
सुशील पौडेल
मेघौली (चितवन), माघ १० - फिल्म पढ्न सधैं काठमाडौंको गौशालास्थित ओस्कार कलेज धाउने स्नातक तह तृतीय वर्षका आलोक घिमिरे मेघौलीमा छन् । वन्य जन्तुसँग रमाउन होइन, फिल्मकै बारे थप ज्ञान हासिल गर्न ।
रोचक के भने शुक्रबार राजधानीबाट यहाँ आइपुगेका उनीसँग आफ्नै गुरुहरू पनि छन्, फिल्मबारे थप गहिरो ज्ञान लिने क्रममा । दुवै पुस्ता सँगै बसेर विदेशी फिल्मकर्मीसँग पढिरहेका छन् ।
'सिक्नको लागि यहाँको वातावरण काठमाडौंको भन्दा राम्रो छ,' चलचित्र निर्देशक समाजले गरेको अन्तर्राष्ट्रिय फिल्म कार्यशालामा ओस्कारकै आधा दर्जन विद्यार्थी साथीसँग आइपुगेका उनले भने, 'देशकै चलेका फिल्मकर्मीसँग र विदेशीसँग प्रत्यक्ष जिज्ञासा राखेर सिक्न पाउनु किताब पढ्नुभन्दा धेरै उत्कृष्ट अवसर हो ।'
भारतीय सीमा नजिकै रहेको गोलाघाट वाइल्ड लाइफ रिसोर्टमा केदारका साथ समकक्षी साथीमात्रै छैनन्, कलेजमा पढाउँदै आएका प्राध्यापक लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय र कलेज प्रमुख डा. घनश्याम खतिवडासँगै विदेशी फिल्मकर्मीहरू पनि छन्, जो आ-आफ्ना ज्ञानसहित जिज्ञासा पनि एकसाथ बाँडिरहेका छन् ।
'कार्यशालालाई मैले आफ्नो क्षमताको पुनरावलोकनका रूपमा हेरेको छु,' झन्डै १३ वर्षअघि भारतको पुना विश्वविद्यालयबाट फिल्ममा पोस्ट डिप्लोमा ग्राजुएसन सकाएर त्यही विषय पढाउँदै आएका लक्ष्मीनाथले भने ।
फिल्म व्यापक विषय भएकाले यसको निर्माण, प्रदर्शन र समस्याबारे बुझ्न कार्यशाला लाभदायक भइरहेको सिनेम्याटोग्राफर प्रदीप उपाध्यायले बताए । 'त्यसबाहेक विदेशी फिल्मको प्राविधिबारे पनि सम्बन्धित फिल्मकर्मीबाटै जान्न पाएँ ।' नेपाली फिल्मकर्मी सबैले यो विषयमा उत्तिकै चासो देखाएकोप्रति उनले खुसी पनि प्रकट गरे ।
खतिवडाले कार्यशालालाई 'थप खुराक मिलेको र त्यसलाई अरूसमक्ष पनि बाँड्ने' बताए ।
माघको मध्य चिसोमा यतिबेला झन्डै छ दर्जन नेपाली फिल्मकर्मी गोलाघाट रिसोर्टको चौरमा टेन्ट गाडेर 'लर्निङ क्याम्प' चलाइरहेका छन् । बाहिरी दुनियासँग विच्छेद प्रायः भई गरिएको कार्यशालामा भारतीय फिल्म निर्देशक केएनटी शास्त्री र दक्षिण कोरियाली निर्देशक दोङ किम बिनले फिल्म निर्माणका विषयमा साक्षात्कार गरिरहेका छन् ।
ओस्कारकै पूर्वविद्यार्थी समेत रहेका निर्देशक रामराजा दाहालले पनि कार्यशालामा पहिलेको र अहिलेको पुस्ताबीचमा ज्ञान आदानप्रदान हुनु लाभदायक भएको बताए । प्रदीप पनि उनको भनाइमा सहमत हुँदै नयाँले फिल्मको इतिहासको उतारचढाव बुझेमात्रै नयाँ थालनीमा सफल हुने विचार राखे ।
लक्ष्मीनाथले पनि नयाँ पुस्तासँग एउटै कार्यशालामा अनुभव साट्दा फिल्मको प्रस्तुतिलाई समसामयिक बनाउन सहयोग पुग्ने आशा राखे । उनले कार्यशालामा केही नयाँ गर्न र सिक्न चाहने फिल्मकर्मीको उपस्थिति रहे पनि सबै नआएकोमा गुनासो पनि गरे । प्रदीपले त 'यथास्थितिवादी सोचका कारण पनि कतिपय नआउनु दुःखद् भएको' टिप्पणी गरे ।
ओस्कारकै विद्यार्थी प्रतिमा श्रेष्ठले शैक्षिक रूपमा पढेका कतिपय कुराहरूमा रहेका शंकालाई प्रतिष्ठित विदेशी फिल्मकर्मी प्रत्यक्ष साक्षी राखी स्पष्ट हुन पाएकोमा खुसी व्यक्त गरिन् । बिहान उठेदेखि नसुत्दासम्म खाजा, खानाबाहेक सम्पूर्ण समय सहभागीले फिल्मकै विविध आयाममा अन्तरक्रिया गरिरहेका छन् । आइतबार बेलुकी सहभागीले स्थानीयवासीसँगै तुलसी घिमिरे निर्देशित फिल्म 'चिनो' हेरे । कार्यशाला बुधबारसम्म चल्नेछ ।
प्रकाशित मिति: २०६७ माघ १० ०९:१२
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks