
कान्तिपुर संवाददाता
काठमाडौ, पुस २३ - भारत भ्रमणमा रहेका माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले नेपालको राजनीतिक गतिरोध अन्त्यका लागि चार उपाय अघि सारेका छन् । विवेकानन्द फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले चार तरिकाले समाधान निकाल्न सकिने बताएका हुन् ।
'पुरानो संसदीय व्यवस्थामा माओवादी जान नसक्ने र नयाँ जनवादी व्यवस्थामा अन्य दल जान नसक्ने अवस्था छ,' उनको भनाइ थियो, 'दुवैलाई मान्य हुने गरी बीचको लोकतान्त्रिक मोडेल अपनाउन सकिन्छ ।' यो उनको पहिलो उपाय हो ।
पहिलो सत्रको कार्यक्रममा 'वैचारिक र रणनीतिक आधारहरू' शीर्षकको कार्यपत्रमा उनले दोस्रो उपायको रूपमा नेपाली सेना र जनसेनाको सम्मानजनक निकास बताएका थिए । 'पुरानो सेनाको लोकतान्त्रीकरण र जनमुक्ति सेनाको सम्मानजनक समायोजन भए निकास निस्कन्छ,' उनले भने । उनले सबै जातजाति, वर्ग, क्षेत्र आदिलाई समेट्ने गरी आर्थिक विकास नीतिमा दलहरूबीच सहमति गरी जान सकिने बताएको कार्यक्रममा सहभागी पत्रकार प्रशान्त झाले जानकारी दिए ।
चौथो उपायका रूपमा उनले राष्ट्रिय स्वाधीनता र विदेशी नीतिबारे दलहरूले साझा अवधारणा बनाउनुपर्ने बताए । 'राष्ट्रिय स्वाधीनता र विदेश नीतिमा साझा अवधारणा बनाउनुपर्छ,' उनको भनाइ थियो ।
कार्यक्रमममा उनले संविधान निर्माण, सेना समायोजन, पुनःस्थापना र सत्ता साझेदारीमा दलहरूबीच सहमति हुनुपर्ने औंल्याए । त्यसका लागि प्याकेजमा सहमति हुनुपर्ने उनको भनाइ
थियो । 'दलहरूबीच सहमति आधारमा माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सकिन्छ,' उनले भने, 'त्यसो नभए साझा उम्मेदवार कायम गरेर पनि समाधान निकाल्न सकिन्छ ।'
कार्यक्रममा कांग्रेस नेता रामशरण महतले कांग्रेस उदारढंगले प्रस्तुत भएको बताएका थिए । 'कांग्रेसले गर्नुपर्ने सबै काम गरिसक्यो,' उनको भनाइ थियो, 'माओवादीले गर्नुपर्ने काम गरेन ।'
कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरी, राजनीतिक शास्त्री हरि शर्माले पनि धारणा राखेका थिए ।
दोस्रो सत्रको कार्यक्रममा संविधानविज्ञ भीमार्जुन आचार्य र अग्नि खरेलले संविधान निर्माणको प्राविधिक विषयमा धारणा राखेका थिए । त्यस्तै तेस्रो सत्रमा पूर्वसेनापति रुक्मांगद कटवालले अधिनायकवाद चाहने कि लोकतन्त्र भन्दै माओवादीको आलोचना गरेका थिए । माओवादी सैन्य इन्चार्ज वर्षमान पुनले सेना समायोजनका चार मोडेल प्रस्तुत गरेका थिए । उनले सेना समायोजन गर्दा नयाँ शक्ति बनाउने, संयुक्त बल निर्माण र समायोजन गर्नुपरे समूहगत हुनुपर्ने धारणा राखेका थिए ।
तराई मधेससम्बन्धी विषयमा शुक्रबार सद्भावना पार्टीका नेता अनिल झा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जितेन्द्र देव, पत्रकारद्वय बबिता बस्नेत र प्रशान्त झाले धारणा राख्ने छन् । नेपाल-भारत सम्बन्धका विषयमा प्राध्यापक लोकराज बराल, दिल्लीस्थित नेपालविद् संगीता थपलियाले बोल्नेछन् ।
विवेकानन्द फाउन्डेसनका निर्देशक तथा भारत इन्टेलिजेन्स ब्युरोका पूर्वप्रमुख अजित डोवालले आयोजना गरेको कार्यक्रमको उदघाटन परराष्ट्रमन्त्री सुजाता कोइरालाले गरेकी थिइन् ।
यसैबीच भट्टराईले प्रमुख प्रतिपक्ष दलकी नेतृ एवं भारतीय जनता पार्टीका नेता सुष्मा स्वराजसँग 'शिष्टाचार भेट गरेका थिए । 'सामान्य शिष्टाचार भेट भयो,' उनले दिल्लीबाट कान्तिपुरसँग भने, 'नेपालका राजनीतिक अवस्थाबारे कुराकानी भयो ।' अपराह्न उनले भारतमा रहेका आफ्ना कार्यकर्तासँग अन्तक्रिर्या गरेका थिए । शुक्रबार सुरक्षा सल्लाहकार मेनन, विदेशमन्त्री एसएम कृष्णा र गृहमन्त्री पी चिदाम्बरम, भारतीय कम्युनिस्ट पार्टीका महासचिव प्रकाश करातसँग भेटवार्ता हुने सम्भावना छ ।
भट्टराई बुधबार अर्थमन्त्री प्रणव मुखर्जी, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र परराष्ट्र सचिव निरुपमा रावसँग माओवादी-भारत सम्बन्ध, नेपालको राजनीतिक अवस्थालगायत विषयमा वार्ता गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks