
प्रेमकुमारी घले
लमजुङ, माघ १० - नेपाल पर्यटन बर्ष सन् २०११ को आगमनसगै लमजुङको पर्यटकीय गाउँ खासुरका महिलाहरु आफ्नो गाउँमा सक्दो धेरै पर्यटक भित्र्याउन जुटेका छन् ।
उनीहरु अहिले घरआँगन सफा गर्ने टोल तथा बाटोघाटो सफाइ गर्ने र खानपिनका परिकार कसरी राम्रो र आर्गनिक बनाउने भनेर जुटिरहेका छन् ।
यसका अतिरिक्त घरका कोठा तथा धन्सारहरु बढाउने, शौचालय निर्माण गर्ने र गाउँमा आएका पाहुनालाई कसरी स्वागत सत्कार गर्ने भनेर सिक्ने प्रयास समेत गरिरहेको स्थानीय प्रगति नारी समाजका उपाध्यक्ष सरिता घलेले बताइन् । 'हामी सक्दो धेरै पर्यटक भित्राउन कोसिस गरिरहेका छौं, उनले भनिन्- 'तर गाउँमा शहरको जस्तो बसाइ कहा हुन्छ र ?'
महिलाहरुको अभियानमा स्थानीय पर्यटन व्यवस्थापन समिति, आमा समूह, क्लब र सामुदायिक बनले समेत सघाएका छन् । सदरमुकामबाट सवैभन्दा छोटो दुरीमा पर्ने रमणीय प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँ खासुर दुइ घण्टाको हिडाइमा मञ्जाले पुग्न सकिन्छ । झुरुप्प परेका गुरुङ बस्ती, ढुङ्गाले छाएका घर आँगन । बाटो समेत पुरै ढुङ्गाकै सिढी लगाएर मेहेनेतका साथ बनाएका छन् । गाउँलेहरुले बर्षौ श्रमदान गरेर बनाएको बाटो हेर्न अधिकांश जिल्लाबासी एक पटक खासुर गाउँ पुग्ने गर्छन् । त्यसैले स्थानीय लक्ष्मी गुरुङ गर्व साथ भन्छिन्- 'हाम्रो त बाटो नै राम्रो छ, यही बाटो हेर्न धेरै मान्छे हाम्रो गाउँ आइसकेका छन् ।'
समुद्री सतहबाट ९ सय ५० मिटर उचाइमा रहेको खासुर गाउँ आफैमा सुन्दर छ । यसका अतिरिक्त त्यहाँको आतिथ्य सत्कार, गुरुङ संस्कृति अनि नजिकैबाट देख्न सकिन अन्नपूर्ण, मनासलु र लमजुङ हिमालको दृष्यले जो सुकैको मन फुरुङ हुन्छ । घलेगाउँसगै २०५६ सालतिर पर्यटनको अवधारण भित्रिएपनि माओबादी सशस्त द्वन्द्वका कारण गतिविधि सेलाएको र भौतिक पूर्वाधार समेत विकास गर्न नसकेकाले गाउँलाई प्रचारप्रसारमा नल्याएको बताउँछन् खासुर पर्यटन व्यवस्थापन समितिका अध्यक्ष एवं सामाजिक अगुवा पृथ्वीमान घले । 'पूर्वाधार तय नगरिकन राम्रो हुदैन भनेर हामीले हल्लाखल्ला गरेका थिएनौं, अहिले करिब करिब तयारी अबस्थामा छौं, उनले भने - 'अब जति सक्दो धेरै पाहुना भित्राउने हाम्रो योजना छ ।'
१ सय ५९ घरधुरी रहेको खासुरमा बसाइसराइका कारण हाल १ सय ३० घरमा मात्र मानिसको बसोबास छ । ति मध्ये ३० घरमा पहुना राख्न होमस्टेको व्यवस्था गरिएको छ । उनीहरुको खाना तथा बसाइको खर्च पनि उति महंगो छैन । सादा खाना एक सय, मासु खाना एक सय पचास र सुत्न एक रातको एक सय रुपैया मात्र छ । खानाको परिकार पाहुनाको रोजाइ अनुसार खाना पाइन्छ । उनीहरुले मिटिङ बस्न तथा सभा सेमिनार गर्न सामुदायिक भवन समेत बनाएका छन् । तर पर्यटन सम्बन्धी व्यवसायिक सीप र ज्ञानको खाँचो रहेको प्रगति नारी समाजकी अध्यक्ष रुपा घले बताउँछन् ।
'हामी गाउँले पारामा कसिएका छौं, तर विदेशी पाहुनालाई के मन पर्छ के मन पर्दैन भन्ने कुरा उति थाह छैन, त्यसैले तालिमको खाँचो परेको छ' अध्यक्ष घलेले भनिन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks