कान्तिपुर संवाददाता
काठमाडौ, माघ १४ - चार महिनाअघि दोस्रो सन्तानकी आमा बनेपछि बलिउड अभिनेत्री काजोलले फिल्मी दुनियाँबाट केही वर्ष विश्राम लिने घोषणा गरेकी थिइन् । पारिवारिक समय बिताउन करिअरबाट पर सरेकी अभिनेत्रीले पद्मश्री सम्मान प्राप्त गरेकी छन् ।
भारतको उच्च नागरिक सम्मान आफ्नो भागमा पनि परेपछि 'इश्क' नायिकाको खुसीको सीमा
छैन । 'पद्मश्रीका लागि चुनिनु ठूलो सम्मान हो,' उनले फ्यान र निर्णायकहरूलाई धन्यवाद दिँदै भनिन्, 'म धेरैधेरै खुसी छु, नयाँ वर्ष यस्तो सम्मानसाथ सुरु भएकामा ।'
सन् सत्तरीको दशककी अभिनेत्री तनुजाकी छोरी काजोलले १७ वर्षको उमेरमा 'बेखुदी' बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनले कमर्सियल सफलता भने दोस्रो फिल्म 'बाजिगर' बाट पाइन् । उनका निकट मित्र रहेका शाहरुख खानसँगको अन-स्क्रिन केमेस्ट्रीका कारण यो फिल्मबाट उनीहरूको जोडी बलिउडमा 'गोल्डेन कपल' का रूपमा दरिएको थियो । शाहरुखसँगका 'करण-अर्जुन', 'दिलवाले दुल्हनियाँ ले जाएँगे', 'कुछ कुछ होता है', 'कभी खुसी कभी गम' र 'माई नेम इज खान' जस्ता फिल्मले उनको फिल्मी करिअर सफल बनाउन ठूलो भूमिका खेलेका छन् । बलिउडका उत्कृष्ट नायिकाहरूमा पर्ने काजोल पछिल्लो पटक 'वी आर फ्यामिली' र 'टुनपुर का सुपरहिरो' मा देखा परेकी थिइन् ।
यस वर्षको पद्मश्री सम्मान अभिनेत्री तब्बुले पनि प्राप्त गरेकी छन् । उनले 'पद्मश्रीले कडा परिश्रमको चिनारी दिने भएकाले यो अवार्ड पाउँदा सम्मानित र गौरवान्वित अनुभव भएको' बताइन् । 'द नेमसेक' मा तब्बुका को-स्टार रहेका इरफान खानले पनि यो अवार्डमा नाम लेखाएका छन् ।
पुराना अभिनेता शशि कपुर र अभिनेत्री वाहिदा रहमानलाई भने पद्म भूषण प्रदान गरिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks