Loving nepal news

Tuesday, January 4, 2011

पाल्पाका १४ पत्रकार पुरस्कृत

कान्तिपुर संवाददाता
पाल्पा, पुस २० - जिल्लाका १४ पत्रकारलाई नेपाल पत्रकार महासंघ पाल्पा शाखाले पुरस्कृत गरेको छ । कान्तिपुर दैनिकका संवाददाता माधव अर्याललाई २०६७ र नेशनल टेलिभिजनका संवाददाता प्रकाश नेपाललाई २०६६ सालको 'उत्कृष्ट पत्रकारीता पुरस्कार' प्रदान गरियो ।
महासंघ पाल्पा शाखाको १९ औं स्थापना दिवशको अवसरमा अर्याल र नेपाललाई ताम्रपत्र, दोसल्ला र नगद ४ हजार १ रुपैयाँ प्रदान गरियो । तानसेन नगरपालिकाको सहयोगमा 'उत्कृष्ट पत्रकारीता पुरस्कार' प्रदान गरिन्छ ।
पत्रकार भुषण राजलवटले स्थापना गरेको 'वैकुण्ठध्वज पत्रकारीता पुरस्कार' बाट सगरमाथा टेलिभिजनका संवाददाता किरण कौशल, राससका संवाददाता जीवलाल सुवेदी, श्रीनगर एफएमका स्टेशन मेनेजर देव पचभैया, रेडियो मदनपोखराकी गीता ज्ञवाली, रेडियो मुक्तिनाथका राजेन्द्र लिगल पुरस्कृत भए । नगद ३ हजार ५ सय १, दोसल्ला र प्रमाणपत्र पाए । राजलवटले पुरस्कार राशी ८ हजार १ बनाउने घोषणा गरे ।
जिविसको सहयोगमा स्थापना गरेको 'सिर्जनशील पत्रकारीता पुरस्कार' बाट रेडियो मदनपोखरामा कार्यरत जुना घिमिरे र दिपक ढुंगाना, एभिन्यूज टेलिभिजनका संवाददाता अनिल लिगल र गोरखापत्रका पाल्पा संवाददाता रेखीराम रानालाई जनही नगद २ हजार १ र प्रमाणपत्र प्रदान गरियो ।
बुद्धीजीवी बुद्धीप्रसाद शर्माले आफ्नो बाबुआमाको नाममा स्थापना गरेको 'देवीभक्त चोल कुमारी सामाजिक सेवा पत्रकारीता पुरस्कार' बाट कार्यसमिति सदस्यद्धय लक्ष्मण घिमिरे र हरिबहादुर सारुलाई नगद १ हजार ५ सय १ र प्रमाणपत्रले उनीहरुलाई सम्मान गरियो । पुरस्कार संस्थापक शर्माले अक्षयकोषमा ५ हजार रुपैयाँ थप गर्ने सोहि कार्यक्रममा घोषणा गरे । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडिले स्थापना गरेको 'सामाजिक जागरण पत्रकारीता पुरस्कार' बाट एवीसी टेलिभिजनका संवाददाता कृष्ण पोखरेललाई नगद १ हजार १ सहित प्रमाणपत्रले सम्मानित गरियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks