
कान्तिपुर संवाददाता
काठमाडौ, पुस २२ - म लेखक होइन, कवि होइन । साहित्यकार पनि हैन । न त कुनै राजनीतिक पार्टीसँग नै आबद्ध छु । तर म देशभक्त सिपाही भने अवश्य हुँ ।' झन्डै ३५ वर्ष राजदरबारभित्र माथिल्लो तहमा रहेर बिताएका पूर्वसैनिक सचिव, रथी विवेककुमार शाहले आफ्नै बारेमा यसोभन्दा उनको परिचय भने थपिइसकेको थियो ।
कारण, भर्खरै उनीद्वारा लिखित पुस्तक 'मैले देखेको दरबारः सैनिक सचिवको संस्मरण' सार्वजनिक भएको छ । दैनिकीको रूपमा आएको उक्त पुस्तकले पूर्वसैनिक सचिवलाई एक साहित्यकारका रूपमा पाठकले चिन्नुभन्दा पनि केही चर्चित घटनाका साक्षीका रूपमा पाउनेछन्, जसमा उनले तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डका केही 'तथ्यहरू' पनि बाहिर ल्याएका छन् ।
'यस पुस्तकलाई विकिलिक्सको नेपाली संस्करणका रूपमा लिन सकिन्छ,' बुधबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित पुस्तकबारेको अन्तक्रिर्यामा बोल्ने क्रममा सरकारका पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले पनि शाहको पुस्तकले धेरै तथ्य बाहिर ल्याइदिएको टिप्पणी गरे । तर उनले यसको जवाफदेहिता भने लेखकमा हुनुपर्नेमा जोड दिए ।
२०२८ सालमा तत्कालीन शाही नेपाली सेनामा प्रवेश गरेको तीन वर्षमै राजदरबारमा सेवा गर्न छिरेका शाह दरबार हत्याकाण्डसम्म पनि वीरेन्द्रका अंगरक्षक थिए । हत्याकाण्डलाई 'डार्क होल'को संज्ञा दिँदै पूर्वसचिव ढुंगेलले अब त्यस्तो डार्क होललाई पुस्तकले धेरै हदसम्म जनसमक्ष ल्याइदिएको अनुमान गरे । भने, 'जबसम्म अन्य तथ्यहरू बाहिर आउँदैनन् र यसलाई काट्दैनन्, त्यसबेलासम्मका लागि पुस्तकका तथ्यहरूले सत्य बोलेका छन् भन्ने देखिन्छ ।'
मुलुकका ७५ जिल्ला र विदेशमा समेत तत्कालीन राजारानीसँगको निजी भ्रमणमा सामेल हुने अवसर पाएका रथी शाहले लेेखेको पुस्तकका बारेमा समीक्षात्मक टिप्पणी गर्दै पत्रकार युवराज घिमिरेले गम्भीर विषयमा पुस्तक डायरीका रूपमा आउँदा विवाद निम्तन सक्ने जोखिम भएकोले यसलाई पुस्तककै रूपमा ल्याउन सकेको भए बेश हुने बताए । 'सूचनाको स्रोत नै खोल्नुपर्छ त म (पत्रकारको नाताले पनि) भन्दिनँ, तर सूचनालाई थप विस्तृत व्याख्या हुनेगरी पुस्तक आउन जरुरी देख्छु,' उनले भने ।
पुस्तकका लेखक शाहले २०६० कात्तिक २१ मा सेवाबाट राजीनामा दिइसकेपछिको अन्योलमा केही राजनीतिक नेताहरूले आफ्ना जीवन भोगाइलाई पुस्तकका रूपमा ल्याउन सुझाव दिएपछि पुस्तकको खाका कोर्न थालेको अन्तक्रिर्या कार्यक्रममा सुनाउँदै भने, 'पुस्तकलाई मेरो ३५ वर्षको गर्भाधारण र १८ महिनाको प्रसववेदनाबाट जन्मेको सन्तानका रूपमा लिएको छु र यसमा सन्तुष्ट पनि छु ।'
पुस्तकका बारेमा समालोचना गर्दै स्तम्भकार दिनेश सत्याल 'सौरभ'ले पुस्तकमा लेखिएका कुराले नै आफ्ना भनाइलाई पुष्टि गर्ने भन्दै त्यसको समर्थन गरे । पुस्तकमा दीपेन्द्रले आमाको माया पाउन नसकेको, सार्वजनिक स्थानमै उनले छोराको गाला चड्काएको, अन्य स्रोतबाट खर्च जुटाउनुपर्ने बाध्यता रहेको, लागूऔषध प्रयोगको लत आदि सूचनाहरू यसअघि नै मिडियामा आइसकेका र पुस्तकले तिनलाई तथ्यतग ढंगले पुष्टि गरेको बताए ।
पत्रकार घिमिरे पुस्तक साधारण जनताका लागि 'सूचनाको पोको' भए पनि लेखकका लागि भने जोखिमपूर्ण काम भएकाले सम्भावित प्रतिक्रियाका लागि तयार हुनुपर्नेमा जोड दिए । लेखक रथी शाहले पनि राजाको एडीसी (अंगरक्षक) का रूपमा २५ वर्ष अरूको ज्यानको सुरक्षाका लागि आफू ढाल बनेर बिताइसकेकोले पनि कुनै पनि खतरा सामना गर्न तयार रहेको प्रतिक्रिया दिए । भने, 'यदि मेरो कामले नेपालीको हित हुन्छ भने बलिदानी दिन तयार छु । व्यक्तिको रक्षार्थ ढाल बनेको म, वर्तमान देशको गम्भीर अवस्थाका बेला पनि मुलुकको ढाल बन्नुपर्ने ठान्छु ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks