
होम कार्की
काठमाडौ, माघ ४ - शरीरभर नीलडम छ । दुखाइले बोल्न त्यति सक्तैनन् । बोल्न खोज्छन्, बीचमै रोकिन्छन् । साउदी अरबबाट यातनापछि लखेटिएका यी ३७ वर्षे डम्बरबहादुर बोहोरा हिँड्न सक्ने अवस्थामा छैनन् । 'त्रिभुवन विमानस्थलमा पाइला टेक्नेबित्तिकै बाचें भन्ने लाग्यो,' गहभरि आँसु पार्दै बोहोराले भने, 'दोस्रो जीवन पाएँ ।'
उनी साउदीको दमामस्थित नासरहल हाजिर कम्पनीको चालकमा काम गर्थे । उनी सुतिरहेको अवस्थामा २०/२५ जना पन्जाबी समूहको आक्रमणमा परेछन् । 'बेल्चै बेल्चाले हाने,' शरीरका नीलडाम देखाउँदै उनले भने, 'मर्यो भनेर फालिदिएछन् पछि नेपाली दाजुभाइले देखेर अस्पताल पुर्याए ।'
एक पन्जाबीसँग लिनुपर्ने पैसा माग्दा उनी पिटिए । 'ममाथि कम्पनीले पनि ठूलो अन्याय गर्यो,' दुई वर्षदेखि कार्यरत बोहोराले भने, 'पिट्नेलाई कारबाही नगरी मलाई राम्रो उपचार पनि नगरी सीधै स्वदेश पठाइदियो ।' उनका सामान, लत्ताकपडा, नगद पैसा लिन क्याम्पमा जान पनि दिइएन । 'मैले लगाएको यो भेस्ट, पाइन्ट र चप्पल साथीहरूले बाटोमा दिएका हुन्,' उनले भने, 'क्याम्पमा ६ हजार रियाल (१ लाख २० हजार) त नगदै थियो ।'
त्यहाँ डिजेल प्लान्ट बनाउने काम हुन्थ्यो । आक्रमण भएपछि नेपाली र पन्जाबी समूहबीच आक्रमण भएछ । 'कम्पनीले झन्डै दुई सय नेपालीलाई माओवादी भन्दै प्रहरी लगाई पक्राउ गराएको छ,' उनले भने, 'कम्पनीमा केरालाहरूको पनि लगानी भएकाले केराला र पन्जाबीबाट नेपाली कामदारलाई बढी नै दबाबमा राखिएको छ ।'
प्लान्टमा नेपाली कामदारलाई शारीरिक यातना दिनु निकै सामान्य हो । निर्माण क्षेत्रमा बढी नेपाली संलग्न छन् । 'एक महिनाअघि गल्ती गरेको निहुँमा नेपाली चालकको शरीरमाथि झन्डै ५० किलोको रड जीउ माथि कुदाइयो,' उनले भने, 'त्यसपछि काममा नलगाई कता पठायो, कता ?'
नेपालीका कुरा कम्पनीले सुन्दैन । 'अलि कडा भएर प्रस्तुत भए दबाइदिने धम्की दिन्छ,' उनले अनुभव सुनाए, 'ठूलो स्वर गर्नै हुन्न ।'
बोहोराका अनुसार अहिले पनि कम्पनीले एक कोठामा आठ जना नेपालीलाई बन्दी अवस्थामा राखेको छ । 'संखुवासभा जलजलाका डिल्लीराम बस्नेत, शेखर लिंखालगायत छन् । उनीहरू मलाई राखिएको कोठा नजिकै थिए,' उनले भने, 'सम्झौता अनुसारको काम नदिई राखेको साथीहरूले भनिरहन्थे ।' त्यहाँ कार्यरत कामदार धेरैजसो एसओएस म्यानपवार सर्भिसमार्फत गएका हुन् । त्यसमध्ये बोहोरा पनि एक हुन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks