जनकपुर, माघ १ - दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धतापछि जनकपुर–१५ का शम्भु पासवानको शव शनिबार अपरान्ह उनका आफन्तहरुले बुझेका छन् । रातिनै अन्तिम संस्कार गरिने भएको छ ।
प्रहरीको कुटपीटबाट उनको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतीपूर्तीको माग गरी लास उठाएका थिएनन् ।
प्रहरी उपरीक्षक दीनेश अमात्यले युवक कुटपीटमा आरोपी प्रहरीमाथि कानूनी कार्यवाही चलाउँने प्रतिवद्धता जनाएपछि दुई दिनदेखि जारी प्रदर्शन पनि रोकिएको छ ।
नेपाल दलित संघका केन्द्रिय सदस्य रामवरण दासका अनुसार पिडीत परिवारको तर्फबाट दिईएको किटानी उजुरीमाथि कार्यवाही गर्ने प्रतिवद्धता पाए पछि हाललाई आन्दोलन स्थगित गरिएको छ ।
प्राप्त जानकारी अनुसार शनिवार पिडीत परिवारले वहुअर्वा प्रहरी चौकीका अर्सइसहित तीन प्रहरीमाथि दिएको किटानी जाहेरीमा प्रहरी उपरीक्षक अमात्यले कार्यवाही सम्बन्धी तोक आदेश लगाएका छन् ।
बिहीवार अपरान्ह साढे चार वजे भारतबाट अन्य दुई युवकसंगै आउँदै गरेका जनकपुर १५ रामपुरका सत्यनारायण पासवानका १८ वर्षीय छोरा शम्भु पासवानलाई सीमावर्ती बहुअर्वाका प्रहरीले नियन्त्रणमा लिई कुटपीट गरेको कारण पासवानको मृत्यु भएको भन्दै संघको अगुवाईमा स्थानीयवासीहरुले शुक्रवार दिनभरि प्रदर्शन गरेका थिए ।
नेपाल दलित संघका जिल्ला अध्यक्ष रुपनारायण साफीको नेतृत्वमा गएको प्रदर्शनकारीहरुले अपरान्ह प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वरकुमार सिंहा र प्रहरी उपरीक्षक दीनेश अमात्यसंग भेटी दोषीमाथि कार्यवाही तथा पिडीत परिवारलाई क्षतिपूर्तिको माग गरेका थिए ।
युवक हत्याको विरोधमा आक्रोशित रामपुरवासी र प्रहरीबीच शुक्रवार मध्यान्ह बहुअर्वा प्रहरी चौकीमा दुइ तर्फी भिडन्त भएको थियो । प्रदर्शनकारीहरुले प्रहरीको दुइ जिपमा तोडफोड गर्नुका साथै चौकीमाथि ढुंगा मुढा समेत गरेका थिए । भिडलाई धपाउन प्रहरीले लाठी चार्ज गर्नुका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेका थिए ।
स्थानीय प्रहरीले युवकको मृत्यु अत्यधिक ड्रग्स सेवनबाट भएको दावी गरेको छ । मृतकको साथबाट ड्रग्स समेत फेला परेको प्रहरीको दावी छ । तर संघ सम्वद्ध अगुवाहरुले युवकको मृत्यु प्रहरीको कुटपीटबाट भएको बताउँदै आएका छन् ।
पासवानको शव पोष्टमार्टमको लागि विहीवारै जनकपुर अंचल अस्पताल ल्याए पनि दोषीमाथि कार्यवाहीको माग गर्दै मृतकका आफन्तहरुले लाश बुझ्न मानेका थिएनन् ।
प्रकाशित मिति: २०६७ माघ १ ०६:१९
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks