
योगेश खतिवडा
काठमाडौ, माघ ११ - सुन आयात खुला भएपछि बैंकहरूले ल्याएको सुन बिक्री भएको छैन । सुनचाँदी आयातको व्यवस्था झन्झटिलो भएको भन्दै व्यवसायीले अवैध बाटोबाट आउने भारतीय सुन किनिरहेका छन् । बिक्री नभएपछि दैनिक १५ किलो सुन ल्याउने अधिकार पाएका बैंकले त्योभन्दा धेरै कम सुन ल्याइरहेका छन् ।
आयात खुला भएको झन्डै एक महिनाको अवधिमा तीन वटा बैंकले १ सय ५० किलो सुन ल्याएका छन्, जसको २० प्रतिशतभन्दा कम मात्र बिक्री भएको बैंकहरूले जनाए । 'बैंकहरूले ल्याएको सुनमध्ये ३० किलोभन्दा कम बिक्री भएको छ,' एनआइसी बैंकका कमोडिटिज एन्ड फाइनान्स मार्केट प्रमुख सरोज गुरागाईले भने । उनका अनुसार दैनिक १/२ किलोको हाराहारीमा मात्र सुन बिक्री भइरहेको छ । अहिले विवाहको मौसम भएकाले स्थानीय बजारमा दैनिक २५ किलोभन्दा बढी सुनको माग हुन्छ । 'हामीले २० दिनअघि ५० किलो सुन ल्याएका थियौं,' भन्सार बढाई आयात खुला भएपछि सबैभन्दा पहिले सुन भित्र्याउने एनआइसीका गुरागाईले भने, 'त्यसमध्ये १७/१८ किलो मात्र सुन बिक्री भएको छ ।'
सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य झन्झटिलो प्रावधानका कारण बैंकको सुन बिक्री नभएको बताउँछन् । एकपटक सुन किनेपछि त्यसको ५० प्रतिशत सुन बिक्री गरेको रसिद बुझाएपछि मात्र अरू सुन पाउने व्यवस्थाले यसमा अझ समस्या थपेको उनको भनाइ छ । 'बिक्री वितरणको नयाँ व्यवस्था धेरै झन्झटिलो छ,' उनले भने, 'त्यसैले व्यवसायीले केही महँगो पर्ने भए पनि भारतीय सुन किनिरहेका छन् ।' नयाँ व्यवस्थामा एक व्यवसायीले एकपटकमा १ सय देखि ५ सय ग्रामसम्म सुन किन्न पाउँछ । 'एक किलो सुन किन्न दुई जना देखि १० जना जम्मा हुनुपर्छ,' उनले भने, 'आफूलाई चाहिँदा भेला गर्न नसक्ने भएपछि धेरै व्यवसायीले भारतीय बजारबाट सुन किनिरहेका छन् ।'
संघले जिल्ला संघलाई सुनचाँदी किन्न व्यवसायीलाई सिफारिस दिने अधिकार दिएको उनले बताए । 'जिल्ला संघबाट २०/२५ किलोको सिफारिस भएको जानकारी आएको छ,' उनले भने, 'आयात खुलापछि बैंकहरूले ४ सय किलोभन्दा बढी ल्याउने बेला भइसक्यो । तर सिफारिस लैजानेको संख्या अत्यन्त काम छ ।' हालसम्म एनआइसी र बैंक अफ काठमाडौंले वाग्मती अञ्चलका लागि १ सय किलो सुन भित्र्याए भने लक्ष्मी बैंकले वाग्मती बाहिरका लागि ५० किलो सुन ल्याइसकेको छ ।
बैंकको सुन गहनाका लागि मात्र बेच्न पाउने व्यवस्थाले ठूला व्यवसायीले किनेको सुन साना व्यवसायीले किन्न पाउँदैनन् । 'काँचो सुन बिक्री गर्न पाउने व्यवस्था छैन,' उनले भने, 'साना व्यवसायीले १० देखि ५ सय ग्राम सुन किन्न सक्ने अवस्था छैन । भारतबाट १/२ तोला सुन पनि किन्न पाउँछन् । त्यसैले साना व्यवसायीले त बैंकबाट सुन नै लिएका छैनन् ।' उनका अनुसार भारतबाट अवैध रूपमा आउने सुनको मूल्य बैंकको सुनभन्दा दस ग्राममा १ सयदेखि २ सय रुपैयाँ मात्र महँगो छ ।
एनआइसीका गुरागाईले बजार मूल्य प्रतिस्पर्धामा चल्ने बताए । 'भारतीय बजारभन्दा सस्तो महँगो भन्ने कुरा हुँदैन,' उनले भने, 'सिफारिस लिएका छौं, कम मूल्यमा दिन सकिन्न कि भनेर पनि व्यवसायीहरू बैंक आएका छैनन् ।' संघका अध्यक्ष शाक्यले बिक्री प्रक्रिया झन्झटिलो भएकाले पुनः मूल्यांकन गर्न वाणिज्य मन्त्रालयलाई अनुरोध गरेको बताए ।
उनका अनुसार अहिले भारतीय बजारबाट दैनिक २५ किलो भित्रिइरहेको छ । यस आधारमा हेर्दा मुलुकको सबै सुरक्षा निकायको समेत संरक्षणमा यो महँगो धातु निर्वाध रूपमा राजधानी आइरहेको अनुमान गर्न सकिन्छ, जसका कारण सरकारले ठूलो परिणाममा राजस्व गुमाइरहेको छ । प्रतिदस ग्राम १ हजार रुपैयाँका दरले सरकारले दैनिक २५ लाख रुपैयाँ राजस्व गुमाइरहेको देखिन्छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks