Loving nepal news

Wednesday, January 19, 2011

शान्ति र हीरादेवी रहेनन्


कान्तिपुर संवाददाता

काठमाडौ, माघ ६ - अभिनेत्री शान्ति मास्केको ८३ वर्षो उमेरमा मंगलबार राति निधन भएको छ । मुटुको रोगबाट पीडित मास्केको भैंसेपाटीस्थित नातिनीको घरमा निधन भएको हो । उनी मुटुमा 'पेस मेकर' राखेर बा“चिरहेकी थिइन् । निधनलगत्तै मुटुमा रहेको 'पेस मेकर' झिक्न उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा लगिएको थियो ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ९ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । प्रधानमन्त्री माधवकुमार नेपाल, संस्कृतिमन्त्री मिनेन्द्र रिजाल, सञ्चारमन्त्री शंकर पोखरेल, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र कलाकारहरू प्रज्ञा भवन पुगी मास्केप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

'नेपाली कला क्षेत्रको यो अपुरणीय क्षति हो,' मास्केको पार्थिव शरीरमाथि फूल चढाएपछि प्रधानमन्त्री नेपालले भने, 'उहा“ले पुर्‍याउनुभएको योगदानको राज्यले कदर गर्नेछ ।' सूचना तथा सञ्चारमन्त्री पोखरेलले '२००७ को जनक्रान्तिमा समेत मास्केको सक्रिय योगदान रहेको' सम्झना गरे । श्रद्धाञ्जलीका लागि वसुन्धरा भुसाल, भुवन चन्द, जयनन्द चन्द, युवराज लामा, धीरेन शाक्यलगायतका कलाकार पनि प्रतिष्ठान पुगेका थिए । नेपाली चलचित्रकी प्रथम नायिका चन्दले मास्केको निधनलाई 'आमा गुमाएसरह' र भुसालले चलचित्र क्षेत्रको 'आधारस्तम्भ ढलेको' बताइन् ।

उनीनिकट कलाकार मोहन निरौलाका अनुसार १९८४ मा गोरखाको तीनपीपलमा जन्मेकी मास्के अभिनय र गायनका लागि आमास“गै काठमाडौं हु“दै कोलकाता पुगेकी थिइन् । कोलकाता छ“दा केही नाटकसमेत गरेकी उनी २००७ को राणाविरोधी आन्दोलन क्रममा विराटनगर आइपुगेकी थिइन् र त्यही“ उनले तत्कालीन रेडियो प्रजातन्त्रमा जनपक्षीय गीतहरू गाएकी थिइन् । आन्दोलनको सफलतापछि राजधानी आइपुगेकी उनको २०१० मा पहिलोपटक नाटककार बालकृष्ण समस“ग भेट भएको थियो । त्यही साल उनले सिंहदरबारभित्र रहेको नाटकघरमा समकै 'अन्धवेग' नाटकमा अभिनय गरिन् ।

२०११ मा वीरबहादुर मास्केस“ग वैवाहिक बन्धनमा बा“धिएकी उनको पहिलो फिल्म 'हिजो, आज र भोलि' -२०२४) हो । त्यसपछि 'जीवनरेखा' र 'सिन्दुर' ले उनलाई र्सवाधिक चर्चा दिलाए । उनले हिन्दी चलचित्र 'किस्सा काठमान्डु' र 'पञ्चवटी' मा समेत अभिनय गरेकी थिइन् । 'कान्छी, 'पछ्यौरी,' 'के घर के डेरा', 'कस्तूरी,' 'तपस्या' लगायत ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी उनी २०४२ मा प्रकाश थापा निर्देशित 'सन्तान' को सुटिङ क्रममा नारायणघाटको पुलबाट हाम फाल्दा घाइते भएकी थिइन् । यही घटनाका कारण मुटुमा 'पेस मेकर' राख्नुपरेको उनले ५ वर्षघि नै नया“ 'पेस मेकर' फेरेकी थिइन् । नेपाली कला क्षेत्रमा योगदान पुर्‍याएबापत उनले गोरखा दक्षिण बाहु, उर्वशी पुरस्कार, सर्वोत्कृष्ट चलचित्र अभिनेत्री पुरस्कार, चरित्र अभिनेत्री पुरस्कारलगायत दर्जनौं सम्मान पाएकी थिइन् ।

नेपाल चलचित्र कलाकार संघको संस्थापक संयोजकसमेत रहेकी मास्के चलचित्र विकास बोर्डमा सल्लाहकार थिइन् । हालको नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्व र पदाधिकारी छनोट समितिमा समेत उनी थिइन् । पछिल्लो समय उनी भैंसेपाटीस्थित नातिनी पर्ने लतिकाको घरमा बस्दै आएकी थिइन् । तीन पत्नीमध्ये कान्छी मास्केको कुनै सन्तान छैनन् । उनको बुधबार दिउ“सो पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । सौतेनी छोरा नारायण मास्केले उनलाई दागबत्ती दिएका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks