
निर्मल श्रेष्ठ
हङकङ, पुस ३० - माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीचको टकराव हाल साम्यजस्तो देखिए पनि उनीहरूका हङकङ कार्यकर्ताहरू भने विभाजित भएका छन् ।
जिल्ला कमिटीसरह मान्यता पाएको स्थानीय कार्यसमितिले दाहाल पक्षका चार जनालाई हालै साधारण सदस्य समेत नरहने गरी कार्यसमितिबाट निष्काशन गरेपछि विवाद चुलिएको हो । निष्काशन हुनेहरूमा पवन बस्नेत, अशोक गहतराज, चुरा थापा र ध्रुबसिंह लिम्बू छन् । गहतराज र थापा गतवर्ष अध्यक्ष दाहालको हङकङ भ्रमणका बेला माओवादीमा प्रवेश गरेका थिए । नवप्रवेशी दुवैलाई सीधै कार्यसमिति सदस्यमा चुनिएको थियो ।
गत असोज २४ गतेको जिल्ला कार्यसमिति भेलामा बहुमत सदस्यको सहमति विपरीत आमन्त्रित वैद्य समर्थक पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देल र कुलप्रसाद केसीले पूर्ण लोक्समको नेतृत्वमा सचिवालय गठन गरेका थिए । पालुङटार बैठकमा प्रचण्डलाई अल्पमतमा पार्ने रणनीतिअनुरूप सिग्देल र केसीले जबरजस्ती आफूपक्षीय कार्यकर्ता छनोट गरेको असन्तुष्ट पक्षको दाबी छ । भेलापश्चात् कार्यसमितिका बहुमत सदस्य आफ्ना पक्षमा रहेको बताउँदै विद्रोही समूहले पवन बस्नेतको नेतृत्वमा छुट्टै कमिटी गठन गरेको थियो । २५ सदस्यमध्ये १५ जना आफ्ना पक्षमा भएकाले बस्नेत नेतृत्वको कार्यसमिति समानान्तर नभई वैधानिक भएको विद्रोही पक्षको दाबी छ । तर संस्थापन पक्षले पार्टी अनुशासन तोडेको, आर्थिक हिनामिना, समानान्तर कमिटी गठन लगायतका आरोपमा एक विज्ञप्तिमार्फत साधारण सदस्य समेत नरहने गरी ४ जनालाई कार्यसमितिबाटै निष्काशन गरेको बताएको छ । 'जनवादमा सधैं बहुमतको कदर हुन्छ,' आफूलाई दाहाल समर्थक बताउने विद्रोही पक्षका सचिव पवन बस्नेतले भने, 'केन्द्रीय नेताहरूले दाहाललाई पालुङटारमा कमजोर बनाउन हामीलाई अल्पमतको अधीनस्थ राख्ने दुष्प्रयास गरे ।' अर्का निष्काशित गहतराजले सफाइको मौकै नदिई गोप्य रूपमा निर्णय गरिनु न्यायको प्राकृतिक सिद्धान्तविपरीत रहेको बताए ।
पार्टी सचिव लोक्समले कुनै खेमामै रहेका कारण कारबाही गरिएको कुरालाई भने अस्वीकार गरे । पार्टी पद्धतिविपरीत कार्य गरेकाले आत्मआलोचना गरी सघाउन गरेको आग्रह विद्रोही पक्षले लत्याएको बताउँदै केन्द्रकै निर्देशनमा कारबाही गरिएको उनको दाबी छ । 'दाहाल र वैद्य पक्ष भनिनु आफ्नो गल्ती लुकाउने चाला मात्र हो,' उनले भने ।
प्रकाशित मिति: २०६७ पुस ३० ०८:४९
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks