Loving nepal news

Wednesday, January 19, 2011

बकपत्र केरमेट गर्ने अधिवक्तालाई कारबाही

कान्तिपुर संवाददाता

काठमाडौं, माघ ६ - अवहेलना अभियोगमा काठमाडौं जिल्ला अदालतले एक अधिवक्तामाथि कारबाही गरेको छ । न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले अधिवक्ता विनोद कार्कीले अदालतको अवहेलना गरेको ठहर गर्दै बुधबार एक सय रुपैयाँ जरिवाना गर्ने फैसला गरेका हुन् ।

चोरी मुद्दामा प्रतिवादीको तर्फबाट बहस गर्ने क्रममा कार्कीले गत पुस ११ गते रुपाखेतीको इजलासभित्र बकपत्र केरमेट गरिदिएपछि उनीमाथि अवहेलनाको मुद्दा अदालत आफैंले चलाएको हो ।

बयानका लागि बुधबार अदालत आएकै दिन उनलाई दोषी ठहर गर्दै जरिवानाको फैसला भएको हो । अधिवक्ताका लागि अवहेलनाको मुद्दा लाग्नु र त्यो प्रमाणित हुनु गम्भीर मानिन्छ । केही महिनाअघि सर्वोच्च अदालतका न्यायाधीश बलराम केसी र रामकुमार प्रसाद शाहको इजलासले अधिवक्ता शकुन्तला थापा र उनकी छोरी निहिता विश्वासविरुद्ध परेको अवहेलनाको मुद्दामा फैसला गर्दै ‘अब उप्रान्त अवहेलना गर्ने अधिवक्ता प्रधानन्यायाधीश हुन अयोग्य ठहर्ने’ फैसला गरेका थिए ।

उक्त फैसलाअनुसार अधिवक्ता कार्की अब सधैंका लागि प्रधानन्यायाधीश हुनबाट अयोग्य भएका छन् । आफ्नो अनुपस्थितिमा साक्षीको बकपत्र भएको र जिरह गर्न नपाएको भन्दै कार्कीले बकपत्र केरेका थिए । अदालतका अनुसार कार्की फैसला सुन्नेबित्तिकै अदालतबाट बाहिरिएका थिए । उनले जरिवाना तिरेका छैनन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks