Loving nepal news

Saturday, January 15, 2011

स्वास्थ्य तथा धार्मिक पर्यटकीय गन्तव्य बन्दै घलेगाउँ


प्रेमकुमारी घले

लमजुङ, माघ १ - प्राकृतिक र सांस्कृतिक बख्यानका साथ पर्यटकीय स्थलको रुपमा चर्चामा रहेको घलेगाउँ अब स्वास्थ्य तथा धार्मिक पर्यटकीय गन्तव्य बन्न लागेको छ ।

पर्यटन बर्ष सन् २०११ लाई सफल पार्ने र गाउँमा धेरै भन्दा धेरै पर्यटक भित्राउने लक्ष्यका साथ अहिले उनीहरु गाउँलाई स्वास्थ्य तथा धार्मिक पर्यटकीय स्थलको रुपमा प्रचार गर्न जुटेका छन् । लमजुङ, मनासलु र अन्नपूर्ण हिमालको काखमा अवस्थित घलेगाउँ प्राकृतिक छटाले भरिपूर्ण छ र गुरुङ संस्कृतिको धनी पनि । यसका अतिरिक्त स्वास्थ्य र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँछन् प्रकृतिको सेवामा लामो समयदेखि कृयाशील सर्वोदय सेवाश्रम लमजुङका अध्यक्ष कृष्णराज ओलिया । 'प्रकृति र संस्कृतिले मात्र हैन घलेगाउँ स्वास्थ्य र धार्मिक दृष्टिकोणले पनि उतिकै महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।' उनले भने ।

त्यही सम्भावनालाई उजागर गर्न उनले अहिले गाउँलेहरुसँग मिलेर 'ग्रीन एण्ड ब्ल्यू' अभियान सुरु गरेका छन् । अभियान ३२ औं योग दिवस तथा माघे संक्रान्तीको अवसर पारि माघ १ गते विधिवद् रुपमा शुभारम्भ गरिएको छ । योग दिवसको अवसरमा सयौं भक्तजनहरु घलेगाउँ पुगेका थिए । गाउँलेले माघे संक्रान्तीमा पुजा हुने उत्तरकन्या मन्दिर र ७ वटा कुवाहरुको संरक्षण गर्नुका साथै सोही स्थानमा पोखरी निर्माण गर्ने र योगस्तम्भ स्थापना गर्ने योजना बनाएका छन् । त्यसका लागि उनीहरुले चन्दा अभियान समेत सुरु गरेका छन् । उत्तरकन्या मन्दिरमा कुनै देवता छैन । गाउँलेहरुले त्यस मन्दिरमा वर्षौंदेखि जलको पुजा गर्दै आएका छन् । त्यहाँको पानी उत्तरतिर बग्ने भएकाले छुट्टै महत्व रहेको अध्यक्ष ओलिया बताउँछन् । समुद्री सतहबाट २१ सय मिटर उचाइमा रहेको घलेगाउँमा पानीको राम्रो स्रोत छ । उक्त ठाउँलाई उत्तरगयाको रुपमा विकास गर्नुपर्ने वातावरणवीद कूलराज चालिसे बताउँछन् । 'हामी पुन्य प्राप्तीका लागि स्नान गर्न भारतको गया हैन, अब स्वच्छ जलको उत्तरगया घलेगाउँलाई बनाउनुपर्छ ।' उनले भने ।

योग साधना क्षेत्रमा लागेका व्यक्तिहरुको हौसला पाएपछि घलेगाउँबासी पनि निकै खुशी भएका छन् । 'हामीले सधै प्रकृति र संस्कृतिको बख्यान गरौं, तर त्यही प्रकृतिभित्र लुकेका विषयलाई चिनेका रहेनछौं, घलेगाउँ ग्रामिण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले भने,'अब स्वास्थ्य र धार्मिक पर्यटकीय गन्तव्य बनाउन हाम्रो अभियान जारि रहनेछ ।' सार्क राष्ट्रमै नमूनाको रुपमा चिनिएको घलेगाउँमा हालसम्म करिब ३/४ हजार पर्यटक भित्रिसकेको छ । १ सय १५ घरधुरी रहेको घलेगाउँमा अधिकांश घरमा होम स्टेको व्यवस्था गरिएको छ । पर्यटकको चाप बढ्दै गएकाले अब प्रचारप्रसारसँगै पूर्वाधार व्यवस्थापनमा जोड दिने घले बताउँछन् ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks