार सेवा दिने कम्पनी हो जुन दक्षिण पूर्वी एसियाको आतिथ्य सत्कार उद्योगका लागि अगाडि बढेको पनि विज्ञप्तिमा उल्लेख छ । इनभिजनले अहिले थाइल्यान्डमा पाँच, मलेसियामा निर्माणाधीन दुई होटलको व्यवस्थापन गरिरहेको छ । 'हाम्रा ग्राहकको अनुभव र ब्रान्डको सम्मिश्रण उच्चतम प्राथमिकतामा छन्,' विउभाइसले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks