
कान्तिपुर संवाददाता
काठमाडौ, पुस ३० - प्रमुख तीन दल माओवादी, कांग्रेस र एमाले सहमतिको रटान लगाउँदै सकेसम्म आफ्नै नेतृत्वको सरकार बनाउने रणनीतिमा लागेका छन् । आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्थामा नभए आफू अनुकूलको बहुमतीय गठबन्धन बनाउने उनीहरूको प्रयास छ । सहमतीय सरकारलाई पहिलो प्राथमिकतामा राखेको बताए पनि दलहरूको बहुमतीय कसरत यथावत् छ ।
माओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउने पहिलो प्राथमिकता भएको बताए पनि उसले बहुमतीयका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेको छ । 'सहमतीय सरकारका लागि सबै दलसँग कुराकानी भइरहेको छ,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'सहमति जुटेन भने के गर्ने भन्ने विषयमा पनि छलफल गर्दै छौं ।' सहमति नभए सरकारमा जान नहुने धारणा र बहुमतीय सरकार आफ्नै नेतृत्वमा हुनुपर्ने भनाइ माओवादीभित्र छ । उपाध्यक्ष बाबुराम भट्टराई अरूको नेतृत्वको बहुमतीय सरकारमा जान नहुने पक्षमा छन् भने श्रेष्ठ सहमतिको सरकार नभए प्रतिपक्षमा रहने विचार राख्छन् ।
कांग्रेसले राष्ट्रिय सहमतीय सरकारका लागि आफ्नो उम्मेदवारी झिकेको बताउँदै त्यसमै जोड दिने बताए पनि सरकारको नेतृत्व आफैंले पाउनुपर्ने अडान छाडेको छैन । यसअघि एमाले र माओवादी नेतृत्वमा सरकार बनिसकेको भन्दै अब आफ्नो पालो हुनुपर्ने उसको तर्क छ । तर ऊसँग कसरी सरकार बन्छ भन्ने विषयमा स्पष्ट भइसकेको छैन ।
कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले कांग्रेसले सहमतिको सरकारका लागि उम्मेदवारी फिर्ता लिइसकेको अवस्थामा वाम/लोकतान्त्रिक गठबन्धनभित्र माओवादीलाई समेत ल्याएर सहमतीय सरकार बनाउने प्राथमिकता दिने बताए । पार्टीभित्र एक समूहले भने एमालेबाट 'धोका पाएको' भन्दै केही सदस्यहरूले अबको सहकार्य माओवादीसँग गर्नुपर्ने तर्क अघि सारेका छन् । अबको केन्द्रीय समितिमा त्यसमा पनि छलफल हुने केन्द्रीय सदस्य गगन थापाले बताए । प्रधानमन्त्री चुनावको नयाँ प्रक्रियामा पनि पार्टी संस्थापन पक्षले संसदीय दलका नेता रामचन्द्र पौडेललाई नै उम्मेदवारी बनाउने भएको छ । सभापति सुशील कोइरालाले 'संसदीय दलको विधान र परम्पराअनुसार नै उम्मेदवार हुने आफू निकट सदस्यहरूलाई बताएका छन् । उनले केही दिनअघि सानेपास्थित पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकमा समेत पौडेल नै उम्मेदवार रहने बताएका थिए । नेता शेरबहादुर देउवा पक्षीय सदस्यहरूले भने पौडेलको विकल्पमा सरकार बन्ने अवस्था आए पार्टी लचक हुनुपर्ने बताएका छन् ।
सिटौलाले कसलाई उम्मेदवार बनाउने भन्नेबारे पार्टीभित्र अहिल्यै बहस नभएको बताए । 'राष्ट्रपतिले सहमतीय सरकारका लागि समय दिएपछि पार्टी केन्द्रीय समितिको बैठक बसेर छलफल हुन्छ, अहिल्यै त्यसबारे बहस सुरु भइसकेको छैन,' उनले भने ।
बिहीबार संसद्बाट बाहिर निस्कँदा देउवाले अबको प्रक्रियामा आफू पनि उम्मेदवार हुन सक्ने संकेत गरे । तपाईं उम्मेदवार बन्ने हो भन्ने संवाददाताहरूको प्रश्नमा देउवाले भने, 'बनेपछि नै थाहा पाइहाल्नुहुन्छ, त्यतिबेलै भनौंला नि ।' पौडेलले यसअघि पनि उम्मेदवारी दिँदा पार्टीले उठाएको र आफूले पार्टीको निर्णयअनुसार फिर्ता लिएको बताउँदै अबको नयाँ प्रक्रियामा उम्मेदवारबारे छलफल हुन बाँकी रहेको बताए ।
राष्ट्रिय सहमतिकै लागि उम्मेदवारी फिर्ताको अडान राखेकाले अब नयाँ प्रक्रियामा जाँदा त्यसैमा जोड दिनुपर्ने एमालेले बताएको छ । सहमतीय सरकार जसको नेतृत्वमा भए पनि हुने भन्नेमा एमालेभित्र विमति छैन । तर सहमतीय सरकार नबनेर बहुमतीय विकल्पमा जानुपर्दा कसको नेतृत्व हुने भन्नेमा एमालेभित्र विवाद छ ।
संस्थापन पक्ष सहमतीय सरकार बनाउन सफल नभए पनि बहुमतीय सरकारको नेतृत्व एमालेले नै गर्नुपर्ने पक्षमा छ भने माधव नेपाल र केपी ओली समूह बहुमतीय सरकारको नेतृत्व कांग्रेसलाई दिनुपर्ने पक्ष्ामा छन् । कांग्रेसको सहयोगमा एमालेकै बहुमतको सरकार रहेकाले फेरि बहुमतकै सरकारका लागि एमालेले दाबी गर्न नहुने नेपाल-ओली समूहको धारणा छ । यसैका लागि उनीहरूले पौडेललाई समर्थन गर्नुपर्ने भन्दै पार्टीभित्र निर्णय बदल्नुपर्ने आवाज उठाएका थिए । उनीहरू माओवादीसँगको गठबन्धन बनाउन नहुने पक्षमा छन् ।
संस्थ्ाापन पक्षमा नेतृत्वको आकांक्षा र कांग्रेसलाई सरकार बनाउन सहयोग गर्नुपर्छ भन्ने नेपाल-ओली समूह दुवैलाई स्वीकार्य हुने विकल्प चक्रीय प्रणालीको सरकार बनाउनमै अझै जोड दिनुपर्ने मध्यमार्गी नेताहरूको धारणा छ । 'अहिले सबै दलमा पदको लोभ बढेको छ, अब यो महत्त्वाकांक्षा त्यत्तिकै सेलाउँदैन,' एमाले पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेले भने, 'त्यसैले चक्रीय प्रणालीमार्फत सरकार चलाउने विकल्पमा जोड दिनैपर्छ ।' यस्तो हुँदा पार्टीभित्रका अन्तरकलहको पनि व्यवस्थ्ाापन हुन सक्ने उनले बताए । 'चक्रीय प्रणाली भयो भने एमालेभित्र पनि आफ्नै नेतृत्व हुनैपर्छ भन्ने अडान बलियो हुँदैन,' उनले भने, 'कुनै एउटा पार्टीलाई मात्र सहयोग गरेर जानुपर्छ भन्ने अडान पनि रहिरहँदैन ।'
'जस्तो सरकार बने पनि माओवादी संलग्नता हुनुपर्छ'
एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउनका लागि जस्तो सरकार बने पनि त्यसमा माओवादी संलग्नता जरुरी रहेको बताएका छन् । तर माओवादी नेतृत्वको सरकार भने स्वीकार्य नहुने उनले उल्लेख गरे ।
'अहिले शान्ति र संविधानलाई पूरा गर्ने सरकार चाहिएको छ उनले कान्तिपुरसँग भने, 'त्यसका लागि माओवादी संलग्न हुन सक्ने सरकारको जरुरी
छ । उनले माओवादी संलनग्नताबिनाको सरकारले शान्ति र संविधान निर्माणको राष्ट्रिय एजेन्डालाई निष्कर्षमा पुग्दैन भन्ने स्पष्ट भइसकेकाले जसरी पनि उसलाई सरकारमा ल्याउनुपर्ने बताए ।
'माओवादी लडाकुबाट मुक्त नहुन्जेल उसको नेतृत्व नस्विकार्ने हामीले भन्दै आएका छौं,' उनले भने, 'त्यसैले सबैको सहमति जुट्न सक्ने पार्टी एमाले हो । उनले कांग्रेसले नेतृत्वमा सहमतिको सरकार बन्न गाह्रो रहेको बताए । 'एमाले सहमतिलाई अप्ठ्यारो पर्नेगरी आफ्नै नेतृत्व गर्नुपर्छ भन्ने अडान बोकेर बस्दैन उनले भने, 'तर एमाले बीचको राजनीतिक शक्ति भएकाले माओवादी, कांग्रेस, मधेसवादीलगायतका सबै दललाई मिलाएर लान सक्छ । एमाले नेतृत्वमा भयो भने त्यसले उग्रवामपन्थ र दक्षिणपन्थ दुवैतर्फको सम्भावित खतरालाई रोकेर मुलुकलाई अग्रमनतर्फ लान सक्ने उनले दाबी गरे ।
प्रकाशित मिति: २०६७ पुस ३० ०८:५४
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks