Loving nepal news

Friday, January 7, 2011

८०% डाक्टर 'बंक' गर्छन्


अतुल मिश्र

काठमाडौ, पुस २४ - विद्यार्थीले कक्षा बंक गरेको पटक-पटक सुनेकै हौं । स्कुले नानीहरूको यो बानी सरकारी अस्पतालका डाक्टरहरूमा पनि ठ्याक्कै सरेको छ । १० दिनसम्म गरिएको अनौपचारिक सर्वेक्षण र अवलोकनमा वीर अस्पतालका ८० प्रतिशत चिकित्सक 'बंक' गरी निजी क्लिनिक र अस्पताल धाउने गरेको पाइयो ।६० प्रतिशत चिकित्सक निर्धारित समयमा अस्पतालै पुग्दैनन् ।
पुगिहाले पनि केही समय बसेर भागिहाल्छन् । चिकित्सकलगायत कर्मचारी हिउँदमा बिहान ९ देखि ४ र गर्मीयाममा ९ देखि ५ बजेसम्म अस्पताल बस्नुपर्ने नियम छ ।
कार्यतालिकाअनुसार दिउँसो एक बजेपछि एक घन्टा खाजा खाने समय हो । तर अधिकांश चिकित्सक खाजापछि बाहिरिन्छन् । ३ नबज्दै करिब ८० प्रतिशत चिकित्सक अस्पताल छाडेर निजी क्लिनिकमा व्यस्त हुन थालिसकेका हुन्छन् । खाजापछि अस्पताल क्रमशः स्नातकोत्तर अध्ययनरत विद्यार्थीको जिम्मामा पुग्छ ।
८० प्रतिशत चिकित्सकले अस्पताल बंक गर्ने गरेको निर्देशक बुलन्द थापाले पनि स्विकारे । 'सही हो, म बहिरंग विभाग घुम्न जाँदा तीन बजे नै ताल्चा मारेको हुन्छ, कुनैमा पियन मात्र हुन्छन्,' समाजमा प्रबुद्घ मानिने पेसाकर्मी चिकित्सकलाई बाँधेर राख्न नसकिने उल्लेख गर्दै थापाले भने ।
वीरमा पहिले बिहान ९ देखि दिउँसो दुई बजेसम्मको कार्यतालिका थियो । त्यसपछि बहिरंग सेवा बन्द हुन्थ्यो । विस्तारित स्वास्थ्य सेवाअन्तर्गत पछि गर्मीमा २ देखि ५ र हिउँदमा ४ बजेसम्म चिकित्सक बस्नुपर्ने नियम बनाइएको हो । दिउँसो दुईदेखि साँझ चार बजेसम्म बस्ने चिकित्सकलाई चिकित्सा विज्ञान
राष्ट्रिय प्रतिष्ठान -नाम्स) ले ५० प्रतिशत अतिरिक्त तलब दिने गरेको छ । 'पहिलेको संस्कार हटाउन गाह्रो भएको छ । तैपनि सकेसम्म अन्य रणनीति अपनाउने प्रयास जारी छ,' थापाले भने, 'दुई-तीन बजेपछि बंक गर्ने चिकित्सकका लागि हामी छिट्टै नयाँ प्रावधान ल्याएर बस्न बाध्य पार्ने तयारीमा छौं ।'
निर्देशक थापाले केही दिनअघि मेडिसिन विभागका सबै चिकित्सकलाई साढे तीन बजे बैठक हुने जानकारी दिँदै अनिवार्य उपस्थित हुन दुई बजे सूचित गरेका थिए । तर ५० भन्दा बढी चिकित्सक रहेको उक्त विभागका दुई जना मात्रै बैठकमा उपस्थित भए । बाँकी क्लिनिक र निजी अस्पताल पुगिसकेका थिए । 'उहाँहरू अस्पतालबाट भागेर आफ्नो क्लिनिक चलाउनुहुन्छ,' उनले भने । अस्पतालको पार्किङमा बिहान चिकित्सकहरूको गाडी अटाईनअटाई हुन्छ भने दुई बजेपछि त्यो ठाउँ रित्तै देखिन्छ ।
'एकाधबाहेक सबै डाक्टरहरू अस्पताल समयमै निजी क्लिनिक चलाउँछन्,' एक वरिष्ठ चिकित्सकले भने, 'दुःखद कुरा हो कि वीर अस्पताल चिकित्सकका लागि पसल चलाउने माध्यम बनेको छ, सर्वसाधारण स्वास्थ्य सेवा पाउनबाट वञ्चित भइरहेका छन् ।'
अस्पताल बंक गर्ने चिकित्सकको भने तर्क अर्कै छ । 'घर-व्यवहार चलाउनै पर्‍यो, जति ठूला कुरा गरे पनि सबैजना जहाँ बढी पैसा छ, त्यहाँ कुनै न कुनै बहानामा पुग्छन् नै,' अस्पतालको समय नसकिँदै क्लिनिक पुग्ने गरेका एक चिकित्सकले भने ।
अर्का चिकित्सकले भने एक/दुई घन्टा अस्पतालमा राउन्ड गरेपछि खासै काम नहुने भएकाले आफू नबस्ने गरेको बताए ।
'कामै हुँदैन, व्यर्थै किन बस्ने ?' उनले भने, 'साँच्चै भन्ने हो भने अस्पतालमा हामीलाई बस्ने ठाउँसमेत छैन ।' अर्का शल्यचिकित्सकले आवश्यक पर्दा जुनसुकै बेला अस्पताल जान तयार रहेको उल्लेख गर्दै काम नभएका बेला त्यत्तिकै थन्किएर नबस्ने बताए । चिकित्सकहरू निर्धारित समयसम्म अस्पताल नबसेपछि त्यही सिको अहिले कर्मचारीले पनि गर्न थालेका छन् । यसले गर्दा निर्देशक थापा लेखा, प्रशासन र बहिरंग विभागमा बस्ने पारा मेडिक्सलगायत कर्मचारीलाई बिहान साढे नौ बजे छड्के जाँच गर्न बाध्य भएका छन् । 'समस्या हटाउन पहल जारी छ,' उनी भन्छन् ।
पाँच सय चार शय्याको वीर अस्पतालमा हाल सरकारका तर्फबाट ९८ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का तर्फबाट ४२ गरी १ सय ४० चिकित्सक कार्यरत छन् । मुलुकका विभिन्न भागबाट दिनहुँ १२ सयसम्म सर्वसाधारण बिरामी सेवा लिन आउँछन् ।
आधा घन्टासम्म ड्युटीमा डाक्टर भेटिएनन्
वीरको एमएसटीए न्युरो वार्डमा साताअघि उपचाररत बागलुङ नगरपालिका, मूलपानीकी ६७ वर्षीया प्रेमकुमारीको स्वास्थ्य स्थिति अत्यन्तै जटिल भएपछि चिकित्सकको खोजी भयो ।
तर आधा घन्टाभन्दा बढी कुर्दा पनि ड्युटीमा डाक्टर भेटिएनन् । साँझ साढे सात बजे बिरामीको नाडी र श्वासप्रश्वास अस्वाभाविक भएपछि वार्डको सिस्टरले माइक र मोबाइलमार्फत पटक-पटक चिकित्सकलाई आकस्मिक अवस्थाको जानकारी दिँदै उपस्थित हुन सूचित गरे पनि उनी भेटिएनन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks