
कान्तिपुर संवाददाता
काठमाडौ, पुस १९ - उपाध्यक्ष बाबुराम भट्टराईले कान्तिपुरलगायत सञ्चार माध्यममा स्वतन्त्र ढंगले अभिव्यक्ति दिएको निष्कर्ष निकाल्दै माओवादीले अब नेताहरूलाई आफूखुसी बोल्न रोक लगाउने भएको छ ।
शनिबार बसेको पदाधिकारीको र आइतबारको स्थायी समितिको बैठकमा 'भट्टराईले पार्टी पद्धति बाहिर गएर बोलेको' निष्कर्ष निकालेको दाहाल पक्षका एक स्थायी समिति सदस्यले बताए । उनका अनुसार भट्टराईलगायत पोलिटब्युरो सदस्यहरू देवेन्द्र पौडेल, हरिबोल गजुरेल, अग्नि सापकोटाले पनि पार्टी पद्धति बाहिर गएर बोलेको निष्कर्ष निकालिएको छ । 'अब निश्चित पद्धतिअनुसार नै नेताहरूले बोल्नुपर्ने छ,' उनले भने ।
भट्टराई पक्षका सदस्यले भने उनले पार्टी पद्धति बाहिर गएर नबोलेको बताए । 'बाबुरामजीबाट गल्ती भएको छैन,' उनले कान्तिपुरसँग भने, 'यो फरक विचारलाई नियन्त्रण गर्ने मनसाय हो ।' उनले भट्टराईले गल्ती स्वीकार नगरेको पनि बताए । गत साता स्थायी समिति बैठकमा दाहाल पक्षका नेताहरूले भट्टराई पार्टी पद्धतिविपरीत गएको भन्दै अनुशासनको प्रश्न उठाएका थिए । सचिव पोस्टबहादुर बोगटीको संयोजकत्वमा शक्तिशाली 'अनुशासन विभाग' बनाउने प्रस्ताव पनि बैठकमा भएको छ । विभागले नेताहरूको अभिव्यक्ति दिन कडाइ गर्नेछ । त्यस्तै भट्टराईलाई आन्दोलन लगायतका मुद्दामा संयुक्त मोर्चाको जिम्मा दिने तयारी भएको स्रोतले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks