
कान्तिपुर संवाददाता
काठमाडौ, माघ ११ - सुटिङ नभएको बेला अल्छी लाग्छ । आठ-नौ बजेसम्म सुत्छु । एक्सरसाइज गर्दिनँ । उठ्नेबित्तिकै तातोपानी चाहिन्छ । तीन ग्लासदेखि चार ग्लास, गर्मीमा पनि । नुवाइधुवाइ गर्दा दस बजिसक्छ । मिल्क कफी खान्छु । यताउति फोन गर्छु । मलाई भात मन पर्दैन । जंक फुड बढी खान्छु । आज (आइतबार) पनि भात खाइनँ । भात पकाउन आउँदैन । अहिलेसम्म पकाएकी पनि छैन ।
दिउँसो अफिस (पुरानो बानेश्वर) आउँछु । सुटिङ नभएको बेला बढी रमाइलो हुन्छ । कत्ति काम मात्रै नि ? फुर्सद भयो कि अफिसमा घाम ताम्दै हाउडे गफ गर्यो, बस्यो । जे पायो त्यही क्या ! रमाइलोका लागि । अल्छी लाग्यो भने घरै (गौरीघाट) जान्छु । एक्लै बस्न रुचाउँछु । टेलिभिजन हेर्छु । हिन्दी च्यानल हेर्दिनँ । घुमाइरहन्छु- समाचार, लोकदोहोरी, सबै कार्यक्रम हेर्न भ्याउँछु । टाइमपास भइहाल्छ । साथीहरूसँग फोनमा कुरा गरिरहन मन लाग्छ । साथीहरू 'तिम्रो स्वर राम्रो छ गाऊ न' भनेर उडाउँछन् र म पनि उडिदिन्छु र गाउँछु । नारायणगोपाल, भक्तराज आचार्य, फत्तेमानको गीत बढी सुन्छु र गाउँछु ।
हुन त यो उमेरमा मेरै उमेरको केटाहरूको गीत सुन्नुपर्ने हो । तिनीहरूको पनि सुन्छु । लेटेस्ड र्याप, पप सबै सुन्छु । तर, जीवनको यथार्थ अहिलेको भन्दा पुराना गीतहरूमा पाउँछु । अहिलेको मोर्डन त हुँदै हुँ नि म, चलिरहेकै छु नि समयअनुसार । तर म पहिलेका पुराना चिजहरूबाट पनि जिन्दगी अघि बढाउन चाहन्छु । कारमा पनि पुराना गीत सुन्दै हिँड्छु । घरबाट अफिस आइपुग्न दस मिनेटजति लाग्छ, दुइटा गीत सुनिसक्छु । फेरि कस्तो गीत नि थाहा छ ? 'वनै खायो डँढेलोले....', 'मर्न बरु गार्हो हुन्न...', 'मुटु जलिरहेछ....। एकदम सेन्टिमेन्टल क्या । संगीतप्रेमी हुँ । म फिलिंसमा बाँच्न चाहन्छु ।
सुटिङ भएको बेला बिहान ६ बजे नै उठ्छु । तयारी गर्न एक घन्टा लाग्छ । आठ बजे त सुटिङ स्पटमै पुगिसक्छु । नगरकोट एकदमै रमाइलो लाग्छ । नागबेली बाटो, शान्ति अनि आनन्द । कथाभन्दा गीतको सुटिङ रमाइलो लाग्छ । म वास्तवमा गधा नै हुँ । काम नहुँदा विरक्त लाग्छ । गधालाई भारी पुगेन भने रुन्छ भन्छन् नि । रातभरि पनि सुटिङ बसिदिन्छु । जे पाक्यो त्यही खान्छु सुटिङमा । चिया धेरै पिउँछु । फ्रुट्स-जुस खाने बानी छैन । मनै पर्दैन । मन सफा भयो र सकारात्मक भइयो भने अनुहारमा त्यत्तिकै चमक आउँछ भन्ने ठान्छु । फ्रुट्स र जुस खाइरहनै पदैन । तपाईँ अरूप्रति ईष्र्या-डाह गर्नुहुन्छ भने अनुहार त्यत्तिकै कालो भइहाल्छ नि ।
सुटिङको मेकअपबाहेक कस्मेटिक प्रयोग गर्दिनँ । आँखाको यो गाजल छ नि ? ह्यान्डमेड हो, आफैंले बनाएकी । अहिलेसम्म कस्मेटिक प्रयोग गरेकी छैन । सुटिङ नहुँदाको १० बजे नै सुतिसक्छु । छवि (ओझा, पति) नहुँदा भने राति एक/ दुई बजेसम्म नै जाग्राम हुन्छु । उही क्या, साथीहरूसँग फोन गर्ने, जिस्कने, गीत गाउने । खुब रमाइलो हुन्छ । छवि हुँदा त अलि अनुशासित हुनुपर्यो नि । उहाँ अनुशासित भएको हेर्न चाहनुहुन्छ । डिस्को, पार्टी अहिलेसम्म गएकी छैन । पर्दाको मान्छे, पर्दामै रहनुपर्छ भन्ने ठान्छु ।
दिमाग शून्य हुँदा किताब पढ्छु । नारीवादी किताब बढी पढ्न थालेकी छु । राति सुत्ने बेला पढ्दा छिट्टै निन्द्रा लाग्छ । साँझ कहिलेकाँही साथीहरू फिल्म हेर्न जाउँ भन्छन् । जान्नँ भन्दिन्छु । करै गर्यो भने गइदिन्छु । एन्जिलिना जोली र ब्राड पिटको फिल्म मनपर्छ । पट्यार लाग्दा फेसबुक खोल्छु । तर च्याटमा बस्दिनँ । ५ हजार साथी छन् कसरी साध्य ? । साँझ सुत्नेबेला दिनभरिको काम सम्भिदै चिन्तन मनन गर्छु ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks