गंगा बीसी
काठमाडौं, मंसिर १८ - गोरखाको पालुङटार विस्तारित बैठकमा चर्काचर्की गरेका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय वैद्य र भट्टराईबीच राजधानी फर्केपछि कस्तो सम्बन्ध छ ? नेताहरूका अनुसार उनीहरूबीच 'काम्रेडली' अर्थात् वैचारिक सम्बन्ध छ ।
अध्यक्ष दाहाल जति अनौपचारिक छन्, अन्तरमुखी स्वभावका वैद्य त्यति नै औपचारिक छन् । अर्का उपाध्यक्ष भट्टराई पनि अन्तरमुखी स्वभावका छन् । दुवै उपाध्यक्ष कम बोल्न र बढी पढ्न रुचि राख्छन् । अध्यक्ष दाहाल 'बोलक्कड' नेतामा पर्छन् । कोही औपचारिक र कोही अनौपचारिक नेताहरू विवाद कसरी मिलाउन खोज्दैछन् ?
यी तीन नेताबीच जारी अन्तरसंघर्ष विस्तारित बैठकबाट पुनः केन्द्रीय समितिमा फर्केको छ । पालुङटार विस्तारित बैठकमा फरक दस्तावेज प्रस्तुत गरेरै कार्यकर्ता विभाजन गरेका यी तीन नेताबीच सम्बन्ध कसरी गुज्रिहेको छ ? जिल्लाका नेता तीनतिर फर्केको अवस्थामा केन्द्रमा तीन नेता के गर्दैछन् ?
पालुङटारबाट फर्केपछि दाहालले वैद्य र भट्टराईलाई छुट्टाछुट्टै भेटिसकेका छन् । नयाँबजार स्रोतका अनुसार दाहालले वैद्यलाई हरेक दिन भेटेर केन्द्रीय समिति बैठकका प्रस्तावका विषयमा छलफल गरेका छन् । 'हरेक दिनजस्तो अध्यक्ष प्रचण्ड र किरणबीच भेटघाट भइरहेको छ,' स्रोतले भन्यो ।
दाहाल र भट्टराईबीच 'आवश्यकताअनुसार' भेट भइरहेको छ । कुनै बेला दुवै नेताको सम्बन्ध 'नङ र मासु' जस्तो थियो । हाल दाहाल र भट्टराईबीच कस्तो सम्बन्ध छ ? 'आजभोलि अध्यक्ष र मेरो 'काम्रेडली' सम्बन्ध छ,' भट्टराईले कान्तिपुरसँग भने, 'एउटै कम्युनिस्ट पार्टीका नेताहरूबीच जस्तो सम्बन्ध हुन्छ, त्यस्तै सम्बन्ध छ ।'
२०६३ असारमा अध्यक्ष दाहाल र भट्टराई खैरो पोसाकमा राजधानीको बालुवाटारमा एकैपटक सार्वजनिक भएका थिए । त्यसपछिका हरेक वार्ता र बैठकमा दुवै जना सँगसँगै हुन्थे । हाल उनीहरू जानै पर्ने बैठकमा मात्र सँगै जान्छन् । भट्टराईले विगतमा पनि अध्यक्षसँग 'कम्रेडली' सम्बन्ध भएको बताए । 'पहिले पनि हामीबीच व्यक्तिगतभन्दा वैचारिक कुरा हुन्थ्यो,' उनले भने, 'त्यसबेला त्यस्तो धेरै अनौपचारिक सम्बन्ध थिएन ।'
अध्यक्ष दाहाल र भट्टराईबीच माक्र्सवादका विषयमा मुख्य मतभेद छ । ती विषयमा खुलेरै छलफल भइरहेको भट्टराईले बताए । 'हामीबीच वैचारिक कुराकानी खुलरै हुन्छ,' उनले भनाइ छ, 'अरू कुराकानी कमै हुन्छ ।'
पालुङटार बैठकअघि दाहाल र वैद्य वैचारिक रूपमा नजिक थिए । दाहालले मुख्य अन्तरसंघर्ष भट्टराईसँग भएको दस्तावेजमै उल्लेख गरेपछि यी दुईको सम्बन्ध औपचारिकतामा सीमित भएको हो । वैद्यले 'आफू कतै विलय नभएको' बताएर पालुङटारमै असन्तुष्टि जनाएका थिए । त्यसपछि दाहाल र वैद्यबीच नयाँ सम्बन्ध विकास नभएको स्रोतको भनाइ छ । 'दुवै नेताबीच राजनीतिक वैचारिक विषयमा छलफल गर्न मात्र भेट हुन्छ,' वैद्य निकट स्रोतले भन्यो, 'त्यस्तो विशेष सम्बन्ध छैन ।'
करिब एक वर्षअघि पुसमा प्रधानमन्त्री माधवकुमार नेपालले विशालनगरमा आयोजना गरेको रात्रि भोजमा दाहालले आफूसँगै सहभागी बनाएपछि वैद्य चिढिएका थिए । वैद्य दाहालको कार्यशैलीका कटु आलोचक हुन् । उनले दाहालको 'रहनसहन, खानपिन, व्यवहार सर्वहारा आचारणविपरीत भएको' भन्दै आलोचना गर्दै आएका छन् । दाहालको कार्यशैलीको आलोचक हुँदाहुँदै पनि वैद्य वैचारिक रूपमा उनको नजिक हुनु संयोग बन्न पुगेको छ । हुन त दाहालले 'भट्टराई अलि दायाँ र वैद्य अलि बायाँ भएकाले' आफूनै मध्यभागबाट सही माक्र्सवादी भएको कान्तिपुरसँग बताइसकेका छन् ।
दाहालले वैद्यसँगको सम्बन्धलाई बाक्लो पारेका छन् । त्यसको अर्थ भट्टराईसँग भएको अन्तरसंघर्षमा आफू बलियो बन्ने प्रयास हुन सक्छ । पालुङटारबाट 'आधारभूमि' तयार पारी फर्केका भट्टराई वैचारिक संंघर्ष बहसबाट निष्कर्षमा पुर्याउने पक्षमा देखिन्छन् । तीनै पक्ष बहुमत र अल्पमतभन्दा छलफल र बहसबाट पार्टीको आगामी कामबारे निकास खोज्ने पक्षमा देखिन्छन् ।
प्रवक्ता दीनानाथ शर्माले मतभेद हुँदैमा नेताहरूबीच सम्बन्ध नबिगि्रने बताए । 'वैचारिक बहस हुँदैमा सम्बन्ध बिग्रँदैन,' उनले भने, 'कम्युनिस्ट पार्टीमा बहस जहिले पनि हुन्छ ।'
सहमतिका लागि विधिको खोजी
माओवादीका तीन नेताले मतभेद रहेका विषयहरू भारतलाई हेर्ने दृष्टिकोण, चुनबाङ बैठक समीक्षा र आजको माक्र्सवादको व्याख्यामा सहमति खोज्न विधिको खोजी गर्न थालेका छन् । आगामी जेठ १४ गतेसम्मका लागि 'संक्रणकालीन कार्ययोजना' बनाउन तीन नेता सहमत छन् ।
'तत्कालीन कार्यनीति बनाएर जान्छौं,' उपाध्यक्ष भट्टराईले भने, 'नमिलेका विषय फोरम चलाएर महाधिवेशनसम्म जान्छौं ।' आगामी केन्द्रीय समिति बैठकमा दाहालले यही सारको राजनीतिक दस्तावेज पेस गर्न लागेका छन् । मतभेदका विषय छलफल गर्न विधिको खोजी भइरहेको सचिव सीपी गजुरेलले बताए । 'नमिलेका विषय विधि तय गरेर जाने विषयमा छलफल भइरहेको छ,' उनले कान्तिपुरसँग भने, 'कस्तो विधि अपनाउने विषयमा निर्णय भइसकेको छैन ।' वैद्य र भट्टराईले औपचारिक रूपमै केन्द्रीय समिति बैठकमा फरक मत दर्ज गरेपछि छलफल प्रक्रिया अघि बढाइने जानकारी उनले दिए ।
दाहाल निवास नयाँबजारमा केन्द्रीय पदाधिकारीको शुक्रबार बसेको बैठकले तयारी नपुगेको भन्दै केन्द्रीय समिति बैठक तेस्रोपटक स्थगित गरेको छ । बैठकले सडक र सदनको संघर्षका कार्यक्रम, केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायतका निर्णय गर्ने पनि गजुरेलले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks