Loving nepal news

Saturday, January 29, 2011

फिल्मका राजनीतिक कुरा

कान्तिपुर संवाददाता

काठमाडौ, माघ १६ - फिल्म 'शासन' को म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा प्रस्तुतकर्ता लोकेन्द्र कार्की अघिल्लो साता केही बढी 'राजनीतिक गफ' हाँकिरहेका थिए । केही सञ्चारकर्मीले टिप्पणी गरिहाले- लोकेन्द्र कलाकार होइन, नेता पो बन्दैछन् । 'राजनीति सबैले बुझ्नुपर्छ' उनले जवाफ फर्काए, 'नेता बन्न खोजेको चाहिँ होइन है ।'

अहिले पनि उनी राजनीतिक कुरा नै गर्दै हिँडिरहेका छन् । आफैं मुख्य भूमिकामा रहेको फिल्म 'शासन' मुलुकको वर्तमान राजनीतिको ऐना भएको बताउँदै उनी राजनीतिभित्रको कुरूपता 'चिरफार गर्न' फिल्मले सघाउने दाबी गर्छन् । 'द्वन्द्व र राजनीतिक अस्थिरता चलिरहेका बेला' उनले भने, 'मानव अधिकारकर्मीहरूको भूमिका सबैभन्दा ठूलो हुन्छ ।' आकाश अधिकारीको निर्देशन रहेको फिल्म 'शासन' मा भने विपरीत दृश्य देखिने उनले बताए । 'यहाँ त मानव अधिकारकर्मी स्वयं राजनीतिक र आर्थिक स्वार्थबाट अभिप्रेरित छन् । यो यथार्थलाई पनि फिल्मले समाउन खोजेको छ ।' सञ्चार माध्यमहरूमार्फत उनको यो भनाइ सार्वजनिक भएपछि 'केही दिग्गज मानव अधिकारकर्मीहरूले ठाडैचाहिँ नबोलिदिनु भए हुन्थ्यो भनेर गुनासो गरेको' पनि उनले दाबी गरे ।

राष्ट्रपति भवनमा समेत सुटिङ गरिएको फिल्मको अर्को पाटो 'राष्ट्रियता' रहेको उनले बताए । केही अघि त्रिभुवन आर्मी अफिसर्स क्लबको पि्रमियर शोमा 'राष्ट्रियताको मुद्दामा राम्रो

प्रशंसा मिलेको' दाबी गर्दै उनले त्यसको प्रभावस्वरूप केही दिनभित्रै उच्च राजनीतिक र सुरक्षा व्यक्तित्वका लागि शोको तयारी भइरहेको पनि उनले खुलाए । 'अहिलेसम्म नेपालमा जति पनि ठूल्ठूला अपराधका घटना भएका छन्, ती सबैमा केही न केही रूपबाट भारतीय नागरिकको संलग्नता भेटिन्छ,' उनले भने, 'फिल्मले यता पनि इंगित गर्न खोजेको छ ।'

इन्टरनेसनल बिजनेस नेटवर्कका प्रमुख कार्यकारी अधिकृत रहेका लोकेन्द्रले पचासको दशकबाट फिल्म करिअर थालेका हुन् । 'सोल्टिनी' बाट अभिनय यात्रा सुरु गरेका उनले 'जंगे', 'आर्मी', 'दुलाहा राजा दुलही रानी', 'देउराली' लगायतका फिल्ममा खेलेका छन् । इन्टरनेसनल मुभी मेकिङ प्रालिको ब्यानरबाट पहिलोपटक उनले प्रस्तुत गर्न खोजेको 'शासन' मा धीरेन शाक्य, रेखा थापा, सञ्चिता लुइँटेल, सम्राट सापकोटालगायतको अभियन रहेको बताइएको छ ।

एक करोड पचास लाख लगानी रहेको दाबी गर्दै उनले कुल लगानीको २० प्रतिशत उनकै सामाजिक संस्था आईबीएन फाउन्डेसनमार्फत सामाजिक कार्यमा लगाउने बताए । माघको तेस्रो साता रिलिज गर्ने तयारी भइरहेको फिल्मको गीत 'कालीगण्डकीको तिर...' 'शासन शासन...', 'कहाँबाट आउँछ कहाँ जान्छ माया...' र 'रत्यौली...' को म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks