
देवनारायण साह
सिरहा, माघ ११ - कसहा चोकबाट सोमबार तीन हतियारधारीले मोटरसाइकल लुटेर फरार भएका छन् । लहानका जग्गा व्यापारी जितन यादव र प्रकाश चौधरी चढेर आइरहेका स२प ६५०७ नं. को पल्सर मोटरसाइकल राजमार्गमै बन्दुक तेस्र्याएर हतियारधारीले लुटेका हुन् ।
लुटेराहरूले नगद ११ हजार र २ थान मोबाइल पनि खोसेर लगेको पीडितले बताए । प्रहरी लुटपाट भएको ४५ मिनेटपछि घटनास्थलमा पुगेका थिए । इलाका प्रहरी कार्यालय गोलबजारका नायब प्रहरी निरीक्षक रुद्र खड्काले लुटेराहरूको पहिचान भई खोजी जारी रहेको बताए ।
पाँच दिनअघि अपहरणमा परेका असनपुर ४ का सरोज साहको अवस्था अझै अज्ञात छ । अपहरण भएयता उनको घरमा चुल्हो बलेको छैन । अपहरितकी हजुरआमा ८२ वषर्ीया गुलाव देवी साह ७२ घन्टादेखि घरमै कुल देउताको मूर्तिअगाडि फूल अक्षता र लड्डु राखेर प्रार्थना गर्न बसेकी छन् ।
प्रहरी र गाउँलेहरू मिलेर अपहरितको खोजी गरिरहे पनि पत्तो लागेको छैन । सिरहाको उत्तरी भेक चुरे पर्वत छेउछाउका बस्तीहरूमा ४ दिनयता खोजी भइरहेको प्रहरी निरीक्षक वासुदेव खतिवडाले बताए । अपहरितका काका तथा व्यापारी लालबाबु साहले प्रहरीले चक्काजाम र बन्द हडताल नगरिदिनुस् भनेकाले ३ दिनका लागि आन्दोलन स्थगित गरेको बताए । उनले भने, 'प्रहरीको यस्तै रबैया रहने हो भने कडा संघर्षमा उत्रन बाध्य हुनेछौं ।'
अपहरितको खोजीमा प्रहरी प्रसाशनले उदासीनता देखाएको भन्दै सिरहाको गोलबजारका स्थानीय व्यापारीहरूले पुस ७ र ८ मा चक्का जाम र बजार बन्द गराएका थिए । व्यापारीहरूले सडकमा टायर बालेर प्रदर्शनमा ओर्लिएका कारण प्रहरीसँग झडप भएको थियो । झडपमा ३० व्यापारीहरू घाइतेसमेत भएका थिए । व्यापारीहरूले अपहरणकारीसँग प्रहरीको पनि साँठगाँठ रहेको सरोजका आफन्त उमेश साहले बताए ।
प्रहरीले शंकास्पद ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा असनपुर ७ का भागेश्वर, असनपुर ६ का जीवन र विनोद र लालपुर २ का सुशील साह तथा जमदहका विनोद यादव छन् । प्रहरीले शंकास्पद एक मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
असनपुर-४ बस्ने सरोज साहलाई माघ ६ गते साँझ ७ बजे सशस्त्र हतियारधारीहरूले अपहरण गरेका थिए । त्यस्तै, पुुस १६ मा गोलबजारबाटै ८ वषर्ीय बालक जीवन यादवको पनि अपहरण भएको थियो । परिवारजनले अपहरणकारीलाई दुई लाख ५० हजार फिरौती दिएर उनलाई मुक्त गराएको बताए । जिल्लामा यस वर्ष २१ वटा अपहरणका घटना भएका छन् ।
शृंखलाबद्ध अपहरण र लुटपाटका कारण गोलबजार र वरपरका क्षेत्रमा भय व्याप्त छ । हिजोआज साँझ ५ बजे नै बजार बन्द हुने गरेको छ । गोलबजारवाट व्यापारीहरू पलायन हुन थालेको व्यापार संघका सचिव फुलेश्वर नायकले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks