Loving nepal news

Saturday, January 15, 2011

महामहोत्सव सुरु


कान्तिपुर संवाददाता

काठमाडौ, माघ १ - राजनीतिको विषयमा मतान्तर गरिरहेका दलका शीर्ष नेताहरू पर्यटन वर्षका लागि शुक्रबार एकै थलोमा उभिए । तीनतिर मुख फर्काउँदै एक आपसमा आरोप प्रत्यारोप गरिरहेका प्रायः सबै ठूला नेताहरूको ऐक्यबद्धताले दशरथ रंगशालामा उपस्थित धेरैलाई खुसी तुल्यायो ।

यिनै राजनीतिक दलका नेता, व्यवसायी र २० हजार सर्वसाधरणलाई साक्षी राखेर राष्ट्रपति रामवरण यादवले 'पर्यटन वर्ष २०११ शुभारम्भ भएको घोषणा गर्दछु,' भन्ने बित्तिकै रंगशालाको आकाश रंगीन बेलुनमय भयो । तालिको गडगडाहटका साथ बेलुनमा झुन्डिएका 'टुगेदर फर टुरिजम' र 'पर्यटन वर्ष सफल पारौं' लेखिएका प्लेकार्डसँगै उपस्थित रमाए । 'समुद्घाटनले थप जिम्मेवारी दिएको छ,' पर्यटन वर्ष सचिवालयका संयोजक योगेन्द्र शाक्यले कार्यक्रममा भने, 'सबै दल तथा ६ सय १ सभासदले यहाँ गरेको प्रतिबद्धतालाई नबिर्सिऊन्् ।'

समुद््घाटनमा सार्क राष्ट्रका पर्यटनमन्त्रीहरूले पनि एकै ठाउँ उभिएर पर्यटन विकासका लागि संयुक्त प्रतिबद्धता जाहेर गरे । 'नेपालमा जो कोही निश्चिन्त भएर घुम्न आउन सक्छन्् भन्ने सूचना फैलाउन यसले सघाउ पुर्‍याउनेछ,' शाक्यले भने ।

बिहान ११ बजेदेखि नेपाली चन्द्रसूर्य अंकित झन्डा र पर्यटन वर्ष २०११ लेखिएका ब्यानरसहित विभिन्न समूह रंगशाला भित्रिएका थिए । तीन दर्जन विभिन्न संघसंस्थाले साँस्कृतिक र जातजातिका झाँकीहरू प्रस्तुत गरे । साहासिक खेलका लागि नेपाल सुहाउँदो गन्तव्य हो भनेर प्रचार गर्न एयर स्पोर्ट्स एसोसिएसन र एभिया क्लबले गरेको पारामोटर प्रदर्शनीले धेरैलाई आकषिर्त गर्‍यो । प्रदर्शनी हुँदै गर्दा पाइलटले हरियो र रातो रंगको अबिर आकाशमा छरिरहेका थिए । प्रहरी, सेना र सशस्त्र बलले यसपालि कुनै बन्द हड्तालका क्रममा सडकमा होइन, नेपाली भएकामा गर्व गर्दै पर्यटन वर्षको स्वागतका लागि संयुक्त ब्यान्ड डिस्प्ले गरे ।

'निकै उत्साहित छौं,' नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष अर्जुन शर्माले भने, 'सकारात्मक सूचना प्रवाह गर्न सफल भयौं । अब नयाँँ गतिविधिसहितको प्याकेज ल्याउनुपर्छ ।' नयाँ प्याकेज ल्याएर विदेशी पाहुनालाई नेपाल आउने निम्ता दिनका लागि आफूहरू गृहकार्यमा जुटिसकेको उनले बताए ।

संविधानसभाको निर्माणपछि बनेको पहिलो सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित २०११ लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसअघिको सरकारले पनि यसबारे गृहकार्य गरेको थियो । २०११ भरि भारतबाट २ लाख ६२ हजार, चीनबाट १ लाख पर्यटक भित्र्याउने लक्ष्य छ । त्यस्तै सार्क क्षेत्रबाट १ लाख २१ हजार, अन्य एसियाली मुलुकबाट १ लाख, युरोपबाट २ लाख ४८ हजार र अन्यबाट गरी १ लाख पर्यटक आउने अपेक्षा गरिएको छ ।

अपेक्षा गरेअनुरूप पाहुनाको स्वागत गर्नका लागि शान्ति अपरिहार्य रहेको कार्यक्रममा उपस्थितहरूको भनाइ छ । यहाँ १९७० देखि सांगि्रलाका रूपमा पर्यटन क्षेत्रको विकास भएको थियो । त्यसलाई १९९८ मा मनाइएको भ्रमण वर्षले थप उत्साहजनक बनायो । यसकै फलस्वरूप १९९९ मा ४ लाख २१ हजार पर्यटकले नेपाल भ्रमण गरे. ।

त्यसपछि आन्तरिक द्वन्द्वले निम्त्याएको जनयुद्धका कारण पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा बनेको नेपाली साख जोगिन सकेको थिएन । 'बिस्तारै यो साखलाई उच्च बनाउने प्रयास भएको छ,' अल्पाइन ट्रेकिङकी निमी शेर्पाले भनिन्, 'आउने पर्यटकलाई पहिलेको भन्दा बढी र विशेष आतिथ्य दिन सक्नुपर्छ । त्यसभन्दा पनि महत्त्वपूर्ण देशमा शान्ति र स्थायित्व कायम हुनुपर्छ ।'

पर्यटन वर्ष शुभारम्भका बेला राजधानी ल्याइएको शान्तिदीपलाई यस दिन सार्क क्षेत्रका पर्यटनमन्त्रीले व्यवसायीलाई, व्यवसायीले दलका नेताहरूलाई र नेताहरूले आमादब्लम आरोहण गर्ने आरोही टोलीलाई हस्तान्तरण गरे । टोलीले पर्यटन वर्ष शुभारम्भको प्रतीकचिह्नस्वरूप उक्त शान्तिदीप आमादब्लमको चुचुरोमा पुर्‍याउनेछन् ।

प्रधानमन्त्री माधवकुमार नेपालले समुदघाटनसँगै पर्यटन क्षेत्रमा नयाँ कामको थालनी भएको बताए । 'यहाँ रहेको प्रचुर सम्भावनाको उपयोग गर्न व्यवसायी र सम्बद्ध सबैलाई आग्रह गर्छु,' उनले भने । 'अब आर्थिक क्रान्तिको पालो' नारा सार्थक बनाउन पर्यटनका नयाँ आयाम पहिचान र प्रवर्द्धन आवश्यक रहेकाले सरकारले सक्दो सहयोग गर्ने आश्वासन प्रधानमन्त्री नेपालले दिए । 'सरकारले सघाउनेछ,' उनले भने, 'व्यवसायी, स्थानीय निकाय र सर्वसाधारणले पनि पर्यटनलाई व्यवसायका रूपमा मात्र नदिई जीवनपद्धतिका रूपमा लिनु जरुरी छ ।'

पर्यटन वर्षको अर्को उद्देश्य पर्यटकको बसाइ न्यूनतम १६ दिन बनाउने र पर्यटकले प्रतिदिन गर्ने खर्चलाई ४३ अमेरिकी डलरबाट दोब्बर बनाउने

हो । समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री शरतसिंह भण्डारीले भने, '२०११ सुरु भइसकेको छ । त्यसैले सरकारलाई नेपालभित्र र बाहिर रहेका सबै नेपालीको सहयोगको खाँचो छ ।'

सम्भावना र स्रोत प्रशस्त भए पनि केही नगरी बसे विश्व प्रतिस्पर्धामा पछाडि परिने भएकाले उनले सबैलाई मञ्चबाट अनुरोध गरे, 'नेपाललाई माया गर्नेहरू अब माया देखाउने बेला आएको छ । पर्यटन वर्ष सफल बनाउन हामीलाई सघाउनुहोस् ।'

पर्यटन वर्षको समुदघाटन हुदाँसम्म ३६ मुलुकसँग भएको हवाई सम्झौता र २७ अन्तर्राष्ट्रिय विमान कम्पनीले सेवा सञ्चालन गर्नु सकारात्मक उपलब्धि भएको छ । यसैका कारण २०१० मा हालसम्मकै उच्च ४ लाख ४८ हजार पर्यटक भित्रिएका छन् । त्यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साँघुरोपनलगायत समस्या यथावत् छन् । यो समस्या हटाउन सरकारले निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियासमेत सुरु गरिसकेको छ । अर्को समस्या कमजोर राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी हो । पर्यटनमा मुख्य भूमिका खेल्ने होटल क्षेत्रमा भने उल्लेख्य उत्साह देखिएको छ । द्वन्द्वका बेला आधा दर्जन तारे होटल बन्द भएका

थिए । तर अहिले राजधानीभित्र मात्र होइन जिल्लाहरूमा पनि थुप्रै नयाँ होटलमा लगानी भइरहेको अवस्था छ । 'स्थायी सरकार नभए पनि अहिले देखिएको शान्तिले यस्तो भएको हो,' नाटाका पूर्वअध्यक्ष रामकाजी कोनेले भने, 'पर्यटनमा लगानी बढाउन र नेपाललाई विश्वमा सुरक्षित गन्तव्यको रुपमा प्रवर्द्धन गर्न यो शान्ति सधै कायम हुनुपर्छ ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks