Loving nepal news

Thursday, December 2, 2010

विवादले कांग्रेस बैठक स्थगित * पैसाको चलखेल: सुजाता


बलराम बानियाँ

काठमाडौ, मंसिर १७ - कांग्रेस सभापति सुशील कोइरालाले उपसभापतिमा संसदीय दलका नेता रामचन्द्र पौडेल र महामन्त्रीमा पूर्वगृहमन्त्री कृष्ण सिटौलालाई चयन गर्न राखेको प्रस्तावमा विवाद भएपछि पाँच दिनदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बिनानिर्णय स्थगन गरिएको छ ।

बाह्रौं महाधिवेशनबाट निर्वाचित सभापति कोइरालाले कार्यसमितिमा राखेको पहिलो महत्त्वपूर्ण प्रस्ताव विवादास्पद भई केन्द्रीय सदस्यहरू पक्ष/विपक्षमा विभाजित भएपछि बैठक बिनानिर्णय अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रस्तावको विपक्षमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका सबैजसो सदस्यसँगै कोइराला पक्षकै अर्जुनरसिंह केसी, सुजाता कोइराला र गगन थापा उभिएपछि निर्णय हुन नसकेको हो । महत्त्वपूर्ण पदाधिकारीको चयन विवादका बीच बहुमत र अल्पमतबाट निर्णय गर्नु पार्टीका लागि घातक हुने निष्कर्षका साथ सहमति खोज्न बैठक स्थगित गरिएको जानकारी नेताहरूले दिए ।

बिहीबारको बैठकमा बोल्ने दुवै पक्षका महेश आचार्य, डा. शशांक कोइराला, डा. शेखर कोइराला, नरेन्द्र नेम्वाङ, पुष्पा भुषाल, सीता गुरुङ, अजय चौरसियालगायतका १० सदस्यले उपसभापति र महामन्त्री चयन गर्ने प्रस्तावमा बहुमत/अल्पमतबाट निर्णय गर्नुभन्दा केही दिन बैठक रोकी सबैसित व्यापक परामर्श गरी सहमति गर्न सभापतिलाई आग्रह गरेका थिए । 'पार्टी एकजुट भएमात्र लोकतन्त्रले जित्छ, तसर्थ महत्त्वपूर्ण प्रस्तावमा विवादका बीच निर्णय नगरौं,' धेरैजसो सदस्यको भनाइ थियो ।

बैठकको अन्त्यमा सभापति कोइरालाले सबै साथीको भावनाअनुसार पार्टीलाई सहमतिका साथ अघि बढाउन उपसभापति र महामन्त्रीमा सबैसित परामर्श गरी निर्णय गर्न केही दिनपछि अर्को बैठक गर्ने बताए । सभापतिले 'म एकल निर्णय गर्दिनँ । सबै साथीको रायबमोजिम व्यापक परामर्श गरी पार्टीलाई एकढिक्का बनाउँछु, उपसभापति र महामन्त्रीमा सबै साथीसित परामर्श गरेर सहमतिमा निर्णय गर्छु' भन्दै बैठक स्थगित गरेका थिए ।

'चयन म एक्लैले गर्ने कुरा होइन । केन्द्रीय समितिले गर्ने हो । सबैसित परामर्श गरी पार्टीलाई संस्थागत रूपमा अघि बढाउँछु,' उनको भनाइ थियो ।

उनले पार्टीमा आफू संस्थागत निर्णय गरेर अघि बढ्ने तर सबै कुरामा प्याकेजमा सहमति भने नगर्ने बताए । देउवा पक्षले उपसभापति र महामन्त्रीसहित संसदीय समितिको गठन, केन्द्रीय समितिमा मनोनयन, विभाग तथा समिति गठनमा प्याकेजमा सहमति गर्न

दबाब दिँदै आएको छ । कोइरालाले भने पदाधिकारी चयन, अरू नियुक्त तथा मनोनयनमा संस्थागत निर्णय गर्न तयार भए पनि प्याकेजमा सहमति गर्न भने तयार नरहेको बताए । 'सबैसित परामर्श गरी सहमतिमा पुग्न तयार छु तर प्याकेजमा सहमति गर्दिनँ,' कोइरालालाई उद्धृत गर्दै एक नेताले भने ।

सभापति कोइरालाले वरिष्ठ नेता देउवासहित पार्टीका नेता तथा सबै केन्द्रीय सदस्यसित व्यापक परामर्श र छलफल गरी उपसभापति र महामन्त्री मनोनयनबारेमा सहमति गरी निर्णय गर्न बैठक स्थगित गरिएको जानकारी महामन्त्री एवं पार्टी प्रवक्ता प्रकाशमान सिंहले संवाददाताहरूलाई बताए । पार्टीको बिहीबारको बैठकले सिंहलाई प्रवक्ता तोकेको हो । सिंहले उपसभापति र महामन्त्री चयन गर्न सभापतिले राखेको प्रस्तावको पक्षमा बहुमत सदस्यले समर्थन गरे पनि केही साथीले पार्टीमा व्यापक सहमतिका साथ निर्णय गर्न दिएको सुझावलाई मनन गरी बैठक केही दिनका लागि स्थगित गरिएको जानकारी दिए । उनका अनुसार सभापतिले परामर्श गरी छिट्टै (ढिलोमा एक साताभित्रै) कार्यसमितिको अर्को बैठक बोलाउने र त्यसमा उपसभापति र महामन्त्रीका बारेमा निर्णय गराउने बताए ।

सभापतिले केन्द्रीय सदस्यहरूले दिएको सुझावलाई कदर गरी पार्टीका सबै नेतासित छलफल गरेर सहमतिमा उपसभापति र महामन्त्री चयन गरी पार्टीलाई एक ढिक्का बनाउन केही दिनका लागि बैठक स्थगित गरेको जानकारी महामन्त्री सिंहले दिए । 'सभापतिले विधानअनुसार उपसभापतिमा पौडेल र महामन्त्रीमा सिटौलालाई चयन गर्न प्रस्ताव राख्नुभएको हो ।

बैठकमा बोल्ने ५८ जनामध्ये अधिकांश सदस्यले सभापतिको प्रस्तावलाई समर्थन गरेका थिए । तर, केही साथीले भने बैठक स्थगित गरी प्रस्तावमाथि सबै साथीसित व्यापक छलफल गरेर सहमति गर्न आग्रह गर्नुभयो । साथीहरूको पार्टी

एकताको मागलाई कदर गर्दै सभापतिले व्यापक छलफल गरी सहमतिमा पुग्न बैठक स्थगित गर्नुभएको हो,' सिंहले भने ।

उनले पुनः बस्ने बैठकमा उपसभापति र महामन्त्रीमा प्रस्तावित नेता परिवर्तन हुने/नहुने कुरा सभापतिमा निर्भर हुने बताए । 'पार्टीका साथीहरूसितको परामर्शमा उपसभापति र महामन्त्रीमा प्रस्तावित नेता परिवर्तन हुने/नहुने सभापतिको अधिकारको कुरा हो,' सिंहले भने ।

कांग्रेसमा पैसाको चलखेल ः सुजाता

कांग्रेस नेतृ सुजाता कोइरालाले कार्यसमितिमा उपसभापति र महामन्त्रीको चयन गर्ने प्रस्तावमा छलफल भइरहेका बेला पार्टीमा पैसाको चलखेल भइरहेको दाबी गरेकी छन् । उनले पैसाको चलखेल सभापतिद्वारा प्रस्तावित उपसभापति र महामन्त्रीको पक्षमा भएको हो कि विपक्षमा बताउन चाहिनन् ।

उनले कार्यसमितिका तीन/चार जना सदस्यले आफूलाई पैसाको प्रलोभन आएको आफूलाई बताएको दाबी गरिन् । उनले कुन-कुन सदस्यलाई प्रलोभन आएको र कसले कसको पक्षमा पैसाको चलखेल गरेको बताउन चाहिनन् । 'पैसाको चलखेल भइरहेको छ । तीन/चार जना सदस्यले आफूहरूलाई पैसाको प्रलोभन देखाएको मलाई बताए,' सुजाताले संवाददाताहरूसित भनिन्, 'लोभलालच देखाउने खेलबाट पार्टीमा विकृति बढ्छ । यस्ता कार्य हुनुहुन्न ।'

संसद् बैठक बोलाउन माग

कांग्रेसले सर्वोच्च अदालतको आदेशबमोजिम प्रधानमन्त्रीको निर्वाचनलाई सार्थक निष्कर्षमा पुर्‍याउन तत्काल संसद् बैठक बोलाउन माग गरेको छ । सदनमा माओवादीको अवरोध भएपछि अध्यादेशबाट बजेट ल्याउन अन्त्य गरिएको संसद् बैठक पुनः बोलाई प्रधानमन्त्रीको निर्वाचनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कांग्रेसले कार्यसमितिको बैठक गरी औपचारिक रूपमा माग गरेको हो ।

'संसद्को बैठक बोलाई सर्वोच्च अदालतको आदेशबमोजिम प्रधानमन्त्रीका एकमात्र उम्मेदवार पौडेललाई निर्विरोध घोषणा गर्नेलगायतका प्रस्ताव अघि बढाउन बैठकले आग्रह गरेको छ,' बैठकपछि कांग्रेस महामन्त्री सिंहले भने । कांग्रेसले संसद्को नियमित बैठकमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट पेस गर्न जान लाग्दा उनीसहितका मन्त्री र सभासदमाथि आक्रमण र सदनमा अभद्र व्यवहार गर्ने दोषी माओवादीका सभासदहरूलाई कारबाही गर्न समेत माग गरेको छ ।

कांग्रेसले संसद्मा बजेट ल्याउन नदिन माओवादीद्वारा भएको अवरोधको घटनापछि प्रमुख दलहरूबीच उत्पन्न संवादहीनताको अन्त्य गरी शान्ति प्रक्रिया र संविधान निर्माणलाई सार्थक निष्कर्षमा पुर्‍याउन सबै पार्टीसित संवाद अघि बढाउने निर्णयसमेत गरेको छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks